बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

सिके राउतलाई थप १० दिन थुनामा राख्न अदालतको अनुमति

शुक्रबार, २१ माघ २०७३, १४ : ३७
शुक्रबार, २१ माघ २०७३

लहान - राज्यविरुद्धको सङ्गठित अपराध मुद्दामा पक्राउ परेका स्वतन्त्र मधेस गठबन्धका संयोजक चन्द्रकान्त राउत (सीके राउत) लाई थप १० दिन थुनामा राखी अनुसन्धान गर्न सिरहा जिल्ला अदालतले आदेश दिएको छ ।

मुद्दामा थप अनुसन्धान गर्नुपर्ने भन्दै इलाका प्रहरी कार्यालय लहानले म्याद थप माग गरेपछि अदालतले यस्तो आदेश दिएको हो । इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजकुमार केसीका अनुसार अदालतको यो आदेशसँगै राउतलाई थुनामा राखी अनुसन्धान गर्न र उनीविरुद्ध थप प्रमाण जुटाउन सहज हुनेछ ।

गत माघ ५ गते सिरहाको लहानको सभामा राउतले मधेस छुट्टै देश बन्ने अभिव्यक्ति दिनुको साथै देश टुक्र्याउने गतिविधि सञ्चालन गर्दै आएकाले उनीमाथि राज्यविरुद्ध सङ्गठित अपराधअन्तर्गत मुद्दा चलाइएको प्रहरी नायब उपरीक्षक केसीले बताए ।

सप्तरीको महदेवा गाविस घर भई जनकपुरमा कोठा भाडा लिएर बस्दै आएका राउतलाई हिजो बिहीबार जनकपुर माछाबजार नजिकै कोठामा छापा मारेर प्रहरीले पक्राउ गरेको थियो ।

राउतलाई म्याद थपको लागि अदालत लगिने भएपछि बिहानैदेखि लहानको सुरक्षा व्यवस्था कडा पारिएको छ । राउतविरुद्ध यसअघि पनि विशेष अदालतमा राज्य विप्लबको मुद्दा चलेको थियो । तर उनी धरौटीमा छुटेका थिए ।

राज्यविरुद्धको अपराध र सजाय ऐन २०४६ मा कसैले नेपालको सार्वभौमसत्ता, अखण्डता वा राष्ट्रिय एकतामा खलल पार्ने नियतले कुनै अव्यवस्था उत्पन्न गरेमा वा सो गर्ने उद्योग गरेमा जन्मकैद हुने कानुनी व्यवस्था रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप