बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

कोस्टा पेनाल्टीमा चुक्दा चेल्सी लिभरपुलसँग रोकियो, आर्सनल पराजित

बुधबार, १९ माघ २०७३, ०९ : ३५
बुधबार, १९ माघ २०७३

लण्डन – खेलको अन्त्यतिर डिएगो कोस्टाले पेनाल्टीलाई गोलमा परिणत गर्न नसक्दा चेल्सी एनफिल्डमा बराबरीमा रोकिएको छ ।

बराबरीपछि पनि चेल्सीले शीर्ष स्थानमा ९ अंकको अग्रता भने कायम राखेको छ ।

डेभिड लुइजले पहिलो हाफमा २५ यार्ड टाढाबाट फ्रिकिकबाट गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । लिभरपुलका गोलकिपर डिफेन्डरलाई मिलाउन व्यस्त रहँदा उनले गरेको प्रहार गोलमा परिणत भएको थियो ।

तर, दोस्रो हाफ शुरु भएको ११ मिनेटमा नै जर्जिनियो विज्नाल्डमले गोल गर्दै लिभरपुललाई बराबरीमा ल्याए ।

खेल सकिन १४ मिनेट बाँकी छँदा जोएल माटिपले कोस्टालाई लडाएपछि चेल्सीले पेनाल्टी पायो । तर, लिभरपुलका गोलकिपर साइमन मिन्योलेले पहिलो हाफको गल्ती सुधार गर्दै पेनाल्टी रोके । उता, लिपरपुलका रोबर्टो फर्मिन्होले दुईवटा सुन्दर अवसर गुमाएका थिए ।

योसँगै लिभरपुलको घरेलु मैदानमा लगातार तीन हारको श्रृंखलामा पूर्णविराम लागेको छ ।

२३ खेलपछि चेल्सीको ५६ अंक रहेको छ लिभरपुल ४६ अंकसहित लिगको चौँथो स्थानमा रहेको छ ।

उता दोस्रो स्थानमा रहेको आर्सनल आफ्नो घरेलु मैदानमा वार्टफर्डसँग २–१ ले स्तब्ध बनेको छ ।

पहिलो हाफमा ३ मिनेटको अन्तरालमा आर्सनलले दुई गोल खाएको थियो ।

योनिल काबाउल र ट्रोय डेनीले गोल गर्दै वार्टफर्डलाई अप्रत्यासित २–० को अग्रता दिलाए । खेलको दोस्रो हाफमा एलेक्स इवोबीले एक गोल फर्काएपनि आर्सनललाई हारबाट जोगाउन सकेनन् ।

सन् १९८८ पछि वार्टफर्डले पहिलो पटक आर्सनललाई हराएको हो ।

पराजयपछि आर्सनल तेस्रो स्थानमा खस्केको छ ।

टोटनहम हटस्पर्स सन्डरल्याण्डसँग गोलरहित बराबरी खेल्दै लिगको दोस्रो स्थानमा उक्लेको छ ।

डिफेन्डिङ च्याम्पियन लेस्टर सिटी भने बनर्लीसँग पराजित हुँदै आफ्नो खराब फर्म जारी राखेको छ । १२ औँ पराजयसँगै लेस्टर रेलिगेसन क्षेत्रभन्दा मात्र ३ अंकले माथि रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप