बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

पूँजीगत खर्च बढाउन योजना तर्जुमा पुनर्विचार गर्नुपर्ने

मङ्गलबार, १८ माघ २०७३, १७ : १८
मङ्गलबार, १८ माघ २०७३

काठमाडौ–अर्थ मन्त्रालयले पूँजीगत खर्च बढाउन योजना तर्जुमा नै पुनर्विचार गर्नुपर्ने आवश्यक्ता औल्याएको छ । अर्थ मन्त्रालयमा चालू आर्थिक वर्षको बजेट कार्यान्वयनबारे समिक्षा गर्न आयोजित कार्यक्रममा बोल्दै अर्थ मन्त्रालयका सचिव शान्तराज सुवेदीले योजना तर्जुमा पुनर्विचार नभए पूँजीगत खर्च बढाउन नसकिने स्पष्ट पारे ।

उनले चालू आर्थिक वर्ष ६ महिनाको पूँजीगत खर्च निराशाजनक रहेको उल्लेख गर्दै समस्या समाधानका लागि योजना तर्जुमामा पुनर्विचार गर्नुपर्ने आवश्यक्ता रहेको बताए ।

उनले भने, ‘राष्ट्रिय गौरवकै आयोजनाको पुस मसान्तसम्मको पूँजीगत खर्च १२ प्रतिशत रहेको छ, राष्ट्रिय गौरवको आयोजना बुढि गण्डकी जलविद्युत आयोजनाको पूँजीगत खर्च ० दशमलव ४७ प्रतिशत मात्रै रहेको छ यस्तो अवस्था आउनु भनेको योजना तर्जुमामा नै त्रुटि छ भन्ने हो ।’

विभिन्न मन्त्रालयका सचिवहरुसहितको समिक्षात्मक बैठकमा अर्थ मन्त्रालयले पूँजीगत खर्च नभएपनि थप बजेटको काम भने धान्नै नसक्ने गरी आएको पनि जनाएको छ । सचिव सुवेदीले १२ प्रतिशत पनि पूँजीगत खर्च गर्न नसकेका १६ वटा मन्त्रालयले १ सय १५ अरव थप बजेट मागेको जानकारी गराउँदै यसबारे पुनर्विचार गर्न सम्बन्धित मन्त्रालयहरुलाई निर्देशन पनि दिए ।

अर्थ मन्त्रालयले पोखरा दोस्रो अन्तराष्ट्रिय विमानस्थल जस्ता राष्ट्रिय गौरवको आयोजनाको समेत पूँजीगत खर्च हुन नसकेको पनि उल्लेख गरेको छ । राष्ट्रिय गौरवकै आयोजनाहरुको पूँजीगत खर्च निराशाजनक हुनु अर्थतन्त्रका लागि उत्साहजनक सूचकांक नभएको पनि उल्लेख गरिएको छ । सरकारले चालू आर्थिक वर्षका लागि १० खरव ४८ अरव बराबरको पूँजिगत खर्चका लागि बजेट छुटयाएको छ ।

छलफलमा भाग लिँदै विभिन्न मन्त्रालयका सचिवहरुले पूँजीगत खर्च हुन नसक्नुका कारणबारे आन्तरिक रुपमा समिक्षा गर्ने प्रतिवद्धता जनाएका थिए ।

कार्यक्रममा बोल्दै उपप्रधान तथा अर्थ मन्त्री कृष्णबहादुर महराले पूँजीगत खर्च अपेक्षा अनुसार नहुनुको कारण तत्काल खोजी गर्न मातहतका मन्त्रालयलाई निर्देशन दिए । महराले काम गर्ने शैलीमा परिवर्तन गर्न कर्मचारीहरुलाई सचेत समेत गारए ।

अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष भित्र पूँजीगत खर्च ८० प्रतिशत पु¥याउने लक्ष्य लिएको छ । सरकारले लिएको लक्ष्य अनुसार अघि बढन कर्मचारीहरुको काम गर्ने सोच र शैलीमा परिवर्तन आउनुपर्ने अर्थ मन्त्री महराको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप