बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

झुठ, भ्रम र आङ साङ सुकी : कसरी समान छन् ट्रम्प र सुकी ?

सोमबार, १७ माघ २०७३, १७ : ४९
सोमबार, १७ माघ २०७३

म्यानमार – म्यानमार, जसलाई बर्मा पनि भनिन्छ, मा रोहिन्ग्या अल्पसंख्यकमाथि राज्यबाट भइरहेको अत्याचारबारे सरकारी टोलीले आफ्नो अन्तिम रिपोर्ट प्रस्तुत गर्न अझै बाँकी रहेको छ ।

उत्तरी रखाइन राज्यमा सञ्चारकर्मीहरुलाई प्रवेशमा प्रतिबन्ध लगाएको म्यानमारको सरकारले त्यहाँ सर्वसाधारणमाथि सैनिकबाट भइरहेको बलात्कार र हत्या आरोपको खण्डन गर्ने प्रयास गरिरहेको छ ।

ट्रम्प र सुकीबीच समानता

कसरी ? कहाँ ट्रम्प र कहाँ सुकी !

तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र आङ साङ सुकीबीच हामीले सोचेँभन्दा धेरै समाना रहेको छ ।

अमेरिका र म्यानमारका दुवै नेताहरु ७० वर्षको आसपास रहेका छन् । दुवैको कपालको बारेमा धेरै चर्चा भएको छ भने दुवै पत्रकारहरुलाई मनपराउँदैनन् ।

ट्रम्प र मिडियाबीचको ‘शीतयुद्ध’ को धेरै प्रचार भएको छ । तर, सुकीको भने त्यति प्रचारमा छैन ।

र, मुख्यरुपमा मुस्लिमहरु बारे दुवै नेताको दृष्टिकोणमा समानता देखिएको छ ।

‘द लेडी’ भनेर चिनिने सुकीलाई ९० को दशकमा तिर ‘मानवअधिकार र प्रजातन्त्र’ को प्रतिबिम्बको रुपमा हेरिन्थ्यो । सैनिक शासनको क्रममा उनलाई रंगुनमा नजरबन्दमा राखिएको थियो । त्यतिबेला पत्रकारहरुले जोखिम मोलेर उनको घरमा पुगेर उनका कुराहरु विश्वसामु ल्याउँथे ।

तर, अहिले सुकी सत्तामा आएपछि स्थिति बदलिएको छ ।

राष्ट्रपति बन्न नपाउने भएपछि उनले आफ्नो लागि ‘स्टेट काउन्सिलर’ को नयाँ पद सृजना गरेकी छिन् । उनले आफूलाई ‘राष्ट्रपतिभन्दा माथि’ राखेकी छिन् । यो भनेको सार्वजनिक ‘जाँच’ भन्दा पनि माथि हो ।

सुकीले बर्माको सञ्चारकर्मीसँग कुरा गर्दिनन् । र, अन्तर्राष्ट्रिय मिडियासँग पनि निकै सचेत ढंगले छानेर मात्र कुरा गर्छिन् । उनमाथि संसद्मा कुनै प्रश्न गरिँदैन र १४ महिनाअघिको निर्वाचनपछि उनले कुनै पत्रकार सम्मेलन पनि गरेकी छैनन् । र, अहिले बर्मामा सरकारी प्रोपोगाण्डा व्याप्त छ, जसले सैनिक शासनको क्रममा गरिएको सेन्सरसिपलाई झल्काउँछ ।

को हुन् रोहिन्ग्या ?

हेरक दिन राज्यद्वारा सञ्चालित मिडियाले अन्तर्राष्ट्रिय मिडियाले प्रकाशित गर्ने रोहिन्ग्या मुस्लिम अल्पसंख्यकमाथि भइरहेको अत्याचारको समाचारको खण्डन गरिरहेका हुन्छन् ।

म्यानमारमा करिब १० लाख रोहिन्ग्या बसोबास गर्छन् र लामो समयदेखि उनीहरुमाथि भेदभाव भइरहेको छ । पछिल्लो साढे तीन महिनामा रखाइन राज्यमा उनीहरुमाथि व्यापक सैनिक कारवाही भइरहेको छ । त्यहाँ के भइरहेको छ भन्ने कुरा तपाइँ कसलाई पत्याउनुहुन्छ भन्ने कुरामा निर्धारण हुन्छ । किनभने त्यहाँ सरकारले स्वतन्त्र प्रेसलाई प्रतिबन्ध गरेको छ ।

केहीले त्यहाँ सैनिकहरुले जातीय संहार र नरसंहार गरिरहेको बताउँछन् भने बर्माको सैनिक र सुकी त्यहाँ आतंकवाद विरोधी अभियानमात्र चलेको बताउँछन् ।

गतहप्ता, बिबिसीले द्वन्द्वग्रस्त रखाइन क्षेत्रमा जान स्थानीय प्रशासनको दुर्लभ अनुमति पयो । बिबिसीको टोली तुरुन्त त्यहाँको राजधानी सिट्वे पुग्यो । ४ घण्टाको यात्रापछि टोली द्वन्द्वग्रस्त क्षेत्रबाट मात्र ४५ मिनेट टाढा बुटिडाङ पुग्यो ।

तर, त्यहाँ सरकारी अधिकारीहरुले उनीहरुलाई त्यहाँको स्थानीय प्रशासन कार्यालयमा लगेर टोलीको अनुमति खारेज भएको जानकारी दिइयो । सुकीको सरकारले बिबिसीको टोली त्यहाँ पुग्ने थाहा पाएपछि पहिले दिइएको अनुमति खारेज गरिदियो ।

यसबीच पनि सुकीसँग कुरा गर्ने धेरै प्रयास भएपनि उनले हरेक पटक आफू बैठकमा भएको भन्दै टार्दै आएकी छिन् ।

उत्तरी रखाइन क्षेत्रमा बस्ने बुद्ध धर्मावलम्बी डाक्टर थान टुट क्याव पनि त्यहाँ भइरहेको अत्यचार हावादारी भएको बताउँछन् । ‘हामीले लुकाउनुपर्ने केही छैन,’ उनले भने, ‘सरकारले स्थितिको बारेमा सबै सत्य सार्वजनिक गरिनै रहेको छ ।’ उनले बुद्ध धर्मले बलात्कारजस्ता अपराध गर्न नदिने बताउँदै सबै आरोपहरु खारेज गरे ।

पुष्टि गर्न चुनौती

सुकीका लागि समस्या भनेको यी आरोपहरु हल्लाभन्दा धेरै माथि छन् । पत्रकार र अधिकारकर्मीहरुलाई त्यहाँ पुग्न रोक लगाइराख्दा रोहिन्ग्याका जनताले आफै त्यहाँको रिपोर्टिङ गरिरहेका छन् । आफ्नो मोबाइलबाट त्यहाँको स्थिति कैद गरेर बाहिर पठाउने गरेका छन् ।

केही महिना यता महिलाहरुले आफू बलात्कृत भएको भनेको भिडियो, जिउँदै जलाइएका बालबालिका र महिलाको भिडियो, जलाइएको अस्तिपञ्जरका भिडियोहरु त्यहाँबाट पठाइएका छन् ।

तर, त्यहाँ जान प्रतिबन्ध लगाइएका कारण त्यसलाई पुष्टि गर्न गाह्रो छ । यता, बर्माको राष्ट्रिय मिडियाले त्यसको तुरुन्तै खण्डन गरिहाल्छ ।

कति अल्पसंख्यक मुस्लिमहरु त्यहाँबाट भागे वा मारिए भन्ने कुनै यकिन तथ्यांक छैन । तर, भिडियो र स्नापच्याटबाट त्यहाँको स्थिति भयानक छ भन्ने प्रस्ट हुन्छ ।

मुस्लिममाथि बर्माको सरकार र सुकीको प्रतिक्रिया सिधै ट्रम्पको ‘किताब’ बाट आएको जस्तै देखिन्छ ।

के भन्छ मिडिया ?

रोहिन्ग्याको रिर्पोटिङमा कहिलेकाहीँ अन्तर्राष्ट्रिय मिडियाबाट पनि गल्ती भएका छन् । त्यही भएर अहिले पनि रोहिन्ग्याबारे कुनै रिपोर्ट आयो भने सरकारी मिडिया र सरकारले त्यही गल्तीको उदाहरण पहिले प्रस्तुत गर्छ ।

त्यस्तै, सकुीका अधिकारीहरुको तर्फबाट आउने प्रोपोगाण्डा पनि निकै रोचक हुन्छ । स्टेट काउन्सिलरको अफिसले जनवरीको शुरुवातमा हलिवुड चलचित्र रेम्बोमा सिल्भेस्टर स्टालोनको फोटो देखाउँदै उनीहरुको दाबीलाई पुष्टि गर्ने प्रयास गरेको थियो ।

यस्तो रणनीति पछिल्लो समय ह्वाइट हाउसले पनि प्रयोग गर्न थालेको छ । एउटा मानिसको गल्तीलाई अगाडी ल्याएर अर्को कुराबाट ध्यान भड्काउने राणनीति ह्वाइट हाउसले पनि अख्तियार गरिरहेको छ ।

सिएनएन र गार्जियनमा रोहिन्ग्याबाट भागेर आएका मुस्लिम परिवारबारे प्रकाशित गरेको रिपोर्टलाई झुठो साबित गर्न सुकी प्रशासनले यस्तै रणनीति अख्तियार गरेको थियो ।

के होला अब ?

केहीले सुकी ठूलो दबाबमा रहेको पनि बताउँछन् । उनको सरकार नयाँ रहेको र संविधानले अझै सेना र प्रहरीलाई नियन्त्रण नगर्ने नहुँदा बिस्तारै स्थितिमा परिवर्तन आउने विश्वास गर्नेहरु पनि छन् ।

उनले अहिले चाहेर पनि रखाइनमा सैनिक कारवाही रोक्न नसक्ने उनीहरु बताउँछन् र उनीनै अझै म्यानमारमा परिवर्तनको अन्तिम आशा रहेको बताउँछन् ।

हुनतः सुकीले नै रखाइनमा भइरहेको अत्याचारको बारेमा अध्ययन गर्न आयोग गठन गरेकी थिइन् । उक्त आयोगले केही समयमा प्रतिवेदन दिने बताइएको छ । तर, यसलाई पूर्व सैनिक जेनेरलले नेतृत्व गरेका छन् । त्यसैले यसबाट सत्यतथ्य बाहिर आउने धेरैलाई शंका छ ।

हाललाई उत्तरी रखाइनमा के भइरहेको छ, त्यो रहस्य नै रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप