बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

किसान मौरियाका लागि बनेजस्तो छ पशुपति शर्माको गीत, ‘मलाई अमेरिका यहीँ, मलाई जापान पनि यहीँ’

शुक्रबार, २१ माघ २०७३, १० : ००
शुक्रबार, २१ माघ २०७३

बाँके – ‘मलाई अमेरिका यहीँ, मलाई जापान पनि यहीँ, मलाई बेलायत नि यहीँ.......बोलको गीत वंशीला मौरियाका लागि बनेको हो जस्तो लाग्छ । बाँके हरमनियाका ७१ वर्षीया मौरिया एक किसान हुन् । उनी किसानकै रुपमा गत कात्तिकमा राष्ट्रपति कृषक पुरस्कार प्राप्त गरेका छन् ।

त्यो गाउँमा मात्र होइन, बाँके जिल्लामा उनी किसानका रुपमा परिचित हुन् । ७१ वर्षका उमेरमा पनि उही युवाकै जस्ता हठाकठा र जोशिल छन्, मौरिया ।

मौरियासँग धेरै जमिन पनि छैन । उनीसँग छ विघा जमिन मात्रै छ, जुन तराई मधेशका लागि समान्य कुरा हो । तराई मधेशका किसानसँग पाँच छ विघा जमिन समान्य बनेको छ । मध्यम खालका किसानसँग पनि तीन विघादेखि पाँच छ विघा जमिन हुन्छ तर सबैले त्यसबाट उब्जाउ गर्न सकेका छैन ।

मौरियाले त्यति मात्र जनिमबाट वर्षको १० लाख कमाउँछन् । उनका चारजना छोरा छन् । चार जना छोरी छन् । छोरीहरुको विहे भइसकेका छन् । एकजना छोरा शिवपाल मौरिया हरमनियाँ गाविसमा खरिदार पदमा काम गर्छन् भने अर्को छोरा जयपाल मौरिया हुलाकीको काम गर्छन् । त्यस्तै शिशुपाल मौरिया खेती किसानीमा छन् भने जोगेन्द्रपाल मौरिया अहेव पढेका छन्, उनी गाउँघरमै औषधी उपचारको काम गर्छन् ।

वंशीला मौरियाका चारजना छोरा चारवटै पेसामा भएपनि उनीहरुको सबैको मुख्य पेसा भनेको कृषि नै हो । उनीहरु जहाँ जहाँ जे काम गरेपनि प्राथमिकता कृषिलाई नै दिएका छन् । उनीहरुको आफ्नो कमाईले केही हुँदैन, सबैको भर कृषि नै हो ।

तराई मधेशमा यस्ता पनि किसान परिवार छन् जसको १० विघाभन्दा बढी जमिन छन् तर आफ्नो खेतीपाती छाडेर वैदेशिक रोजगारमा खाडीमुलुक गएका छन् । सैयो उदाहरणहरु छन् मधेशमा । तर मौरिया भन्छन्, हाम्रो लागि मलेशिया, कतार, अरब सबै यही हो । जति मेहनत त्यहाँ गएर गर्छन्, त्यसको आधा मेहनत पनि हामी यहाँ गर्दैनौँ, तर एकलाख भन्दा बढी कमाउँछौं ।’

वैदेशिक रोजगारमा जानेहरुलाई समेत मौरिया भन्छन्, ‘तिमीहरु विदेशमा गएर जति कमाउँछौ, त्यति यही दिन्छु, विदेश नजाउँ ।’ सोही गाउँका गरुदिन यादव भन्छन्, अरु गाउँको तुलनामा हाम्रो गाउँबाट धेरै काम मानिस विदेश गएका छन्, कृषिबाट नै मनग्य आम्दानी भइरहेको छ, यही नै कामदारको अभाव हुन्छ ।’

वैदेशिक रोजगारका कारण अहिले गाउँघरमा मजदुरको साह्रै अभाव छ तर मौरियालाई त्यसले खासै असर गरेको छैन । मजदुरका कारण आफ्नो कुनै पनि काम हालसम्म नरुकेको बताउँछन्, उनी ।

मजदुर पाइएन भने हामी परिवारका सबै सदस्य आफै लाग्छौं खेतीमा, वंशीला मौरिया भन्छन्, छोरा, बुहारी, नाति नातिना सबै हामी खेतमा काम गर्छौ अनि मात्र यति सम्भव भएको छ ।’ मजदुरको भरमा आफूहरुले खेतको काम कहिले नछाडेको बताउँदै उनले भने, ‘हामीले ६० कठ्ठा (तीन विघा) मा आलु र ६० कठ्ठा (तीन विघा) मा मकै रोप्छौ । त्यसमा सरदर एककठामा नौ क्वीन्टल आलु हुन्छ भने मकै एक कठ्ठामा साढे तीन क्वीन्टल हुन्छ ।’

मौरियाका हिसाब अनुसार तीन विघामा ५६० क्वीन्टल आलु मात्र फल्छ भने तीन विघामा २१० क्वीन्टल मकै मात्र फलाउँदो रहेछ । त्यस अलावा धान र गहुँको हिसाब छुट्टै छ ।

मौरियाका घरमा चारवटा भैसी छन्, दुइटा ट्याक्टर छन् । गाई र गोरु पनि छन् ।

मौरियाको खेती पुर्खौली नै हो तर अहिलेको जति आम्दानी पुर्खाहरुले गरिरहेका थिएनन् । उनी भन्छन्, ‘हाम्रा हजुरबुवा घरपरिवारलाई चाहिने जतिमात्र उब्जाउनुहुन्थ्यो, मैले अलि आधुनिक तरिकाले खेती किसानी गर्न थालेपछि कृषिले उन्नति हुन थालेको हो ।’

कृषि भनेको मेहनताको फल हो, यसमा जसले जति मेहनत गर्छन्, त्यसले त्यति कमाउने गरेको सुनाउँदै उनले भने, ‘हामीले देशका लागि जति योगदान दिएपनि राज्यले कुनै सुविधा दिएको छैन, हामीले मकैलगायत अन्य बालीको बीउ भारतबाट ल्याउँछौ तर उब्जेका सबैबाली, तरकारी, अन्नअनाजहरु यही नेपालमै बेच्छौ ।’ उन्नत जातको बीउ चाहिन्छ भनेर कृषि कार्यालयदेखि कृषि विभागसम्म धेरैलाई भन्यौं तर कसैले नदिएको गुनासो गर्दै उनले भने, बाध्य भएर भारतबाट ल्याएर काम चलाउनु परेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप