बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

वीरगन्ज औद्योगिक करिडोर विद्युत्भार कटौतीमुक्त हुने

शुक्रबार, १४ माघ २०७३, १६ : १४
शुक्रबार, १४ माघ २०७३

काठमाडौँ - सरकारले केहीदिनभित्रै वीरगन्ज औद्योगिक करिडोरलाई विद्युत्भार कटौतीमुक्त बनाउने भएको छ ।

भारतबाट आयात हुन लागेको थप ५० मेगावाट विद्युत् बारा पर्सा औद्योगिक करिडोरलाई नै उपलब्ध गराउने विषयमा वीरगन्ज उद्योग वाणिज्य सङ्घको टोलीलाई विश्वस्त तुल्याउँदै ऊर्जा मन्त्री जनार्दन शर्माले छिट्टै विद्युत्भार कटौतीमुक्त गर्ने विश्वास दिलाएका हुन्।

वीरगन्जमा कार्यरत उद्योगी एवम् व्यवसायीको प्रतिनिधिमण्डललाई विश्वास दिलाउँदै मन्त्री शर्माले आफू औद्योगिक राजधानीलाई थप सवल बनाउन लागिपरेको र त्यसमा स्थानीयवासीको सकारात्मक पहल जरुरी रहेको बताए ।

ऊर्जा मन्त्रालयसँग नियमित छलफलमा रहेको वीरगन्ज उद्योग वाणिज्य सङ्घका प्रतिनिधिले आफूहरु सरकारलाई सकारात्मक सहयोग गर्न तयार रहेको बताएका छन् । रक्सौल परवानीपुर अन्तरदेशीय प्रसारण लाइनको काम आगामी साताभित्र सम्पन्न हुने क्रममा रहेको छ । सो अन्तरदेशीय प्रसारण लाइनबाट थप विद्युत् आयात हुन लागेको छ ।

नेपाल र भारतका ऊर्जा सचिवस्तरीय बैठकले रक्सौल परावनीपुर र कुशाहा कटैया अन्तरदेशीय प्रसारण लाइनमार्फत थप ५०÷५० मेगावाट विद्युत् आयात गर्ने सहमति भएको छ ।

वीरगन्ज औद्योगिक करिडोरमा तत्काल नै विद्युत् उपलब्ध गराए एक सय मेगावाट विद्युत् खपत हुन सक्छ । वाणिज्य सङ्घका अध्यक्ष ओमप्रकाश शर्माले आफूहरुको प्रतिनिधिमण्डललाई मन्त्री शर्माले छिट्टै विद्युत्भार कटौतीमुक्त गरिने र भारतबाट आयात भएको विद्युत्लाई बारा, पर्साका उद्योगलाई नै उपलब्ध गराउने वचन दिनुभएको बताए ।

वीरगन्ज औद्योगिक करिडोरलाई उच्च प्राथमिकता दिएको उल्लेख गर्दै मन्त्री शर्माले काठमाडौँ उपत्यकापछि वीरगन्जलाई विद्युत्भार कटौतीमुक्त गर्ने प्रयासमा रहेको बताए । भारतीय ठेकेदार कम्पनी मोहन इनर्जीले निर्माण गरिरहेको रक्सौल परवानीपुर अन्तरदेशीय प्रसारण लाइनमध्ये टावर निर्माणको काम सम्पन्न भएको छ भने आठ किलोमिटर क्षेत्रमा तार तान्ने काम जारी रहेको आयोजना प्रमुख लक्ष्मीनारायण मुखियाले जानकारी दिए ।

विद्यमान ३३ केभी प्रसारण लाइनबाट हाल १० मेगावाट विद्युत् आयात भइरहेको छ । नयाँ प्रसारण लाइन निर्माण सम्पन्न भएपछि भारतबाट थप ५० मेगावाट विद्युत् आयात गरिने छ । यसले वीरगन्ज औद्योगिक करिडोर र आसपासका क्षेत्रलाई पूर्णरुपमा विद्युत्भार कटौतीमुक्त गर्ने योजना नेपाल विद्युत् प्राधिकरणको छ ।

आयोजनाको सबैभन्दा विवादित बनेको चारवटा टावरको फाउन्डेसन निर्माण सम्पन्न भएको छ । कुल ८ दशमलव ५ किलोमिटर क्षेत्रमा तार तान्न बाँकी रहेको छ । भारतीय ठेकेदार मोहना इनर्जीले दैनिक दुई सत्रमा काम गरेर भए पनि यसै महिनाको अन्त्यसम्ममा प्रसारण लाइन निर्माण सम्पन्न गर्ने जानकारी आफूलाई दिएको आयोजना प्रमुख मुखियाले बताए ।

परवानीपुर क्षेत्रमा केही स्थानीयवासीले प्रसारण लाइन निर्माणमा अवरोध गर्दा आयोजना केही समय ढिला हुन पुगेको हो । गत पुसको २० गते ऊर्जा मन्त्री शर्मा, ऊर्जा सचिव अनुपकुमार उपाध्याय, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजनास्थलको निरीक्षण गरी तोकिएको समयभन्दा पहिल्यै आयोजना सम्पन्न गर्न निर्देशन दिएका थिए ।

आयोजनालाई छिटो सम्पन्न गराउन वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष शर्माले आफूहरुले आयोजना निर्माणका लागि सहजीकरण गरिरहेको र आइपर्ने समस्या समाधानका लागि उद्योगीसमेत लागिपरेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप