मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

अफसिजनमा घोडेपानीका होटल चिनियाँ पर्यटकले भरिए

आइतबार, १६ माघ २०७३, ०९ : १६
आइतबार, १६ माघ २०७३
म्याग्दी - म्याग्दीको घार गाविस–१ मा पर्ने प्रसिद्ध पर्यटकीयस्थल घोडेपानीका होटल चिनियाँ पर्यटकले भरिभराउ भएका छन् । पर्यटन व्यवसायका हिसाबले अफसिजन मानिने हिजोआज नयाँ वर्ष मनाउने चिनियाँ पर्यटकको चापसँगै घोडेपानीका होटल भरिभराउ भएका हुन् । विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत पर्ने घोडेपानीमा दैनिक २०० जनाको अनुपातमा चिनियाँ पर्यटक भित्रिएका स्थानीय होटल व्यवसायी टेकसर वुद्धुजा पुनले बताए । “नयाँ वर्षको बिदा मनाउन आएका चिनियाँ पर्यटकका कारण बेसिजन भए पनि व्यवसाय राम्रो भएको छ”, घोडेपानीस्थित स्नो भ्यू लजका सञ्चालन पुनले भने – “शुक्रबार हिउँ परेपछि भ्रमणमा आएका पर्यटक उत्साहित भएका छन् ।” पदमार्गको भ्रमणमा आएका पर्यटक हिउँ खेल्न पाउँदा दङ्ग छन् । घोडेपानीमा रहेका २३ वटा सुविधासम्पन्न होटल चिनियाँ पर्यटकले खचाखच भरिएका छन् । एक सातासम्मका लागि होटल बुक भएका व्यवसायीले बताएका छन् । पुनहिल, घोडेपानी, देउराली क्षेत्रमा दुई फिटसम्म बाक्लो हिउँ परेको छ । हिउँ खेल्दै सेताम्मे बनेका डाँडाकाँडाको दृष्यावलोकन गर्न पाउनु थप आकर्षण बनेको छ । शनिबार बिहान २०० भन्दा बढी पर्यटक पुनहिल पुगेका थिए । हिउँ खेलेर रमाइलो गर्नका लागि कतिपय पर्यटकले घोडेपानी बसाइँ थपेका छन् । पोखरालगायतका सहरबाट आन्तरिक पर्यटक पनि हिउँ खेल्न घोडेपानी, पुनहिल पुगेका छन् । पुनहिल सूर्योदय र हिमशृङ्खलाको अवलोकनका लागि प्रसिद्ध छ । कास्कीको नयाँपुल, घान्द्रुक र म्याग्दीको भुरुङ तातोपानी हुँदै घोडेपानीमा बास बस्न पुग्ने पर्यटकका लागि पुनहिल प्रमुख गन्तव्य हो । समुद्री सतहबाट तीन हजार २१० मिटरको उचाइमा अवस्थित पुनहिलबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ«ेलगायतका करिब २० वटा हिमशृङ्खलाको रमणीय दृष्य अवलोकन गर्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप