बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

कपिलबस्तुमा आजबाट लाटोकोसेरो उत्सव सुरु

शुक्रबार, २१ माघ २०७३, १० : २९
शुक्रबार, २१ माघ २०७३

कपिलवस्तु–चराचुरुङ्गीको प्रमुख बासस्थान रहेको सीमसार क्षेत्र कपिलवस्तुको जगदीशपुरमा लाटोकोसेरो तथा हुचिल उत्सव सुरु हदैछ ।

नेपालकै सबैभन्दा ठूलो मानव निर्मित ताल जगदिशपुरलाई लक्षित गरी शुक्रबार र शनिबार उत्सव गर्न लागिएको हो । लाटोकोसेरो संरक्षणका लागि ‘प्रकृतिका साथीहरु’ जगदिशपुर जलासय बहुसरोकार मञ्चको संयुक्त आयोजनामा छैठौं लाटोकोसेरो तथा हुचिल उत्सव गर्न लागिएको हो ।

सन् २०१२ मा धादिङबाट सुरु भएको उत्सव यसअघि चितवन, नवलपरासीको अमलटारी, गोरखाको बारपाक र कास्कीको सिक्लेसमा भैसकेको छ ।

लाटोकोसेरो उत्सव अमेरिका, इटाली र नेपालमा मात्रै हुंदै आएको छ ।‘लाटोकोशेरो तथा हुचिल संरक्षणमा हातेमालो गरौं’ भन्ने नारासहित आयोजना गरिएको उत्सवमा लाटोकोशसेरो तथा हुचिलको संरक्षण, फोटो तथा वृतचित्र प्रदर्शनी, रोबोर्ट लाटोकोसेरोको प्रदर्शनी, परम्परागत खेलहरुको प्रवर्द्धन, निशुल्क स्वास्थ्य शिविर लगायतको कार्यक्रमहरु सञ्चालन गरिने उत्सव आयोजक समितिका संयोजक अब्दुल रसिद खाँले जानकारी दिए ।

नेपालमा ८ सय ८७ जातिका चराचुरुंगी पाइनेमा २२ प्रजातीका लाटोकोसेरोहरु रहेका छन् ।

के के हुन्छ उत्सवमा ?

शुक्रबार पहिलो दिन चरा अवलोकन प्रतियोगिता, प्रकृतिको फोटो खिच्ने कार्यक्रम, लाटोकोसेरो सम्बन्धी लघु म्युजियम प्रदर्शनी, स्थानीय लोपोन्मुख खेल रस्सी तान्ने, चिक्का र कुस्ती खेल तथा धारिलो हतियारमा चढेर नाच्ने गडासा नाच देखाइने आयोजकले जानाएको छ । स्थानीय लोपोन्मुख अहिरउवा, धोविहवा र कहरवा नाच तथा थारु, मगर समुदायका नाँचहरु प्रर्दशन गरिने छ ।

त्यस्तै राति लाटोकोसेरोको महत्व दर्शाउने भिडियो प्रदर्शनी गरिने छ । उत्सवको दोस्रो दिन संरक्षण, संस्कृति तथा लाटाकोसेरोको अन्य सामग्री सम्बन्धी प्रदर्शन गरिनेछ । उत्सवलाई जीवन्त बनाउन लाटोकोसेरो सम्बन्धी सास्ंकृतिक कार्यक्रम गरिनेछ । वन विज्ञान अध्ययन संस्थानका विद्यार्थीले लाटोकोसेरो संरक्षण सम्बन्धी नाटक तथा वन्यजन्तु सम्बन्धी नाँच समेत प्रर्दशन गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रममा गहुँको छ्वाली, चुरा तथा माटोबाट बनाइएका लाटोकोसेरो समेत प्रदर्शनीमा राखिनेछन् । ८ वटा लाटोकोसेरोको आवाज सुन्न मिल्ने व्यवस्था मिलाइएको छ । उत्सवमा सहभागी इच्छुकले अनुहार वा नङमा निःशुल्क लाटोकोसेरो तथा हुचीलको पेण्टिङ गर्ने व्यवस्था छ । उत्सवमा लाटोकोसेरोको एक फिट अग्लो रोबोट समेत प्रदर्शनी गरिने छ।

लाटोकोसेरो उत्सव आयोजक उपसमिति संयोजक अब्दुल रसिद खाँले सरकारी निकायबाट पनि सहयोगको प्रतिबद्धता पाएपछि उत्साहित भएर अघि बढेको बताए । प्रकृतिका साथीहरु संस्थाका निर्देशक राजु आचार्यले भने ‘यसले ओझेलमा परेको जगदीशपुरको चरा र पर्यटन विकासमा दरिलो दिगो टेवा पुग्छ । ’ उत्सवको अन्तिम दिन संरक्षणका क्षेत्रमा योगदान दिने ३ जना नेपाली र १ जना बिदेशी गरी ४ जना संरक्षणकर्मीलाई प्रकृति संरक्षण पुरस्कार समेत प्रदान गरिने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप