बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

चितवनमा तीन वर्षमा सात प्रजातिका चरा थपिए, सङ्ख्या भने घटे

बुधबार, १९ माघ २०७३, १८ : १७
बुधबार, १९ माघ २०७३

चितवन - चितवनको सिमसार क्षेत्रमा चराको प्रजाति थपिँदै गएको छ । तीन वर्षको अन्तरालमा मात्रै यहाँ सात प्रजातिका चरा थपिएको हो ।

चराको बासस्थान राम्रो हुँदै गएकाले यसरी चराको प्रजाति बढ्दै गएको हो । तीन वर्षअघि ४७ प्रजातिका चरा फेला परेकामा हालै गरिएको अनुगमनमा ५४ प्रजातिका चरा भेटिएको बर्ड एजुकेसन सोसाइटी चितवनले जनाएको छ ।

यो वर्षमात्रै चितवनको सिमसार क्षेत्रमा चार प्रजातिको चरा थपिएको छ । अघिल्लो वर्षको अनुगमनमा चितवनको सिमसार क्षेत्रमा ५० प्रजातिका चरा पाइएको थियो । तीन वर्षअघि ४७ प्रजाति भेटिएको थियो । तर यो यसपटकको अनुगमनमा ५४ प्रजातिका चरा भेटिएको बर्ड एजुकेसन सोसाइटीका निवर्तमान अध्यक्ष वासु बिंडारीले जानकारी दिए ।

चराको सङ्ख्या भने घटेको छ । यो पटकको अनुगमनमा पाँच हजार ६५९ वटा पानीमा आश्रित चरा फेला परेको र सिमसार क्षेत्रभरि गरेर कुल १० हजार ३२ चरा गणना गरिएको सोसाइटीका अध्यक्ष टेकबहादुर गुरुङले जानकारी दिनुभयो । अघिल्लो वर्ष सिमसार क्षेत्रमा ११ हजार २६० वटा चरा भेटिएको थियो ।

कुल सङ्ख्या घटेको तर चराको प्रजाति भने वृद्धि भएको पाइएको बर्ड एजुकेसन सोसाइटीको भनाइ छ । गत वर्षको तुलनामा चखेवाको भने राम्रो वृद्धि भएको पाइएको सोसाइटीले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ जसअनुसार चखेवा गएको वर्षमा दुई हजार ४६८ वटा भेटिएकामा यसपटक दुई हजार ९०५ वटाको अभिलेखीकरण गरिएको छ ।

चराको अवस्था र बासस्थानको अवस्था पत्ता लगाउन चितवनमा हालै चरा गणना गरिएको थियो । जिल्लामा चराको सङ्ख्या ६३४ पुगेको छ ।

नेपालमा ८८७ प्रजातिका चरा छन् । नेपालमा पाइने चरामध्ये अधिकांश चितवनमा देखिएकाले यहाँ चरा पर्यटन फस्टाउन सक्ने चराविज्ञ टीका गिरीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप