बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

फिल्म सुटिङमा यसरी सहभागी हुन्छन् ओली

मङ्गलबार, १८ माघ २०७३, १४ : २३
मङ्गलबार, १८ माघ २०७३
कुवेर गिरि काठमाडौं– सहिद दिवसका दिन । एमाले अध्यक्ष तथा पूर्वपप्रधानमन्त्री केपी ओली माइतीघर मण्डलामा देखिए । कार्यक्रम थियो – सहिद दिवसको अवसर पारेर काठमाडौंको माईतीघर मण्डलामा १० मिटर अग्लो तथा साँढे ७ मिटर लामो राष्ट्रिय झण्डा फहराउने । सहिद दिवसमा यो कार्यक्रमको आयोजक चर्चित संस्था चाहिँ होइन । ‘नेपाली देशभक्त युवा समाज’ जुन नामै नसुनिएको संस्था । तर, ओली चाहिँ प्रमुख अतिथि भएर गए । ओलीसँगै यो कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरेले झण्डा फहराएका थिए । माइतीघर मण्डलामा १० मिटर अग्लो तथा साँढे ७ मिटर लामो राष्ट्रिय झण्डा फहराउने विषय मिडिया र त्यो बाटो भएर हिँड्नेहरुका लागि रुचिको विषय थियो । मिडिया कभरेज पनि राम्रै भयो । तर, ओली सहभागी यो कार्यक्रमको फिल्म सुटिङ भैरहेको छ भन्ने चाहिँ मिडिया थाहा पाएनन् । फिल्म युनिटले पनि मिडियासँग बचेर दृष्य कैद गर्यो ।

माइतीघरबाट ओली र घिमिरेले सार्वजनिक गरे ‘इतिहासकै ठूलो झण्डा’

कार्यक्रममा ओलीले आफनो पार्टीले राष्ट्रवादी अडान लिएको उल्लेख गर्दै त्यसमा अन्य दलहरुलाई पनि साथ दिन आग्रह गरेका थिए । उनले जनता राष्ट्रवादी भएको र केही संकीर्णवादीहरुले देशलाई नोक्सान पु¥याउन खोजेको भन्दै आक्रोश पनि व्यक्त गरेका थिए । नेपाली युवाहरुमा देशभक्तिको भावना जागृत भइसकेको भन्दै खुसी पनि व्यक्त गरेका थिए कार्यक्रममा ।

देख्दा नियमित र स्वभाविक लाग्ने यो कार्यक्रम चाहीँ भिन्दै प्रयोजनका लागि आयोजना गरिएको थियो । सुन्दा अचम्म लाग्छ । तर, सत्य यही हो । कार्यक्रम फिल्मको स्क्रिप्टककै भाग थियो । त्यही कारण चर्चामा नआएको संस्था कार्यक्रमको आयोजक बनाइएको थियो । अहिले ‘राष्ट्रवादी’ नेताका रुपमा एमालेभित्र ओलीलाई प्रचार गरिएको छ । र यही मौकामा ओलीलाई ‘राष्ट्रवादी’ नेताका रुपमा प्रस्तुत गर्न फिल्म बन्दैछ । फिल्ममा चाहिने केही दृष्यका लागि ओलीलाई कार्यक्रममा सहभागी बनाइन्छ । अहिले ओलीमाथि बन्न थालेको फिल्म हो – रातो सूर्य, जसको शुभ मुहर्त मंसिर २८ मा भएको थियो । शुभ मुहर्त गर्न पुगेका ओली मेकअपसहित फिल्मी शैलीमा कार्यक्रमको मध्यभाग उपस्थित भएका थिए ।

केपी ओलीको जीवनमा आधारित ‘रातो सुर्य’को मुर्हत

ओली आफैले अन्तर्वार्ता दिँदै मुर्हत सट दिएका थिए, जसको निर्देशन एमाले नेता प्रदीप ज्ञवालीले गरेका थिए । र्काक्रममा सचिव ज्ञवालीले केपी ओलीको जीवन तीन घण्टाको फिल्ममा देखाउन नसकिने भन्दै बाल्यावस्था, जेल जीवन र उनले प्रधानमन्त्री हुँदा बाँडेका सपनालाई चलचित्रमा नछुटाउन नै आग्रह गरेका थिए ।

झन्डै एक महिनादेखि फिल्म युनिटको क्यामरा ओलीसँगै कार्यक्रममा पुगेको हुन्छ । फिल्ममा १८ देखि ४५ बर्षसम्म उमेरको कलाकारले ओलीको भूमिका निभाउनेछन् भने ४६ देखि अहिलेसम्मको भूमिकामा ओली आफैले अभिनय गर्नेछन् । यो जीवनीपरक फिल्म हो । जसको मुख्य पात्र ओली छन् । पूर्वको आठराइको एक साधारण परिवारबाट उठेको ब्यक्तिका संघर्षका पाटाहरु फिल्ममा समेटिने छ । जसले पहिलेको समाजलाई पनि चिनेको छ र आजको अत्याधुनिक समाजलाई पनि चिनेको छ । सहिद दिवसका अर्को दिन राष्ट्रियतासँग जोडिएको अर्को कार्यक्रममा सहभागी भए ओली । टेकुस्थित पचली पुगेर ओलीले वीर बलभद्र कुँवरको शालिक अनावरण गरे । साढे ५ फिट उचाई र २०० केजी तौलको पित्तलको शालिक अनवरण गरिएको दृष्य फिल्म युनिटले क्यामारमा कैद गर्यो । शालिक बनाइएको कुँवर गोरखाली सेनाका एक क्याप्टेन थिए । र, विस १८१४ मा नालापानीको युद्धमा गोरखाली सेनाको नेतृत्व गर्दै लडेका थिए ।

टेकुमा ठडियो वीर बलभद्र कुँवरको शालिक (फोटोफिचर)

यति मात्र होइन, गत मंसिर २२ मा एमालेसहितका विपक्षीले राजधानीमा शक्ति प्रर्दशन गरेको थियो । भव्य उपस्थिति बनाइएको यो कार्यक्रमबाट पनि फिल्म युनिटले केही दृष्य क्यामारमा कैद गर्यो । सूत्रका अनुसार त्यसदिन ड्रोन क्यामारा प्रयोग गरेर सहभागीहरुको आर्कषक दृष्य कैद गरिएको थियो, ताकि पछि फिल्ममा कथाले मागे अनुसार आवश्यक ठाँउमा जोडन सकियोस् ।

एमालेको शक्ति प्रर्दशनका रोचक १९ दृश्य

फिल्मवारे यस्ता छन् तथ्य

–पुर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीका बिभिन्न पक्षलाई पर्दामा उतार्ने उदेश्यले ‘रातो सूर्य’ नामक फिल्म निर्माण थालिएको हो ।

–केपी ओलीकै अन्र्तवार्ताबाट शुभ–मुर्हत गरिएको फिल्म अहिले बिभिन्न स्थानमा छायाँकन भइरहेको छ ।

–फिल्मको लेखन तथा निर्देशन दीपेन्द्रप्रसाद दाहालको छ ।

–निर्मार्ता चाहीँ पुरन गिरी हुन् ।

–फिल्म तीन घण्टा अवधिको हुनेछ ।

–फिल्ममा विश्व बस्नेत, हरिहर शर्मा, सुरविर पण्डित, टिका पहाडी, धु्रब कोइराला, पवन खतिवडा, र केशव भट्टराईको अभिनय रहने छ ।

–फिल्मलाई विरेन्द्र प्रसाद शाहले छायांकन गरिरहेका छन् ।

–गोविन्द प्रभातले नृत्य तथा सानुकुमार महर्जनको द्वन्द्व फिल्ममा समेटिनेछ ।

–ओलीको १६ बर्षदेखि ४५ बर्षसम्मको भूमिका कलाकार अनुप शर्माले निर्बाह गरिरहेका छन् ।

–४५ बर्ष देखि ६५ सम्मको भुमिकामा ओलीले नै अभिनय गरिरहेका छन् ।

–शुभ मुर्हतमा निर्माणपक्षले फिल्म निर्माणमा दुई करोड बढी खर्च हुने बताएका थिए ।

फिल्ममा कुन–कुन घटना रहन्छन्

–आठराइको समाजमा जन्मिएका ओलीले सो समाजलाई भोग्दै त्यहाँबाट बसाईसराई गरेर झापा झरेपछिका विषय छन् ।

–राजनीतिमा लागेर २०२९ सालको नेपाल कम्न्युष्ट पार्टीको जिल्ला सचिव भएदेखिको आजसम्मको घटना फिल्मभित्र रहनेछ ।

–सुखानी घटना, राजनीतिमा लाग्दै गर्दा रौतहटबाट जेल परेको, जेलमा पाएको यातान, जेलमा उनले गरेका अध्यानका बिषय फिल्मका भाग हुनेछन् ।

–जीवन अगाडि बढाउन देखेका सपना, स्वस्थ्य समस्या, बिबाह पछिको प्रेमकथा, एमालेको नेतृत्व आउँदाको संघर्ष पनि फिल्ममा आउनेछ ।

–प्रधानमन्त्री हुदाँ बाँडेका सपना र आफैले नेतृत्व गरेको बहुमतको सरकार बनाएर ती बिकास सपनामा पुरा उनले गरेको अहिलको पहल फिल्ममा रहनेछ ।

फिल्म निर्देशक दीपेन्द्रप्रसाद दाहालको अन्तर्वार्ता

फिल्ममा ओलीज्यूको भुमिका के छ ?

पचास बर्षको उमेर पछि राष्ट्रिय राजनीतिका उहाँले निर्बाह गरेको भुमिका फिल्ममा ओली आफैले अभिनय गर्नुहुनेछ ।

माईतीघर मण्डलामा १० मिटर अग्लो तथा साँढे ७ मिटर लामो राष्ट्रिय झण्डा फहराइयो, सोमबार टेकमा वीर बलभद्र कुँवरको शालिक पनि अनावरण गरिएको छ । ती विषय पनि समेटनुहुन्छ ?

झण्डा फहराइएको फिल्म भित्र रहन सक्छ । अरु अहिले हामीले कलेक्सन गरेका मात्र हौँ । हुनत ओलीका बिषयमा जुनै समयमा पनि लिएका बिषयबस्तु फिल्म भित्र रहन सक्छ । तर, अहिले हामीले उहाँलाई फलो गर्नुको कारण चाँही उहाँको शैलीलाई अझै नजिकबाट नियाल्ने र त्यसलाई फिल्म भित्र अझै ब्यवस्थित गर्ने कामका लागि हो ।

अर्काे कुरा, ओलीलाई राम्रा बिम्बहरु प्रयोग गर्ने राजनेताको रुपमा चिनिन्छ । साहित्यमा त बिम्ब प्रयोग हुन्छ । ओलीले त्यो भन्दा पनि बेजोडको बिम्ब राजनीतिमा प्रयोग गर्नुहुन्छ । उहाँले आफ्नो कुरा बुझाउन बिम्ब प्रयोग गर्नुुहन्छ । उहाँको बिम्ब कुन तहसम्म आउछ भन्नका लागि म पछि लागेको हो ।

अहिलेसम्म कहाँ कहाँ खिचिएको छ फिल्म ?

अहिलेसम्म गौर र इनरबारीमा खिचिएको छ । मिडियाको बीचमै मुर्हतमा पनि खिचिएको छ । मध्यतराइको आठ जिल्लामा त्यहाँको कुप्रथाको बारेमा खिचिएको छ । फिल्मको मुल दृश्य चाहीँ फागुनबाट मात्र सुरु हुन्छ ।

ओलीसँग अन्य पात्रका रुपमा को–को जोडिन्छन् ?

इतिहास हेर्न हो भने केपी ओलीसँग नजिकमा रहेका पात्र राधाकृष्ण मैनाली, झलनाथ खनाल लगायत छन् । ती सबै पात्र आउँछन् ।

फिल्म कहिले तयार हुन्छ ?

आगामी बर्षको दशै अगाडि फिल्म तयार गर्ने लक्ष्य हो मेरो । प्रदर्शनमा तिहारको सेरोफेरोमा आउँछ ।

फिल्मको कथाका लागि ओलीसँग कति बस्नु भयो ?

–त्यसको हिसाव नै छैन । कति बसियो बसियो ।

फिल्म निर्माण गर्न थालेपछि कस्तो प्रतिक्रिया पाउनुभएको छ ?

–धेरैले च्यालेन्ज दिइरहेका छन् । तपाईंले यस्तो ब्यक्तिको बिषयमा फिल्म बनाइरहनु भएको छ । बिगार्नु होला नि । बीर गणेशमान र स्वस्थानी जस्तो बिग्रेला है भन्ने गरेका छन् । नेपालमा यस्तो फिल्म बनाएर कसैले जस पाएका छैनन् । राम्रो काम गर्नु होला भन्ने गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप