बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

अव कसैले सहिद बन्नुनपर्ने गरी लोकतन्त्र संस्थागत गरौँ : राष्ट्रपति

आइतबार, १६ माघ २०७३, १७ : २८
आइतबार, १६ माघ २०७३

काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीले अव कसैले सहिद हुनुनपर्ने गरी लोकतन्त्रको संस्थागत विकास गरिनुपर्ने बताएकी छिन्।

सहिद दिवसका अवसरमा शान्ति तथा पुनःनिर्माण मन्त्रालय र राष्ट्रिय सहिद तथा शान्तिस्मारकले आज गोकर्णमा आयोजना गरेको राष्ट्रिय सहिद एवम् वर–पिपल वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन् – “सही लोकतान्त्रिक अभ्यासले नै लोकतन्त्रको जरो बलियो हुन्छ ।”

राष्ट्रपति भण्डारीले “अब कसैले सहिद बन्नु नपर्ने वातावरण सिर्जना गरेमा मात्र सहिदप्रति सच्चा श्रद्धाञ्जलि हुन्छ” भन्दै “लोकतान्त्रिक अभ्यासले नै समस्या समाधानमा सहयोग गर्नेछ, सहमति र सहकार्यका साथ अघि बढ्न सबै दललाई सहिद दिवसले प्रेरणा देओस्” भनिन् ।

सरकारले विसं २०७१ देखि २०८० सम्मलाई वन दशक घोषणा गरेकाले यसले जलवायु परिवर्तन र तापमानलाई सन्तुलनमा ल्याउने विश्वास व्यक्त गर्दै उनले भनिन् –“पूर्खाले वर र पिपलको बिरुवा रोप्ने प्रचलन वातावरण सन्तुलन कायम राख्न चलाएको कद्मप्रति सबैको ध्यान जानुपर्दछ ।”

शान्ति तथा पुनःनिर्माण मन्त्री सीतादेवी यादवले सहिदस्मारक निर्माण सम्पन्न भएपछि सहिदप्रति थोरै भए पनि न्याय हुने विश्वास व्यक्त गरिन् ।

“विगतमा राहत नपाएका द्वन्द्वपीडितलाई राहत वितरणका लागि कार्यदल गठन भएको छ, अव पीडित सबैले राहत पाउनेछन्, सहिद स्मारक बनेपछि शान्ति स्थापनाका ठोस् आधार तयार हुनेछ, द्वन्द्वपछिको पुनःनिर्माणलाई पनि मन्त्रालयले तीव्रता दिनेछ”–उनले भनिन्।

मन्त्री यादवले सरकारको निर्णयअनुसार निर्माण भइरहेको स्मारक सम्पन्न गर्न विसं २०७२ वैशाखको भूकम्प र सोही वर्षको असोज पछिको अघोषित नाकाबन्दीले केही ढिलाइ भए पनि अव छिटो सम्पन्न हुने विश्वास व्यक्त गरिन् ।

कार्यक्रममा सांसद रामेश्वर फुयाँल, अम्बिका बस्नेत र पेम्बा लामा, मन्त्रालयका सचिव सुमनप्रसाद शर्मा, स्मारक निर्माण समितिका अध्यक्ष सुदर्शन सिग्देलले शान्ति, लोकतन्त्र र राष्ट्रिय एकताका लागि निर्माण भइरहेको स्मारक सम्पन्न गराउन सबैको सहयोग हुनुपर्नेमा जोड दिए ।

गुरुयोजना बनाएर विसं २०६८ देखि निर्माण सुरु भएको स्मारकको ७१ प्रतिशत काम सम्पन्न भएकाले बाँकी २९ प्रतिशत काम पनि विसं २०७४ चैत मसान्तसम्ममा सक्ने लक्ष्यका साथ काम भइरहेको महासचिव त्रिलोचन पौडेलले जानकारी दिए ।

मन्त्रिपरिषद्ले विसं २०६४ जेठ ११ गते गोकर्णको यज्ञडोल (जगडोल) सामुदायिक वनको ६५० रोपनी क्षेत्रफलमा सहिदका नाममा स्मारक निर्माण गर्ने निर्णय गरेको थियो ।

स्मारक अन्तर्गत बन्नेगरी पाँचवटा सहायक पार्क निर्माणको गुरुयोजना पनि मन्त्रालयले स्वीकृत गरिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप