बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

साठी घर वादी परिवार घरबासविहीन

बिहीबार, २० माघ २०७३, ११ : ३४
बिहीबार, २० माघ २०७३

रुकुम - रुकुमको रुघाँ–२ का खर्के वादीको परिवार सार्वजनिक ठाउँमा बनाएको सानो छाप्रोमा बस्न थालेको करिब ४० वर्ष पुग्यो । आफ्नो घर र घर बनाउनका लागि जमिन नहुँदा ४० वर्षदेखि उनको परिवार सार्वजनिक ठाउँमा बनाएको सानो छाप्रोमा बस्दै आएको छ ।

दैनिक अर्काको काम गरेर जीविका सञ्चालन गर्दै आएका उनले अहिलेसम्म घरबास बनाउन सक्नुभएको छैन । उनीजस्तै जिल्लामा ६० घर वादी परिवार घरबासविहीन रहेका छन् ।

जिल्लाका विभिन्न ठाउँमा बसोबास गर्ने ६० घरधुरी वादी परिवारको आफ्नै घरबास नरहेको पाइएको छ । सरकारले केही समयपहिले जनता आवास कार्यक्रमअन्तर्गत भवन डिभिजन कार्यालय रोल्पाको सहयोगमा ३० घर निर्माण गरिदिएको भएपनि अझै ६० घर परिवारको घरबासका साथै कुनै पनि जमिनजग्गा नरहेको वादी समुदायका अगुवा मनबहादुर वादीले जानकारी दिए ।

जिल्लामा दुईसय आठ घर वादी परिवार रहेको भएपनि अरू बाँकीको सानो भएपनि आफ्नो घरबास रहेको उनले बताए । आफ्नै घरबास नभएपछि ६० घर वादी परिवार विगतदेखि सार्वजनिक ठाउँमा सानो छाप्रो बनाएर बस्दै आएका छन् । केही भने आफन्तको घरमा कोठा भाडामा लिएर बस्नुपर्ने बाध्यतामा रहेको रुघाँ–२ मा बस्दै आएका गोपाल वादीले जानकारी दिए ।

आर्थिक अवस्था कमजोर रहेका कारण वादी परिवारले आफ्नो घरजग्गा बनाउन नसकेको वादी समुदायका अगुवाको भनाइ छ । जिल्लाका आठविसकोट, आठविसडाँडागाउँ, रुघाँ, पिपल, चौरजाहारी नगरपालिका लगायतका ठाउँमा वादी परिवारको बसोबास रहेको छ । दुईसय आठ घरधुरीका वादी परिवारमा आठसय १६ जनसङ्ख्या रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप