बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

बैदेशिक रोजगारीमाथि प्रधानमन्त्रीको नजर

बुधबार, १९ माघ २०७३, १६ : ५४
बुधबार, १९ माघ २०७३

काठमाडौं -मंगलबार अपरान्ह प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा सात वर्षदेखि साउदी अरबको जेलमा परेर निर्दोष भई छुटेका १० जना युवाले प्रधानमन्त्री प्रचण्डलाई भेटे ।

सात बर्षसम्म विना अपराध कैदी जीवन विताएर डेढ महिनाअघि नेपाल फर्किएका उनीहरुले आफूले पाएको हन्डर र दुःख प्रधानमन्त्रीलाई सुनाँउदै आफूहरुलाई उचित क्षतिपूर्ति दिलाउन आग्रह गरे ।

सात वर्षअघि भारतीय नागरिकको अकस्मात मृत्यु भएपछि हत्या भएको आशंकाका भरमा उनीहरु साउदी अरबको जेलमा परेका थिए । ११ जनामध्ये एकजनाको जेलमै मृत्यु भएको थियो ।

जेद्दा बराइमान जेलमा परेका नवलपरासीका कृष्णबहादुर दमाई, रुपन्देहीका भक्तबहादुर दर्जी, रसुवाका सोम तामाङ, धादिङका रामबहादुर तामाङ, तनहूँका केशबहादुर नेपाली, भोजपुरका श्रीकुमार राई, ओखलढुङ्गाका बीरबहादुर बुढाथोकी, झापाका दिपेन शेर्मा, मोरङका चक्रबहादुर गुरुङ र मोरङका भीमप्रसाद चिमोरियाले प्रधानमन्त्रीसँग भेट गरेका हुन् ।

पीडितहरुले साउदी जेलभित्रै मृत्यु भएका झापा मधुबनका उमेश श्रेष्ठको मृत शरीर नेपाल ल्याउने व्यवस्था गर्न र परिवारलाई राहतको व्यवस्था गर्न प्रधानमन्त्रीसँग आग्रह गरे ।

अदालतले निर्दोष सावित गरेपछि प्रधानमन्त्री कार्यालय र नेपाली दूताबासको सहयोगमा डेढ महिनाअघि उनीहरु नेपाल फर्किएका थिए ।

उनीहरुले साउदी अरबस्थित नेपाली दुताबासले पर्याप्त पहल नगरेका कारण आफूहरुले अनाहकमा सात बर्ष जेल जीवन जिउनु परेको भन्दै ती कर्मचारीलाई कारबाही गर्न समेत माग गरे ।

जेलबाट छुटेका नेपालीहरुसँगको भेटमा प्रधानमन्त्रीले भने :

–मेरो नेतृत्वमा सरकार बनेपछि मैले बिदेशमा रहेका नेपालीहरुलाई के गर्न सकिन्छ भनेर आफ्नो ठाउँबाट प्रयास गरिरहेको छु ।

–बिदेशी जेलमा रहेका नेपालीहरुको तथ्याङ्क संकलन, सीड मनीको व्यवस्था, कम्पनी टाट पल्टिएर बेरोजगार भएका नेपालीहरुको उद्दार, विदेशमा काम गर्ने नेपालीहरुका लागि म्यादी जीवन बीमाजस्ता व्यवस्था सरकारले गरिसकेको छ । –तपाईहरुलाई राहत उपलब्ध गराउन सरकार सकारात्मक छ, यसबारे म आवश्यक कुरा गर्छु ।

–तपाईहरु निर्दोष भएका कारण साउदी सरकारसँग पनि कुटनीतिक पहल गरेर राहत उपलब्ध गराउने कोशिस हुनेछ ।

–कर्मचारीको लापरवाहीका कारण तपाईहरुले दुःख पाएको भए त्यसबारे पनि समीक्षा गरिन्छ ।

–साउदीमा भएको मृत शरीर नेपाल ल्याउन र परिवारलाई राहतका लागि म सम्वेदनशील छु ।

बैदेशिक रोजगारीका क्षेत्रमा के गरे प्रधानमन्त्रीले ? गत साउन २० गते प्रधानमन्त्रीको पदबाहाली गरेलगतै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ४८ बुँदे प्रतिबद्धता जनाएको थिए । घोषणा गरेको प्रतिबद्धता अन्र्तगत २२ र २३ नंबरको बुदामा बैदेशिक रोजगारीका बिषय थिए । प्रधानमन्त्री बने लगतै उनले बैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन सरकारले विषेश योजनाका साथ काम गर्ने भन्दै संसदमाफर्त योजना सार्वजनिक गरेका थिए । बैदेशिक रोजगारीको बिषयलाई संम्बोधन गर्दै उनले नेपाल रेमिट्यान्सले चलेको बताँउदै सरकारले बैदेशिक रोजगारीका क्षेत्रमा निम्न काम गर्ने प्रतिबद्धता जनाएका थिए :

– वैदेशिक रोजगारीमा अलपत्र परेकाहरूको अभिलेख संकलन गरिरहेको छ र उद्धार अभियान सुरु भइसकेको ।

–विदेशी जेलमा रहेकाहरूलाई कानुनी उपचारका लागि दूतावासहरूले सहयोग गर्ने वातावरण बनाइने ।

–विदेशका अस्पतालहरूमा अलपत्र परेकाहरूलाई परिवारको सहमतिमा स्वदेश फर्काउन तत्काल अभियान सुरु गरिने ।

–‘ब्लड मनी’ तिर्नुपर्नेहरूका हकमा सरकारले हरेक व्यक्तिलाई पाँच लाख बीज रकम (सिड मनी) राखिदिने र बाँकी पैसाका लागि देश–विदेशमा रहेका नेपालीहरूसँग सहयोगको आव्हान गर्ने नीति लिइने ।

–खाडी र मलेसियाका नेपालीहरूले पासपोर्ट लिँदा तिर्नुपर्ने शूल्क ८० डलरबाट घटाएर ५० डलर गरिएको ।

–वैदेशिक रोजगारमा संलग्न कामदारहरूलाई उनीहरू कार्यरत मुलुकमै श्रम स्वीकृति र पुनर्विमा नवीकरण गर्ने व्यवस्था मिलाइने ।

–वैदेशिक रोजगारीमा गएकाहरूको समस्या, गुनासो र उजुरी सुन्न चौबीसै घन्टा खुला हुने कार्यालयको व्यवस्था मिलाइने ।

–वैदेशिक रोजगारसम्बन्धि उजुरीलाई फास्ट ट्रयाकबाट सम्बोधन गरिने छ। विमानस्थल र विमानस्थल बाहिर व्यहोर्न पर्ने सास्ती घटाउन विमानस्थलदेखि नयां वसपार्कसम्म लगेज राख्न मिल्ने गरी निश्चित समयमा गुड्ने ठूला बस सेवा सञ्चालनमा ल्याइने ।

–मृतकका परिवारलाई अहिले दिइँदै आएको क्षतिपूर्ति रकम रु. पाँच लाखमा रु. दुई लाख थपेर रु. सात लाख पु¥याइने छ ।

कति कार्यान्वयन भए घोषणा ? प्रधानमन्त्रीको सपथ खाएसँगै उनले गरेको घोषणा मध्येका धेरै बिषयहरुलाई उनले ब्यवहारमा उतार्ने प्रयास गरेका छन् । बैदेशिक रोजगारीका क्रममा भएका समस्या फास्ट ट्रयाकमा सम्बोधन तथा समन्वय गर्नका लागि उनले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा छुट्टै डेस्कको समेत व्यवस्था गरेका छन् । यो क्षेत्रका समस्याको तुरुन्त सुनुवाईका लागि प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहाकार डा. ऋषीराज अधिकारीलाई जिम्मेवारी दिइएको छ । गत माघ ११ गते प्रधानमन्त्री प्रचण्डले बैदेशिक रोजगारीमा गएकाहरुलाई राहत प्रदान गर्ने उद्धेश्यले १५ बुँदे महत्वपूर्ण घोषणा गरेका छन् । उनले बिदेशमा नेपाली कामदारको मृत्यु भएमा परिवारले पाउने १० लाख क्षतिपूर्तिलाई बढाएर दोब्बर पारी २० लाख सम्म पाँउने ब्यवस्थाको घोषणा गरेका हुन् ।

प्रधानमन्त्रीको घोषणाको मुख्य बिषय यी थिए– –माघ १५ गतेबाट लागू हुने गरी बैदेशिक रोजगारमा गएका नेपाली कामदारको बीमा सुविधामा विस्तार गरी कामदारको स्वास्थ्य बीमातर्फ साविकको सुरक्षा तथा सुविधालाई विस्तार गरी जीवन बीमा, आयको नोक्सानी लगायतका सुविधाहरुका अतिरिक्त मृगौला फेल, क्यान्सर जस्ता बिभिन्न १५ प्रकारका घातक रोग बापत थप ५ लाख बीमा । यो व्यवस्था पछि कामदारले सम्बन्धित बीमा कम्पनीबाट २० लाखसम्म बीमा रकम पाउन सक्ने । –बैदेशिक रोजगारमा रहँदा मृत्यु भएका मृतकका परिवारलाई साविकमा दिइँदै आएको क्षतिपूर्ति रकम रु. तीन लाखमा रु. ४ लाख थपेर रु. सात लाख पु¥याइने घोषणा गरेअनुसार बैदेशिक रोजगार नियमावली २०६४ संशोधनको प्रक्रियामा । उक्त संशोधनबाट बैदेशिक रोजगारको क्रममा दुर्घटनामा परी उपचार गर्न वा जीवन गुमाउने नेपाली कामदारलाई दिइने आर्थिक सहायतामा साविक रु. ३ लाखमा रु. ४ लाख बृद्धि गरी रु. ७ लाख पु¥याइने । यसरी थप हुँदा कामदारले पाउने रकम रु. २७ लाखसम्म पुग्ने ।

–मृगौला फेलर, क्यान्सर जस्ता बिभिन्न १५ प्रकारका घातक रोग लागेमा तत्काल क्षतिपूर्ति पाउने गरी थप ५ लाखको बीमा हुने ब्यवस्था मिलाइएको ।

–घातक रोग लागी मृत्यु नभएको तर शारीरिक रुपले मृत्युसरह मानिने अवस्था प्रमाणित भएमा क्रिया खर्च र शव ल्याउने खर्च बाहेक बीमाबाट १३ लाखसम्म, बैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट ३ लाख र घातक रोगबापत ५ लाख गरी कुल १८ लाखसम्म प्राप्त हुने व्यवस्था ।

भारत जाने पनि पहिलोपटक बैदेशिक रोजगारीको सूचिमा

यसअघि भारत जाने नेपाली कामदारको कुनै अभिलेख नराखिने तथा बिमा र क्षतिपूर्ति जस्ता सुविधाको व्यवस्था नभएपनि प्रधानमन्त्री पचण्डले पहिलोपटक भारत जाने कामदारलाई पनि बैदेशिक रोजगारीको परिभाषा भित्र राखेर अनिवार्य विमाको व्यवस्था गरे ।

–फागुन १ गतेबाट लागू हुने गरी बैदेशिक रोजगारको लागि अन्य देश जाने नागरिकसरह भारत जाने नागरिकलाई पनि घातक रोग वापत ५ लाख, जीवन बीमा वापत ७ लाख ५० हजार र बोर्डबाट अधिकतम् १ लाख ५० हजार सहित कुल १४ लाखसम्म राहत तथा क्षतिपूर्ति दिइने ब्यवस्था ।

–भारतमा गएर काम गर्ने सबै नागरिकहरुलाई समेत बैदेशिक रोजगारको मान्यता, अन्य देश जाने नागरिकसरह राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन वैदेशिक रोजगार (म्यादी) जीवन बीमा र वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड अन्तर्गतको कल्याणकारी कोषमा सहभागिता गराइने ब्यवस्था । –बीमामा ५ लाख बराबरकै घातक रोगको बीमा समेत समावेश । बीमाङ्ग रकम ७ लाख ५० हजार हुने । त्यस्तै बैदेशिक रोजगार प्रबद्र्धन बोर्डबाट कम्तिमा १ लाख ५० हजार गरी कुल १४ लाखसम्म राहत तथा क्षतिपूर्ति दिइने व्यवस्था । –भारत काम गर्न जाने नागरिकले सम्बन्धित जिल्ला प्रशाशन कार्यालय वा सीमा जिल्लाको जिल्ला प्रशासन कार्यालयबाट काम गर्न जाने अनुमति पत्र अनिवार्य रुपमा बनाउनु पर्ने व्यवस्था । यो अनुमति पत्र दिनुअघि जिल्ला प्रशासन कार्यालयले बीमा र कल्याणकारी कोषमा अनिवार्य सहभागिता गराउनेछ ।

–बैदेशिक रोजगारमा जाने नेपाली कामदारको बीमा अवधिलाई २०७३ साल माघ १५ गतेदेखि नै लागू हुने गरी करार अवधिभन्दा थप एक वर्ष कायम हुने नयाँ ब्यवस्था । यो व्यवस्थाले बीमाबाट नागरिकहरुलाई मध्यपूर्वका कतिपय देशहरुलाई ३ वर्ष र मलेसियालाई ४ वर्षसम्म रक्षावरण गर्नेछ । माघ १५ गतेभित्र बैदेशिक रोजगार नियमावली संशोधन गरी लागू गर्नसमेत श्रम तथा रोजगार मन्त्रालयलाई निर्देशन ।

–मेडिकल फेल भएर फर्किएका नागरिकहरुलाई दाबी गर्ने हद म्याद नराखी पिडितलाई सहजै क्षतिपूर्ति दिलाउन कामदारको मेडिकल गर्ने स्वास्थ्य संस्थाबाट धरौटी लिई सो रकमबाट ४५ दिनभित्र सरकारी निकायमार्फत् नै क्षतिपूर्ति भुक्तान गर्ने व्यवस्था मिलाउन श्रम तथा रोजगार मन्त्रालयलाई निर्देशन ।

–विशेष अवस्थाका (जेल सजाय भोगिरहेका, बिरामी भएको कारण कमाउन नसक्ने अवस्थामा रहेका) नागरिकहरुको बीमा नवीकरण शुल्क सरकारले व्यहोर्ने नयाँ व्यवस्था ।

–खाडी मुलुक तथा दक्षिण कोरीयामा रोजगारीका लागि गएका नागरिकको आम्दानीको आधारमा कल्याणकारी कोषमा रकम राख्ने व्यवस्था मिलाउन निर्देशन ।

–सामान्य अभियोगमा जेल सजाय भोगिरहेका, बिरामी भएको कारण कमाउन नसक्ने अवस्थामा रहेका जस्ता विशेष अबस्थाका नागरिकहरुको बीमा नवीकरण शुल्क सरकारले ब्यहोर्ने ब्यवस्था ।

–मलेसियासहित खाडी मूलूकमा नेपाली कामदार लाने बिदेशी कम्पनी स्वयंले नै व्यहोर्ने गरी कम्तिमा रु. २० लाख नेपाली रुपैया बराबरको चौबीसै घण्टा बिमाको व्यवस्थाका लागि प्रक्रिया अघि बढाइने ।

–मलेसियासहित खाडी मुलूकमा नेपाली कामदार लैजाने विदेशी कम्पनि स्वयंले नै बेहोर्ने गरी रु. २० लाख बराबरको बीमाको व्यवस्था गर्न सम्बन्धित मुलूकसँग कुटनीतिक पहल गर्ने ।

प्रधानमन्त्रीको पहलमा यसरी भयो उद्धार

–गत कार्तिक ३० गते प्रधानमन्त्री प्रचण्डले दुई महिनादेखि साउदी अरेबियाको दमाममा मृत्यु भएका नेपालगञ्ज–४, बाँकेका मोहमद अकबर हलवाईको शव तुरुन्त नेपाल ल्याउने व्यवस्था गर्न परराष्ट्र मन्त्रालयमार्फत् साउदी अरेबियाका लागि नेपाली दूताबासलाई निर्देशन दिए । साउदी अरेबियाका कार्यवाहक राजदूत आनन्द शर्माले हलवाईको शव नेपाल ल्याउन तुरुन्तै प्रक्रिया अगाडि बढाए । –गत मंसीर २ गते एक बर्षअघि बैदेशिक रोजगारीका लागि साउदी अरेबिया पुगी अलपत्र परेका स्याङ्जाका भोजराज आचार्यलाई प्रधानमन्त्रीको सचिवालयले उद्दार गरी नेपाल फर्काएपछि उनले प्रधानमन्त्री प्रचण्डलाई भेटी धन्यवाद दिए । रियादको मुसारी अल्मोसारी कम्पनि बन्द भएपछि उनी अलपत्र परेका थिए ।

– मंसिर ४ गते बैदेशिक रोजगारीको सिलसिलामा साउदीको रियादमा अलपत्र परेका पाँच युवाको प्रधानमन्त्री कार्यालयले उद्दार गरेपछि नेपाल फर्केका पाँच जना युवाहरुले प्रधानमन्त्री प्रचण्डसँग भेट गरे ।

साउदीमा अलपत्र परेका कञ्चनपुरका धनबहादुर मिजार, उदयपुरका राजकुमार बि.क., नवलपरासीका वर्षीय धनबहादुर मगर, गोरखाका यामबहादुर बि.क. र काठमाडौंका अनुप शेर्पाले उद्धारपछि प्रधानमन्त्रीलाई भेटेका हुन् ।

–गत मंसिर ६ गते प्रधानमन्त्री प्रचण्डले दिएको निर्देशनपछि मलेसियामा मृत्यु चगाउँ, कञ्चनपुरका २९ वर्षीय सन्तबहादुर तामाङको शब मंसिर ८ गते काठमाडौं ल्याइयो । २ वर्ष अघि मलेसिया गएका तामाङको मंसीर २ गते अकस्मात् मृत्यु भएपछि प्रधानमन्त्रीको पहलमा उनको शब नेपाल ल्याइएको हो ।

तामाङको शब नेपाल ल्याउने प्रक्रियाका लागि प्रधानमन्त्री कार्यालयले श्रम मन्त्रालय, परारष्ट्र मन्त्रालय र मलेसियाको नेपाली दूताबाससँग समन्वय गरेको थियो ।

–गत माघ २ गते प्रधानमन्त्री कार्यालयको पहलमा मलेसियामा मृत्यु भएका कञ्चनपुरका प्रल्हाद रानाको शब काठमाडौ ल्याइयो ।

–गत माघ ४ गते यूएई भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले त्यहाँका उपराष्ट्रपति मोहमद बिन रसिद अल मक्तोमसँगको भेटमा दुबईको जेलमा रहेका नेपाली कामदार अमरबहादुर बमलाई आममाफी सहित नेपाल पठाउने व्यवस्था गर्न आग्रह गरे । प्रधानमन्त्रीको आग्रहपछि उपराष्ट्रपति मक्तोमले आफूले तत्कालै राजदूतलाई बोलाएर यसबारे प्रक्रिया अगाडि बढाउने जानकारी दिएका थिए ।

प्रधानमन्त्री कार्यालयमा छुट्टै सम्यन्त्र

बैदेशिक रोजगारीका पुगेका नागरिकहरु काम नपाएर अलपत्र परे, दुर्घटनामा परे वा मृत्यु भयो भने तत्काल शब स्वदेश फर्काउनका लागि फास्ट ट्रयाकमा काम गर्न विषेश समयन्त्र बनाइएको छ ।

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहाकार डा. ऋषीराज अधिकारीको नेतृत्वको समयन्त्रले बैदेशिक रोजगारीका क्रममा समस्यामा परेका नेपालीको उद्धारका लागि मातहतका निकायसँग समन्वय गरेर काम गरिरहेको छ । समस्यामा परेका नेपालीहरुले प्रधानमन्त्री कार्यालयमा फोनमार्फत वा उनीहरुका आफन्तले प्रत्यक्ष भेटेर समस्या राख्न सक्ने व्यवस्था मिलाइएको छ । उनीहरुबाट यससम्बन्धी सूचना जानकारी पाउनासाथै प्रधानमन्त्री कार्यालले समस्या समाधानका लागि पहल थाल्ने गर्दछ । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहा

कार डा.ऋषीराज अधिकारी भनछन्– –बैदेशिक रोजगारीमा विभिन्न देशमा पुगेर समस्या भोगेका नेपालीहरुलाई उद्धार गर्नका लागि मेरो समन्वयमा प्रधानमन्त्री कार्यालयमा काम भइरहेको छ । –जसलाई जस्तो समस्या पर्छ, त्यसको जनाकारी आँउनासाथै फास्ट ट्रयाकमा समस्या समाधानका लागि हामीले परराष्ट्र, श्रममन्त्रालय तथा सम्बन्धित विभागहरु सँग समन्वय गरेर समस्या समाधानका लागि पहल गछौँ । –प्रधानमन्त्री कार्यालयमा यतिबेला सामान्यतया दैनिक १५देखि २० ओटा सम्म बैदेशिक रोजगारीसँग सम्बन्धित समस्याहरु आउने गरेका छन् । यस्ता समस्यामा कम्पनी टाट पल्टिएर तलब नपाई अलपत्र परेका, दुर्घटनामा परेर नेपाल फर्कन चाहने, मृत्यु भएर शब अलपत्र परेका समस्याहरु आउने गरेका छन् ।

–सबैभन्दा बढी साउदी अरेबियाबाट समस्या आउने गरेको छ । त्यहाँका धेरै कम्पनी टाट पल्टेको, म्यानपावर कम्पनीले एउटा काम र तलब भनेर अर्कै काममा थोरै तलबमा काम गराएको जस्ता समस्याहरु आउने गरेका छन् । त्यहाँ बस्न नसक्ने र फर्कन चाहनेलाई हामीले मातहतका निकायका साथै कुटनीतिक पहलबाट स्वेदेश फर्काउने ब्यवस्था गर्छौँ ।

–यस्ता खालका समस्याको समाधान श्रम, परराष्ट्र मन्त्रालय तथा मातहतका विभागहरुले गर्ने गरेका छन् । बिशेष खालका समस्या र अपर्झट आइपरेका समस्याहरुलाई समाधान गर्न हामीले पहल गर्ने गरेका छौँ । –बैदेशिक रोजगारीलाई व्यवस्थित बनाँउनका लागि, आइपर्ने समस्याहरु समाधानका लागि यससम्बन्धी निति पुनरावलोकन गर्नका लागि प्रधानमन्त्री कार्यालयले गृहकार्य पनि गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप