बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

आप्रवासीमाथिको प्रतिबन्ध लागु गर्न नमान्ने कार्यवाहक महान्यायाधिवक्ता ट्रम्पद्वारा बर्खास्त

मङ्गलबार, १८ माघ २०७३, ०९ : ३१
मङ्गलबार, १८ माघ २०७३

वासिङटन – आप्रवासी प्रतिबन्ध गर्न कार्यकारी आदेशमाथि प्रश्न उठाउने कार्यवाहक महान्यायाधिवक्तालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वर्खास्त गरेका छन् ।

ओबामाको कार्यकालमा नियुक्त भएकी स्याली येट्सले यसअघि जस्टिस डिपार्टमेन्टका वकिलहरुलाई राष्ट्रपतिको कार्यकारी निर्देशन लागु नगर्न निर्देशन दिएकी थिइन् ।

ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा येट्सले डिपार्टमेन्टलाई ‘धोका’ दिएको उल्लेख गरिएको छ ।

इस्टर्न डिस्ट्रिक्ट आफ भर्जिनियाका डाना बोएन्टेले उनको स्थानमा कार्यवाहक महान्यायाधिवक्ताको जिम्मेवारी सम्हाल्नेछन् ।

यता, सातवटा मुस्लिम बाहुल्यता भएका देशहरुका नागरिकहरुलाई अमेरिका प्रवेशमा निषेध गरेपछि अमेरिका र विदेशमा समेत ट्रम्पविरोध प्रदर्शन भइरहेका छन् ।

पत्रमा येट्सले राष्ट्रपतिको आदेश कानुनसम्मत भएकोमा आफू ‘सन्तुष्ट’ नभएको बताएकी थिइन् ।

‘जबसम्म म कार्यवाहक महान्याधिवक्ता रहनेछु डिपार्टमेन्ट अफ जस्टिसले कार्यकारी निर्देशनको पक्षमा वकालत गर्नेछैन,’ उनले भनेकी थिइन् ।

तर ह्वाइट हाउसले भने उनले अमेरिकी नागरिक र अमेरिकाको रक्षाको लागि तयार गरिएको कानुनी निर्देशनलाई लागु गर्न नचाहेर धोका दिएको आरोप लगाएको छ ।

प्रेस सेक्रेटरीले जारी गरेको वक्तव्यमा राष्ट्रपति ट्रम्पले उनलाई उनको पदबाट हटाएको उल्लेख छ ।

उनको स्थानमा ल्याइने बोएन्टेलाई पनि बाराक ओबामाले नै सन् २०१५ मा नियुक्त गरेका थिए ।

केही दिनमा ट्रम्पले सिफारिस गरेका सेनेटर जेफ सेसन्स महान्यायाधिवक्ता बन्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप