बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

३३ किलो अवैध सुनको भित्रि कथा : लण्डन पढेका युवाको चिन्ताले शुरु भयो अनुसन्धान

बुधबार, १९ माघ २०७३, ११ : १४
बुधबार, १९ माघ २०७३

काठमाडौं – तीन महिनाअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका डिआइजी नवराज सिलवाललाई एक अपरिचित युवाले टेलिफोन गरेर भने, ‘मसँग महत्वपूर्ण सूचना छ, तपाईसँग भेट्न चाहन्छु ।’

‘लण्डन स्कूल अफ इकोनोमिक्स’ मा पढेर नेपाल फर्केका युवाले तेस्रो पटक फोन गरेपछि सिलवालले उनलाई सिआईबी हेडक्वार्टर महाराजगञ्ज बोलाए ।

लण्डनमा आकर्षक जागिरको अवसर लत्याएर नेपालमै केही गर्न भनेर फर्केका ती युवाले पहिलो भेटमा सिलवाललाई भने, ‘हाम्रो देशमा ठूलो परिमाणमा अवैध सुन आईरहेको छ !’

सिलवालले सोधे, ‘कहाँबाट आउँछ चीनबाट ?’

‘केरुङतिरबाट थोरै आउँछ, तर त्रिभुवन विमानस्थलबाट धेरै मात्रामा सुन आइरहेको छ ,’ उनले उत्तर दिए ।

ती युवाले निर्धक्क बोलेको देखेर सिलवालले फेरि सोधे, ‘के आधारमा भन्नुभो तपाईले कि अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा सुन भित्रिरहेको छ ?’

‘हरेक दिनको आर्थिक विष्लेषण हेर्छु, आर्थिक अवस्था डामाडोल हुँदै गएको छ’ ती युवाले भने, ‘रेमिट्यान्स विदेशतिरै ब्लक हुन थाल्यो नेपालमा डलर छैन, मेरो अनुसन्धानले भन्छ यहाँ सुनको कारोबार मौलाइरहेको छ मुलुक टाट पल्टने भो !’

उनले सिलवालसँग छुट्नुअघि भने, ‘यसलाई तपाईले सिरिएस्ली हेर्नुहोला, तपाईप्रति मेरो भरोसा छ ।’

यत्ति भनेर उनी हिँडे ।

‘त्यसको भोलिपल्टबाट मैले अवैध सुनबारे अनुसन्धान गर्न थालेँ’, सिआईबीका प्रमुख (डिआईजी) नवराज सिलवालले भने, ‘बेला–बेला एयरपोर्टमा गएर हेर्न थाल्यौं, लामो समय एयरपोर्टमा हेरेपछि एउटा सूचना आयो, दुबईबाट सुन आउँछ ।’

कुन देशबाट अबैध सुन आउने गरेको छ भन्ने पत्ता लगाउन सिआईबीलाई झण्डै तीन महिना लागेको थियो ।

त्यसपछि सिलवालले दुवईमा भएका आफ्ना साथीहरुले लिस्ट हेरे, त्यहीँ लिस्टमा थिए, दुवई प्रहरीका एक सिनियर अफिसर । उनलाई कल गरेर सिलवालले भने, ‘सानो काम छ, अनुकुलता मिलाएर केही दिनमा दुवई आउँछु ।’ दुवईका अफिसरले ‘स्वागत छ’ भनेसँगै सिलवाल दुवई उड्ने प्लानमा थिए ।

एकदिन पत्रकार तथा रंगकर्मी दिनेश डिसी सिआईबी मुख्यालय पुगेर सिलवाललाई कान्तिपुर एफएममा अन्तर्वार्ताको लागि प्रस्ताव गरे ।

सिलवालले भने, ‘अन्तर्वार्ता गर्ने भए यसै हप्ता गरौं, अर्को हप्ता मेरो दुबई जानुपर्ने छ ।’

दिनेश डिसीले आफुपनि अर्को साता नेफ्टा अवार्डका लागि दुवई जाने कुरा सुनाए ।

सिलवालले सोधे, ‘ए होर ? त्यो अवार्डमा अरु कोही गेष्ट लाने कार्यक्रम छैन ?’

नाफ्टा अवार्डमा सिलवालले पाहुना बनेर जाने इच्छा ब्यक्त गरेपछि डिसीले भने, ‘तपाईँ जाने भए कुरा गर्छु ।’

भोलिपल्ट नेपाल चलचित्र संघका अध्यक्ष पुष्कर लामा र दिनेश डिसी सिआईबीमै पुगेर नाफ्टामा सहभागी हुनका लागि निम्ता दिए ।

‘यसरी नेपाल चलचित्र संघकै कष्टमा दुवई जाने योजना बन्यो’ सिलवालले भने, ‘त्यसपछि आईजी सापसँग ४ दिनको बिदा लिएर दुबई हिँडे ।’

नाफ्टा अवार्डमा सामेल भएर सम्मान खानु मात्रै उनको उद्देश्य थिएन, त्यहाँ उनले दुवई प्रहरीमा कार्यरत आफ्नो साथीसँग भेटे ।

साथीलाई भेटेर सिलवालले दुबई हुँदै नेपाल जाने सुनको सुचना दिएर सहयोग गर्न आग्रह गरे । ति प्रहरी अफिसरले सिलवाललाई मिठाई खाँदै गर्न आग्रह गरे, अनि दुवाई प्रहरीको इन्टिलीजेन्सलाई आफ्नो कार्यकक्षमा बोलाए ।

इन्जेलीजेन्सले नेपालतिर जाने सुनको सूचना दिने बचन दिएसँगै नम्बर साटासाट गरेर गएको डिसेम्बर २६ मा सिलवाल स्वदेश फर्किए ।

नेपाल फर्केको केही दिनमै सिलवाललाई म्यासेज आयो, ‘एयर अरेबियाको उडानबाट एउटा मान्छे सुन लिएर आउँदैछ ।’

दुवईको इन्टिलीजेन्सले नाम र सुन ल्याउनको फोटो समेत खिचेर पठाएपछि सिआईबीको प्रहरी टोली हतार–हतार एयरपोर्ट पुग्यो । जहाजको मेनुफेस्टोमा मान्छे देखियो तर त्रिभुवन विमानस्थलमा त्यो मान्छे ओर्लिएन् । प्रहरी निराश भएर फर्कियो । ‘त्यसको एक सातापछि गएको जनवरी ४ मा हामीलाई अर्को एसएमएस आयो’ सिलवाल भन्छन्, ‘शारजाहाबाट उडेको एयर अरेबियाको फ्लाईटबाट दुईओटा लगेजमा ठूलो परिमाणमा सुन छ ।’

प्रहरी टोली तत्काल मुभ भैहाल्यो । गत पुस २० गते राती ९ बजे जहाज ल्याण्ड भयो । जहाज ल्याण्ड भएको करिव ५० मिनेटपछि सूचनामा उल्लेख भए अनुसार दुई जना मान्छे ओर्लिए तर लगेज आएन ।

सूचना परिपक्व भएकाले सिआइबीका प्रहरीले दुवईबाट आउने दुई जनालाई फलो गर्न थाले । त्यो रात उनीहरु कोटेश्वरको एक घरमा गएर सुते, प्रहरी रातभर उनीहरुको चियो गरेर बस्यो ।

भोलिपल्ट विहान १० बजेतिर (२०७३ पुस २१ गते) उनीहरु कोटेश्वर बाट एयरपोर्टतिर लागे । सादा पोशाकको प्रहरीले उनीहरुलाई पिछा गरिरहेका थिए ।

एयरपोर्टभित्र उनीहरुले करिव ४ घण्टा बिताए । मध्यान्ह एक बजेर ४० मिनेटमा एकजना लगेज लिएर निस्किए । ति थिए, नेपालगञ्जका गोपाल बहादुर शाही । ट्याक्सीमा सुनले भरिएको लगेज लिएर एयरपोर्टको गोल्डेनगेटबाट आँखा अस्पतालतिर लागेपछि शाहीलाई एसपी मिरा चौधरीको कमाण्डमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लियो ।

सँगै लगेज लिन पुगेका अर्का युवा एयरपोर्टबाटै फरार भए । ‘अर्को युवाको पहिचान भैसकेको छ’ डिआईजी सिवलाल भन्छन्, ‘उसलाई हामीले खोजिरहेका छौं ।’

शाहीसँग सुन रिसीभ गर्न जाँदै गरेका मोरङका दिलबन्धु थापा र धनुषाका सन्तोष काफ्लेलाई प्रहरीले काठमाडौंको गोठाटारबाट नियन्त्रणमा लियो ।

३३ किलो अवैध सुन तस्करी प्रकरणमा हालसम्म ७ जना पक्राउ परेका छन् । उनीहरुमाथी संगठीत अपराधमा अदालतबाट म्याद लिएर अनुसन्धान भईरहेको छ ।

यो सुनकाण्डको कथा यत्तिमै सकिँदैन । सधंै भरिया मात्रै समातेर राजस्व अनुसन्धानमा बुझाउँदै आएको प्रहरीले यसपाला मुख्य साहुलाई नै नियन्त्रणमा लिनेगरी ६० दिन अनुसन्धान गर्ने भएको छ ।

प्रहरी स्रोतका अनुसार काभ्रेका रामहरी कार्की र राजकुमार ढकाल दोस्रो लेयरका मानिस हुन् । सुन मालिकसम्म पुग्दा यो प्रकरणका अझै रोचक कथाहरु बाहिर आउने नै छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप