बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

सार्वजनिक सडकमा होटल मालिकको यस्तो दादागिरी !

आइतबार, १६ माघ २०७३, १५ : ४४
आइतबार, १६ माघ २०७३
काठमाडौं– पाँचतारे होटलको जग खन्ने नाममा सडक भासिएर अबरुद्ध बनेको नक्सालको भगवतीबहालदेखि प्रहरी प्रधानकार्यालयसम्मको सडक खण्ड तीन हप्ता बितिसक्दा समेत सुचारु हुन सकेको छैन । हिल्टन वर्ल्डवाइड र जगदम्बा हस्पिटालिटी समूहको लगानीमा निर्माणाधीन डबल ट्रि नामक होटलको जग खन्ने क्रममा जमिनमुनि अत्याधिक खन्दा पुस २४ गते सो सडक भासिएको थियो । निर्माणको ठेक्का पाएर सो होटलको निर्माण रोशन कन्सल्टेन्सीले गर्दै आएको छ । सडक भासिएपछि सो सडकहुँदै आवत–जावतगर्ने सवारी साधनलाई सडकको दक्षिणमा भगवतीबहालमन्दिर र उत्तरतिर प्रहरी प्रधानकार्यालयबाटै ‘डाईभर्सन’ गरिएको छ । यस सडक खण्डहुँदै सानो गौचरन, कपन, धुम्बाराहीका साथै बालुवाटारका लागि भिआईपीको समेत सवारी गुड्ने गर्दछ । सवारी डाईभर्सन गरिएको सडकमा सवारीको चाप बढेको छ । ४ रोपनीमा बन्न लागेको १४ तल्लाको पाँचतारे होटलको जगखन्दा सडक भासिनुका साथै सँगैको घरहरुलाई समेत असर पुगेको छ । करिब आधा दर्जन घर धरापमा छन् । कम्पाउन्ड चर्केको छ भने त्यो घरमा मान्छे हिँड्दा पनि सिंगै घर हल्लिन्छ । ९ महिना अघिदेखि निर्माण थालेको सो होटेलको निर्माणको सुरुमै आफ्नो घरमा असर पुगेको भन्दै स्थानीयले विरोध जनाउदै आएका थिए । ‘हामीले सुरुमै विरोध गरेको हो । डोजर चलाउँदा घरै थर्किने, हल्लिने गर्दा राती डरले निद्रानलाग्ने भयो । कैयौ त हामी रातभर जाग्रमपनि बसेका छौं ।’ एक स्थानीयले भने, ‘के गर्नु जतिभने पनि नहँुने रै छ पैसा वालालाई त । खै त नियम कानुन, उनीहरुलाई चाहीँ नियम लाग्दैन ?’ समयमै सडक सुचारु नहुँदा स्थानीय, व्यापारी, बटुवा, चालक आक्रोशित छन् । यसको नियमन गर्ने निकाय मुकदर्शक बनेर लाचारीपन प्रदर्शन गरेको आरोप उनीहरुको छ । ज्ञानेश्वर निवासी विष्णु श्रेष्ठ भन्छन्, ‘व्यवसायीले जे–जसरी संरचना बनाएको छ । त्यसले छरछिमेक र सार्वजनिक सडकलाई समेत अबरुद्ध पार्नु दुखद कुरा हो ।’ उनले भने, ‘अरुलाई अप्ठेरो पर्ने गरी र सडक भत्किने गरी आफ्नो संरचना बनाउनु भनेको चरम लापरबाही हो । संबन्धित निकायले छानबिन गरी दोषी भेटिए कडा कारबाही गर्दै तत्काल सडक सुचारु गर्न पहलगर्नुपर्छ ।’ त्यस्तै कोही स्थानीय भने व्यवसायीको डरका कारण समाचारमा आफ्नो स्रोत नखुलाने सर्तमा दुखेसो पोखे, र भने, ‘यो होटेलका व्यवसायीले यस्तो मनपरी गरे पनि व्यवसायीलाई कारबाही गर्न नसक्नु सम्बन्धित निकायको लाचारीपन भन्दा अरु ठान्दिनँ ।’ यस्तो दुरावस्था देख्दा देख्दै सरकारले कानमा तेल हालेर बसेको भन्दै उनले प्रश्न तेस्र्याए, ‘के हेरेर बसिरहेको छ सरकार यत्रो दिन ? मनपरी गर्नेलाई कारबाही गरेर सडक चलाउनु पर्दैन ?’ त्यस्तै गरी सो सडक अबरुद्ध हुँदा त्यस सडकखण्डमा रहेका ३२ पसलको कारोबार पनि बन्दजस्तै छ । उनीहरुले उचित क्षेतीपुर्र्तिको व्यवस्थासहित छिटो भन्दा छिटो सडक संचालन गर्न निर्माण पक्षलाई आग्रह गरेका थिए । तर, निर्माणपक्ष कानमा तेल हालेर बसेको पसलेहरुको आरोप छ । एक महिना अघिनै सडक चर्किसकेको थियो, हामीलाई न्याय चाहियोः स्थानीय ३ हप्ता अघि भत्केको सडक भत्किनु भन्दा १ महिनाअघिदेखि नै चर्किन थालेको थियो । यो कुरा निर्माण पक्षलाई थाहा थियो । तर, बेवास्ता गर्दै जगखन्ने काम जारी राखेका थिए । यहीँ कारण सडक भासिएको स्थानीयको भनाई छ । ‘सडक चर्किएको भन्ने उनीहरुलाई पनि थाहा थियो ।’ एक स्थानीयले भने, ‘हामीले पनि विचार गरेर काम गर्नु सडक भत्किन लागेको छ भन्दा पनि बेवास्ता गरेर अहिले यो हाल भयोे । सडकको साथै हाम्रो घरहरुपनि धराप छ ।’ अब सडकपछि आफ्नो घरको पनि भत्किने पालो आउने भन्दै उनले भने, ‘सडक जस्तै आफ्नो घर भत्केपछि सुकुम्बासी हुने चिन्ता छ । न सरकारले बुझ्छ न व्यवसायीले भन्या मान्छ । हामीलाई न्याय चाहियो ।’ ढल फुटेर सडकभत्क्योः निर्माण पक्ष

निर्माणपक्ष भने सडक भासिनुमा अरु नै कारण देखाउँछ । निर्माणपक्षले जमिनमुनि रहेको ढलको पाईप फुटेको र पानीको चाप वढी भएपछि माटो गलेर यस्तो समस्या आएको दावी गरेको छ । कार्यस्थलमा रहेका निर्माणपक्षका ती प्रतिनीधिलले चाहिँ आफनो परिचय भने दिन मानेन ।

‘त्यहाँ ढलको पाईप छ भन्ने हामीलाई थाहा थियो ।’ उनले भने, ‘ढल र सडकलाई बचाउँन हामीले रिटेनिङ वाल समेत उठाईसकेका थियौँ । अनाचक सडक भत्कियो ।’ सडक भत्किन संचालनमा ल्याउन रातदिन दिलो–ज्यानलगाएर खटिरहेको बताउँदै उनले सुनाए, ‘हामीले संपूर्ण काम छोडेर भएपनि सडक बनाउनतिर लागेकाले अब दुई चार दिनमा सडक संचालनमा आउँछ ।’ निर्माण पक्षले सडक सुचारु गर्न वाल त लगाउन सुरु गरेको छ तर गिलो माटोका कारण वाल नै भित्रभित्र दबिरहेको छ । कारबाही गर्ने कुरै भएन  : महानगरपालिका भवन निर्माण गर्नु भन्दा पहिले ठाउँ परिवेश र जग्गा अनुसारको नक्सा, माटो परिक्षणदेखि हरेक पाटोको सुक्ष्म परिक्षण मार्फत मात्रै ठूल्ठूला भवन बनाउन इजाजत दिन्छन् महानगरपालिकाले ।

त्यस्तै यसमा कुनै प्राविधिक गल्ती हेर्ने भनेर ‘टेक्निकल जुरी’ समेत बनाएको थियो महानरपालिकाले । सुक्ष्म ढंगले हेरेर होटेलको भवन बनाउन इजाजत दिएको थियो ।

तर,महानगरपालिका भवननिर्माण इजाजत प्रमुख रवीन्द्र पौडेलका अनुसार यो अचानक आएको घटना हो । आफ्नो तर्फबाट सजगता र अध्ययन हुँदाहुँदै पनि सडक भत्किनु कुनै प्राविधिक विषय नभएको उनले बताए ।

‘सडक भत्केको लगतै हामीले अनुगमन पनि गर्यो । अनुगमनमा निर्माण पक्षले प्राविधिक रुपमा कमी कमजोरी देखिएन ।’ उनले भने, ‘ढल फुटेरै सडक भत्किएको भन्ने निष्कर्श निस्क्यो ।’ उनले अगाडि थपे, ‘यो भवितव्य घटेकोले गर्दा ठेकेदार पक्षले गल्ति नभएपनि आफ्नो गल्ति भएको भन्दै सडक बनाउनेतिर लागि सकेका छन् यत्ति गरि सक्दा पनि कारबाही गर्या खोई भन्न त मिलेन नि ।’ गुनासो सुनुवाई भएन

स्थानीयले बेलुकाको समयमा भवन िनर्माणको कामगर्दा सुत्न नसक्ने, बालबच्चा रोईरहने, राति सुत्दा घर हल्लिएर बस्नै नसकेको र सडक समेत चर्किन थालेपछि प्रहरीदेखि महानगरसम्म हारगुहार गरेका थिए ।

आफूले भोग्नु परेको समस्या प्रहरी वृत्त, कमलपोखरीमा सुनाए पनि समस्या समाधान नभएपछि छिमेकीहरू काठमाडौं महानगरपालिका पुगेका थिए । काठमाडौं महानगरपालिकाको कानून कार्यान्वयन विभागले रात्री समयमा काम गरे निर्माण कार्य नै रोकिदिने सम्म चेतावनी दिएको थियो । तर, कामभने त्यस्तै गतिमा अगाडि बढिरह्यो । आखिर सडक भत्केरै छोड्यो भने वरपरको घरहरु समेत जोखिममा परेका छन् । सडक अझै सम्म पनि संचालनमा ल्याउन सकिरहेको छैन । नियम छलेरअझै १५/२० मिटर गहिराईमा जाने दाउमा थियो

१४ तल्ले सो होटलको अन्डर ग्राउन्ड र जग २ बेसमेन्ट (२ तल्ला) सम्म खनेको थियो । खन्दाखन्दै सडक भासियो ।

कम्पनीकै क्लाईन्टको प्रतिनिधि मध्य एकले जानकारी दिए अनुसार, यदि सडक नभासिएको भएअझै १५/२० मिटर गहिराईसम्म जाने दाउ निर्माण पक्षको थियो । जुन सडक भासिएपछि रोकियो । जतिसुकै तल्ले घर बनाएपनि २ बेसमेन्ट भन्दा गहिराई सम्मजान नपाउने नियम छ । तर होटेल व्यवसायी भने यो नियमलाई पनि छल्ने दाउमा थिए । जुन पुरा हुन सकेन । २ बेसमेन्टमै कायम रहनपुग्यो । नियममा के छ ? १० हजार वर्ग फिट भन्दामुनिको भवन भएकाले यस होटेलको इजाजत काठमाडौं उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालय काठमाडौंमा भवननिर्माण अघि गर्नु पनिप्लानिङ पर्मिट पास गराएर महानगरपालिकामा भवन निर्माणको स्विकृती लिनुपर्ने प्रावधान छ । सम्बन्धित निकायका अधिकारीहरुका अनुसार होटेलले पुर्याउनु पर्ने मापदण्ड सबै पुरा गरेको छ । तर कागजी रुपमा प्रकृया परा गरे पनि कार्य क्षेत्रमा के भईरहेको छ ? निर्माण व्यवसायीले के गरिरहेको छ ? भन्ने नियमित अनुगमनगर्ने संयन्त्र भने छैन । जसका कारण यो अबस्था व्यहोर्नु पर्यो ।

स्थानीयको बासको टुंगो छैन । व्यापार व्यवसाय चौपट छ । तनावको स्थिति सिर्जना भएको छ । तर, न सरकारले ध्यान दिएको न निर्माण पक्षले वास्तै गरेको छ । यहाँका स्थानीय दोहोरो मारमा परिरहेका छन् ।

अहिले सम्मको सरकारी संयन्त्र भनेको भवन निर्माण भैरहँदाभन्दा पनि भवन निर्माण भईसकेपछि सडक कति छोड्यो, हरियाली कति कायम गर्यो लगायतका कुराहरु हेर्छन । निर्माण पक्षले सडक र छरछिमेकको घरलाई असर पुग्ने गरी काम गरेको विषयमा उनीहरुले ध्यान दिएका छैनन् । मनपरी ढंगले संरचना बनाएर सडकलाई ३ हप्तादेखि ठप्प बनाएकालाई कारबाही गर्नुको सट्टा सरकारी निकाय थप हौसला दिईरहेका छन्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप