बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

वाईसिएलले वैशाख ९ गतेदेखि एकताको राष्ट्रिय सम्मलेन गर्ने, भ्रष्टाचारविरुद्ध संघर्षका कार्यक्रम घोषणा

बिहीबार, २० माघ २०७३, १७ : २४
बिहीबार, २० माघ २०७३

काठमाडौं – नेकपा (माओवादी केन्द्र)को युवा संगठन वाईसिएल नेपालले आगामी वैशाख ९, १० र ११ मा एकताको राष्ट्रिय सम्मलेन गर्ने भएको छ । गत माघ १८ गते बसेको एकता प्रक्रियामा आएका ७ वटा युवा संगठनको एकता बैठकका निर्णय सार्वजनिक गर्न पार्टी मुख्यालय पेरिसडाँडामा आयोजीत पत्रकार सम्मेलनमा उक्त जानकारी गराइएको हो ।

‘वडा, गाउँपालिका, नगर, उपमहानगर तथा महानगरपालिकाका बैठक, भेला, तथा सम्मेलनहरु सम्पन्न गर्दै चैत्रको १५ भित्र जिल्ला सम्मेलनहरु सम्पन्न गरिसक्ने र चैत्र मसान्तासम्ममा प्रदेश सम्मेलन सम्पन्न गरिसक्ने’ पत्रकार सम्मेलनमा वितरण गरिएको वाईसियलको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

बैठकले नेप बहादुर कुवँर ‘विवेक’को संयोजकत्वमा वाइसिएल नेपाल, क्रान्तिकारी युथ लिग नेपाल, जनस्वयंमसेवक सुरक्षा दल नेपाल, युवा जनसुरक्षा वल, नेपाल गौरवशाली युवा संघ, क्रान्तिकारी युवा विङ नेपाल र अखिल नेपाल युवा युनियन गरी सात वटा युवा संगठनका सबै केन्द्रिय सदस्यहरु रहेको ३९९ सदस्यिय वाइसिएल नेपाल राष्ट्रिय एकता सम्मेलन संयोजन समिति बनाएको छ ।

के–के संघर्ष गर्ने छ वाईसिएल ?

वाईसियलले पत्रकार सम्मेलन मार्फत विभिन्न संघर्षका कार्यक्रमहरु पनि घोषणा गरेको छ । वाईसियलले ‘संविधान कायान्वयनको संक्रमणकालिन परिस्थितिमा देशमा राष्ट्रवादका नाममा ओलीको दक्षिणपन्थी अतिवाद र छुट्टै राष्ट्रका आवरणमा सिके अतिवादका विरुद्ध लड्दै मुलुकमा व्यप्त विकृति र विसंगतिका विरुद्द’ यस्ता संघर्षका कार्यक्रमहरु संचालन गर्ने बताएको छ ।

– सरकारी निकायमा हुने व्याप्त्त भ्रष्टाचार निर्मुल गर्नका लागी भ्रष्टाचारीहरुको प्रमाण संकलन गर्ने, सुचि तयार गर्ने र राज्यको सम्बन्धित निकायमा बुझाउने कामको अभियान चलाउने ।

– यसअघिजस्तै राज्य भ्रष्टाचारप्रति उदाशिन रहन गए या राज्यका उपल्ला निकायहरुले ढाकछोप गर्न खोजे त्यसको सशक्त प्रतिवाद गर्ने ।

– समाजमा हुने विभिन्न विकृति, विसंगति तथा समाजविरोधी गतिविधिको नियन्त्रण गर्न हाम्रो संगठन डटेर प्रतिवाद एंव प्रतिरोध गर्नेछ ।

– राजनीतिक युद्धमा भएका दूर्घटनाजन्य घटनाहरुलाई हत्या तथा अपराधसँग दाजेर दोषी ठहर्याउने रबैयाप्रति घोर आपक्ति जनाउँदै तत्कालै यस्ता कार्य नरोकिए देशभरका अदालतहरुमा जनयुद्धकालमा जनताप्रति गरिएको बर्बर घटनामा मूछेर मुद्दा दर्ता गर्ने अभियान संचालन गरिने ।

– अदालतलाई समेत बृहत शान्ति सम्झौताको मर्म विपरित द्धन्दकालिन मुद्धाहरु ब्यूउँताउने कार्य रोक्न सार्वजनिक अपिल गर्ने ।

– युवाहरुलाई विदेश पठाउने भन्दै ठगी गर्ने केही मेनपावर कम्पनिका ठगी प्रकरण, विदेश पठाईसकेपछि गरिने श्रम शोषण तथा एउटा काम र पारिश्रमिक भन्दै अर्को गर्नेका विरुद्ध संगठनले निर्णायक कदम चाल्ने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप