बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

वनवास पठाइएका ८१ वर्षीय लालबहादुरको विवाह, छोरा–नाती जन्ती, सिडियो प्रमुख अतिथि !

आइतबार, १६ माघ २०७३, १८ : ००
आइतबार, १६ माघ २०७३

गुल्मी– एउटा हातमा लौरोको साहरा, अर्को हातमा श्रीमतिको । गुल्मी अर्वेनीका लालबहादुर सुनारको कस्तो शौभाग्य ! ८१ वर्षको उमेरमा विवाह हुँदा छोरा र नाती जन्ती , सिडियो प्रमुख अतिथी ।

यसअघि अर्वेनी ५ का लालबहादुर सुनारले स्थानीय व्राम्हण समुदायकी ४३ वर्षिया महिला सवित्रा न्यौपानेसँग प्रेम सम्बन्ध राखेको आरोपमा गाउँ निकला भई त्यहाँका सिमित मानिसहरुले उनको घर भत्काउन लगाई वनवास पठाएको खबर रातोपाटीमा आइसकेको छ ।

उनै लालबहादुर र सावित्राले त्यो उमेरमा पुनर्विवाह गरेका हुन् । जुन स्थानमा अभद्र व्यवहार गर्दै गाउँ निकला गरिएको थियो, त्यसै स्थानबाट बाजा बजाउँदै उनीहरुलाई नव दम्पत्तिका रुपमा घरमा लगेर स्थानियवासी, दलित अधिकारकर्मी र सरकारी अधिकारीसहितको टोलीले भित्र्याएका हुन् ।

८१ वर्षीय वृद्धलाई परस्त्रीसँग सम्बन्ध राखेको आरोपमा वनवास पठाइयो

अभद्र व्यवहार गरिएको स्थान अर्वेनी गाविस भवनको प्राङ्गणमा आयोजित पुर्नस्थापना कार्यक्रममा ति दुवैलाई गुल्मीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुङ्गानाले दोशल्ला ओढाँउँदै दुई हात जोडेर अभिनन्दन समेत गरेका छन् ।

भत्काईएको उनको घर स्थानिवासीले बनाएर उनिहरुलाई स–सम्मान पुनस्थापना र नौमति बाजामा नाँचगान गर्दै पुर्नविवाह गरीदिएका हुन् । पहिला खरले छाएको घर थियो अहिले टिनको छानाले छाइएको छ, दुई वटा कोठा र चिटिक्क परेको शौचालय समेत बनाईएको छ ।

गाविस भवनबाट पुर्नविवाहको टिका–टाला ग्रहण गर्र्दै बाजा गाजाका साथ अगाडी बढ्दै गरेको बेला ति नव दम्पत्तीलाई प्रमुख जिल्ला अधिकारी ढुङ्गानाले सुखद् दाम्पत्य जीवनको शुभकामना समेत दिए । उनको शुभकामना ग्रहण गर्दै लालबहादुर एउटा हातमा लौरो टेक्दै र अर्को हातले दुलहीको हात समाउँदै लागे डेढ महिना पछि नवनिर्मित घरमा वस्न ।

करिव १५ मिनेटको उकालोबाटो सम्म उनले नवदुलहीको हात छाडेनन् । बाटोमा लल्जालु मुद्रमा रहेकी सावित्राले पनि उनको हात छोडेकी थिइनन् । सदरमुकामबाट पुगेका दर्जनौ दलित अधिकारकर्मी , मानवअधिकारकर्मी , पत्रकारहरु सयौं स्थानियवासी जन्तीका रुपमा गाविस भवनदेखि माथि जंगल विचमा रहेको उनको घरमा पुग्दै गर्दा खुशीले गद्गद ति दम्पत्ती घरको आँगनमा कम्मर मर्काउँदै नाँचेका ।

४३ वर्षिया वेहुली नाँच्दानाच्दै अलि लजाए जस्तो गरिन् । ८१ वर्षीय बेहुलाले उनलाई अझै नाच्न संकेत गर्र्दै थिए । बेहुलीको लज्जालु मुद्रलाई ध्यानमा राखी जिल्लाबाट पुगेका उत्पीडित जातिय मुक्ति समाजका केन्द्रिय सदस्य कृष्ण सुनारले ‘भैगो उहाँ लजाउनु भयो अव भित्र पसाउने काम गरौं’ भने ।

घरभित्र पसाउने क्रममा नन्दको ठाउँमा बुहारी दैलोमा उभिएकी थिईन् भने ३८ वर्षिय छोरा अनुराम र ३ वर्षिय नाती जन्तीको पंक्तिमा । काँदाकुरी छोरालाई लगाएर उभिएका अनुराम पनि निकै हर्षित मुद्रामा देखिन्थे । कस्तो लागेको छ त हिजो गाउँ निकला भएका तपाईहरुलाई आज स–सम्मान घर भित्रिन पाउँदा ? भन्ने प्रश्नमा ति दुवैले भने–‘ असाध्यै खुशी छौं सवैको जय होस् । ’

२२ वर्ष अघि श्रीमतीको मृत्यु भई बेसहरा भएका लालबहादुरले जोडी पाएकोमा औधी खुशी हुनु स्वभाविकै थियो । त्यति नै खुशी प्रमुख जिल्ला अधिकारी देखि सहभागी सवै थिए । त्यही खुशीयालीमा धेरैले बाजाको तालमा नाँचेर खुशियाली मनाएका थिए ।

‘मैले दलित होईन देउता नै पाएँ ’

नव दुलहीका रुपमा घर भित्रिएर कोठाको पलङमा नवदुलाह, उनका छोरा–बुहारी र नातीसंगै बसेकी सावित्राले आँसुमा डुवेर वाहुनी हुनु भन्दा माया पाएर दलितको श्रीमती हुनु वेश लागेर लालबहादुरलाई माया गर्दै आएको बताईन् ।

आफु बाल्यपन छँदा र विवाह पश्चात पनि परिवारमा दलितहरुलाई तल्लो जात ठान्ने भए पनि आफुले बुझे देखि कुनै भेदभाव नगरेको उनले बताईन् । यसै गाउँका शिक्षित बुद्धिजिवीहरुले विभेद गरेर यो हाल बनाए पनि म अनपढले मानिस सवै वरावर ठान्छु भन्दै उनले भनिन कसैले दलित संग गई थुईया भने पनि मैले देउता सरहको साहरा पाएकी छु उनले मुस्कुराँर्दै भनिन् ।

कत्तिको माया दिनु हुन्छ त ? भन्ने प्रश्नमा उनले लज्जालु मुद्रमा आँखा ओछाउँदै भनिन्‘ माया ममता र भोकमा खान दिएरै त आएकी हुँ । ’ उनले व्राम्हण समुदायका पुर्वपतिले जाडरक्सी पिएर रातदिन कुटपिट गरेको आरोप पनि लगाईन् । सहन नसकेर ३ वर्ष बुटवल र त्यतिनै समय काठमाण्डौको होटलमा जुठा भाँडा माझेर बसेको र घर फर्केको दुई तिन महिनादेखि आफुलाई कुन वाहनामा निकालौ भन्दै श्रीमान र छिमेकका केहि मान्छेहरु लाग्दै आएको उनको भनाई छ ।

घट्ना स्मरण गर्दै उनले आफु त्यसदिन हेराउन भनि विहान करिव ५ वजेतिर आएर लालबहादुरको घरभित्र पसेकै वेला त्यस्तो आरोपसगै आफुहरुलाई हात बाँधेर गाउँ डुलाएको उनले बताईन् । उनिहरु दुई दिनसम्म भिर जंगल बीचको ओढार दुई दिन दुई रात विताएको बेला उनको आफन्तले भेटाएर गाउँ फर्काएका थिए ।

अर्वेनी गाविस कार्यालय सहायक झविलाल न्यौपानेको अगुवाईमा भेला भएका गाउँवासीले पौष १ गते ति दुई दम्पत्तीलाई पुर्व पतिबाट सम्वन्ध विच्छेद गराई उनिहरुको सम्वन्ध स्थापित गराई दिएका थिए । तर, शनिवार अर्वेनी दलित साझा मञ्चद्धारा आयोजित पुनस्थापना कार्यक्रमको अध्यक्षता अर्वेनी गाविस सचिव भोजबहादुर रानाले गरेका थिए ।

पुनस्थापना कार्यक्रममा बोल्दै गाविस सचिव रानाले सुरुमा गल्ती कम्जोरी भए पनि त्यसलाई सच्चाउनु र अपमानित भएका उनिहरुलाई स–सम्मान पुनस्थापना गर्दा न्यायको एक पाटो भएको बताए ।

गाविस सहायक न्यौापनेले भने सदरमुकाममा भएका गाविस सचिव रानालाई जानकारी नै नदिई जवरजस्ती औठा छाप गर्न लगाईएको कागजमा अर्वेनीका तिन वटा प्रमुख दलका नेताहरुको समेत हस्ताक्षर रहेको छ । गाविस सहायक न्यौपानेले आफुलाई त्यस्तो कागज लेख्न लगाई दलका नेताहरुले फँसाएको गुनासो गर्दै आएका छन् ।

मैले गाउँ नकला गरेको पनि होईन र घर भत्काउन पनि लगाएको होईन । ति सवै गरेको ति महिलाका पुर्वपतिका भतिजा चिन्तामणी न्यौपानेले हो , प्रहरीको नजरमा सम्पर्क विहिन भनिएका गाविस सहायक न्यौपानेले यो समाचारदातासंग फोन मार्फत यस्तो गुनासो गरेका हुन् ।

एक दिन कठघरामा उभ्याँइन्छ : प्रजिअ

पुनस्थापना कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी ढुङ्गानाले गाउँ निकला गर्ने अभियोगमा केहि सार्वजनिक अपराधको मुद्धा लागेका चिन्तामणी न्यौपाने र अर्वेनी गाविस सहायक झविलाल न्यौपाने हालसम्म फरारा रहेको बताए । उनले उनिहरु जति दिनसम्म फरार रहेपनि एक दिन कानुनी कठ्घरामा ल्याउने बताए ।

यसरी गाउँमा लुकेको र दवेको घटना खोजपत्राकारिता मार्फत रातोपाटीले उठान गरेको प्रति प्रमुख जिल्ला अधिकारीले धन्यबाद समेत दिए । उनले पुनस्थापना पनि न्यायको एक हिस्सा भएकोले यसलाई हाम्रो समाजको मेलमिलाप र सहिष्णताका रुपमा लिनु पर्ने धारणा राखे ।

नकरात्मक सन्देशपछि नै सकरात्मक सन्देश आउने बताउँदै उनले अर्वेनीले हिजो नराम्रो सन्देश दिए पनि आज उनैहरुले स–सम्मान पुनस्थापना गरेर देशैभर सकरात्मक सन्देश दिएकोमा धन्यवाद दिए ।

कार्यक्रममा प्रमुख दलका नेता आएनन्

जिल्लाबाट सिडियो आउने भनेपछि बीचबाटोमा पर्ने छिमेकी हर्मीचौर गाविसका दलका नेता समाज सेवीहरु चोकचोकमा भेट्न बसेका थिए । तर, सिडियो नै प्रमुख अतिथी रहेको त्यति महत्वपुर्ण कार्यक्रममा अर्वेनी गाविसका तिनवटै दलका नेताहरु भने उपस्थीत थिएनन् ।

कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्र गरी तिनवटै दलका गाउँ कमिटी प्रमुखहरु न्यौपाने थरकै भएकोले प्रतिष्ठाको विषय बनाएर नआएको हुन सक्ने अधिकारकर्मीहरुको ठम्याई थियो । जिल्ला मानव अधिकार अधिकृत गणेश श्रेष्ठले पीडितलाई आर्थिक सहयोग समेत गरेका थिए । दलित अधिकारकर्मी कृष्ण नेपाली लगायतले उनिहरुलाइ आवश्यक कपडा संकलनमा लाग्ने बताएका थिए ।

वर्षौंपछि यस्ता घटनामा न्याय पाउन नसकेको बताउँदै छिमेकी गाविस हर्मिचौर , पुर्तिघाट, जयखानी र फोक्सीङ्ग सम्मका सयौं दलितहरुको सहभागीता रहेको थियो ।

एकताबद्ध अधिकारकर्मी

गुल्मीको गाउँ निकला घटना बाहिरा आएलगत्तै स्थानियदेखि क्षेत्र र केन्द्र सम्मका अधिकारकर्मीहरु त्यसविरुद्ध एकताबद्ध भएका छन् । राष्ट्रिय दलित आयोग स्थानीय तहमै आएर बुझ्यो । ईन्सेकको जिल्लादेखि क्षेत्र र केन्द्रले दैनिकजसो यस घटनाबारे चासो लिई रह्यो । अन्य मानवअधिकारवादी संस्थाहरुको पनि त्यतिकै चासो रह्यो ।

यहाँस्थित नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रसहित सवै राजनैतिक दलका दलित संगठन साझा मञ्चका रुपमा पीडित लालबहादुरलाई न्याय दिलाउन लागी परेका छन् ।

पुन:स्थापना कार्यक्रममा उत्पीडित जातिय मुक्ती समाजका केन्द्रीय सदस्य कृष्ण नेपाली , नेपाल दलित संघका जिल्ला अध्यक्ष झविन्द्र बिक, मुक्ती समाजकै जिल्ला अध्यक्ष दलबहादुर बिक, दलितमुक्ति मोर्चाका जिल्ला अध्यक्ष धर्म बिश्वकर्मा , दलित महिला संघकी अध्यक्ष कमला बराल लगायतले मन्तव्य राखेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप