बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

हेटौँडा– कुलेखानी–स्यूचाटार प्रसारणलाइन सञ्चालनमा, २०० सय मेगावट आयात तथा निर्यात गर्न सकिने

शनिबार, १५ माघ २०७३, १८ : १३
शनिबार, १५ माघ २०७३

काठमाडौँ - लामो समयदेखि विभिन्न कारणले अवरुद्ध हुँदै आएको हेटौँडा– कुलेखानी–स्यूचाटार १३२ केभी क्षमताको प्रसारणलाइन आजदेखि सञ्चालनमा आएको छ ।

भारतबाट आयात भएको विद्युत् काठमाडौँ ल्याउने महत्वपूर्ण प्रसारणलाइनको रुपमा रहेको सो प्रसारणलाइनको महत्वपूर्ण खण्ड गत पुसको अन्तिम साता नै मातातीर्थमा जोडिइसकेको थियो ।

मातातीर्थबाट स्यूचाटार जोड्ने प्रसारणलाइनको खण्डमा पर्ने घर तथा आवास क्षेत्रमा रोकिएको काम समेत सम्पन्न भएको आयोजना प्रमुख केदार सिलवालले राससलाई जानकारी दिए।

उक्त प्रसारणलाइनबाट काठमाडौँमा बढी भएको बिजुली हेटौँडा र त्यहाँ बढी भएको बिजुली राजधानी ल्याउन सहज भएको छ । राजधानीको वितरण प्रणालीमा पनि थप सुधार गर्ने हो भने दुईवटा महत्वपूर्ण प्रसारणलाइनले राजधानी जोडिएपछि त्यसले दिने सेवा समेत सहज हुने विश्वास लिइएको छ ।

केही दिन पहिले मात्रै ढल्केबर– खिम्ती प्रसारणलाइनबाट समेत विद्युत् प्रवाह भइसकेको छ । हेटौँडा मातातीर्थ स्यूचाटार प्रसारणलाइन पनि सञ्चालनमा आएपछि काठमाडौँमा विद्युत् आयात गर्न र काठमाडौँबाट बाहिर लैजानलाई समेत सहज भएको छ ।

प्राधिकरणले १३२ केभी प्रसारणलाइन क्षमताको डबल सर्किट प्रसारणलाइन निर्माण सम्पन्न गरेपछि भारतबाट ढल्केबर– हेटौँडा हुँदै राजधानी भित्रिएको विद्युत् वितरणमा सहज भएको हो ।

उक्त प्रसारण लाइनबाट करिब २०० सय मेगावट बिजुली आयात तथा निर्यात दुवै गर्न सकिने आयोजना प्रमुख सिलवालले जानकारी दिए ।

विसं २०६८ बाट सुरु भएको सो प्रसारणलाइन मुनिपर्ने जग्गा धनीले मुआब्जा एवम् क्षतिपूर्ति माग्दै लामो समयदेखि अवरुद्ध गर्दै आएका थिए । विसं २०४३ मा नै कुलेखानी दोस्रोको विद्युत् राजधानी ल्याउन निर्माण गरिएको प्रसारणलाइनले दायाँबायाँ नौ–नौ मिटर जग्गाको क्षतिपूर्ति दिइसकेको थियो ।

मकवानपुरको चौकीटोल, काठमाडौँको तत्कालीन मातातीर्थ र स्यूचाटार गाविसले घर तथा आवास बनाउन अनुमति दिएका कारण प्रसारणलाइन विस्तारमा समस्या पर्दैआएको थियो । काठमाडौँ उपत्यकामा विद्युत्को माग बढ्दै गएपछि आयोजनाले एकल फेजमा रहेका प्रसारण लाइनलाई दोहोरो बनाउने तयारी गर्दा स्थानीयवासीले चर्को विरोध गर्दै अवरोध गरेपछि विस्तारकार्य रोकिएको थियो । प्रसारण लाइन निर्माणका लागि मात्रै आयोजनाले रु एक करोड ८४ लाख क्षतिपूर्ति १९ घरपरिवारलाई प्रदान गरेको छ ।

ऊर्जा मन्त्री जनार्दन शर्मा, ऊर्जा सचिव अनुपकुमार उपाध्याय, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, काठमाडौँ र मकवानपुरका प्रमुख जिल्ला अधिकारीको विशेष पहलमा क्षतिपूर्ति तथा मुआब्जा वितरण गरिएका कारण आयोजना सफल भएको उहाँले जानकारी दिए ।

भारतबाट आयात गरिएको विद्युत् ढल्केबर–हेटौँडा हुँदै काठमाडौँ ल्याउन सो प्रसारणलाइन सहयोगी भएको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए। प्रसारण लाइनको दायाँबायाँ क्षेत्रमा रहेका घरधनीले घर भत्काउन थालेको र केही दिनभित्रै घर भत्काइसक्ने जानकारी आफूलाई आएको भन्दै आयोजना प्रमुख सिलवालले काठमाडौँ उपत्यकामा जारी विद्युत्भार कटौती मुक्त अभियानमा सो प्रसारण लाइनको विद्युत् जोडिएपछि थप सहज हुने विश्वास व्यक्त गरे ।

मातातीर्थदेखि स्यूचाटारसम्मको खण्डमा पर्ने घर भत्काएर प्रसारणलाइन सञ्चालनमा ल्याइएको हो । सो प्रसारणलाइन निर्माण सम्पन्न भएपछि मातातीर्थ– भक्तपुर प्रसारणलाइनको काम अगाडि बढाउने प्राधिकरणको योजना छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप