बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

हिमालयन शेर्पाविरुद्ध गोलको वर्षा गर्दै झापा –११ फाइनलमा

शुक्रबार, २१ माघ २०७३, १७ : ०३
शुक्रबार, २१ माघ २०७३

बिर्तामोड – आयोजक टोली रमपम झापा–११ फुटबल क्लब झापामा जारी दोस्रो संस्करणको रमपम झापा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

डोमालाल राजवंशी रङ्गशाला बिर्ताबजारमा जारी प्रतियोगिताअन्तर्गत शुक्रबारको पहिलो सेमिफाईनल खेलमा झापाले हिमालयन शेर्पालाई ४–० गोलअन्तरले पाखा लगाउँदै अन्तिम दुईमा आफ्नो स्थान सुरक्षित गरेको हो । फाइनल प्रवेशसँगै झापाले कम्तिमा नगद ३ लाख ५० हजार रुपैयाँ सुरक्षित गरेको छ ।

खेलअवधिभर झापाका सामु हिमालयन शेर्पा निरीह देखियो । खेलको पहिलो हाफमा झापाले १–० को अग्रता लिएको थियो । खेलको २८ औँ मिनेटमा झापाका स्ट्रइकर कर्ण लिम्बूले गोलको खाता खोलेका हुन् । रजिन धिमालको लामो पासलाई कर्णले हेडमार्फत नाटकीय गोल गरे । दोस्रो हाफमा झापाले थप ३ गोल ग¥यो । कर्णले नै व्यक्तिगत दोस्रो गोल गर्दै झापालाई २–० को अग्रता दिलाए । खेलको ७९औँ मिनेटमा डी–बक्सभित्र बुद्ध चेम्जोङले मिलाइदिएको पासलाई सदुपयोग गर्दै कर्णले बललाई जाली चुमाएका हुन् । झापाका लागि तेस्रो गोल बुद्ध चेम्जोङले गरे । खेलको ८७औँ मिनेटमा दिलेन लोक्तामको पासमा उनले झापालाई ३–० को अग्रता दिलाएका हुन् । ९०औँ मिनेटमा झापाका खमिर गिल्सन कन्दङ्बाले गोल गर्दै टिमलाई ४–० को जीत सुनिश्चत गरे ।

यसअघि खेलको छैठौँ मिनेटमा झापाका कप्तान नगेन्द्रमणि लिम्बूले गोल लाइनको नजिकैबाट पुस गरेको बल बाहिरिएको थियो । २२ औँ मिनेटमा झापाका सञ्जोग राईको लामो प्रहारले सहि दिशा लिन सकेन । खेलको ३३ औँ मिनेटमा हिमालयन शेर्पाका विश्वास श्रेष्ठले १–१ को बराबरी गर्ने सुनौलो अवसर गुमाए । उनको गतिलो प्रहार पोलमा लागेर फर्कियो ।

दोस्रो हाफ सुरु हुनेबित्तिकै झापाका सञ्जोग राईको प्रहार पोलभन्दा निकै बाहिर गयो । दोस्रो हाफकै २४औँ मिनेटमा हिमालयनका निशाल लिम्बूले हेड गरेको बल झापाका गोलरक्ष एलन न्यौपानेले बाहिर धकेलिदिए । झापा–११ र हिमालयन शेर्पाको यसअघि एकपटक मात्र भेट भएको थियो । मङ्सिरमा सम्पन्न काँकरभिट्टा गोल्डकपमा झापाले टाइब्रेकरमा हिमालयन शेर्पालाई ४–३ गोलअन्तरले पाखा लगाएको थियो ।

शुक्रबारको खेलको म्यान अफ द म्याच झापा–११ बाट २ गोल गर्ने कर्ण लिम्बू घोषित भए । उनलाई म्याप्स हाउजिङ प्रालिका तर्फबाट अञ्जनी सङ्ग्रौलाले नगद ७ हजार रुपैयाँ प्रदान गरे । त्यसैगरी बिर्तामोडस्थित एक्सपर्ट एजुकेशन एण्ड भीसा सर्भिसले लक्की ड्रमार्फत दर्शकमध्येका एक हरी मैनालीलाई एक्सपर्ट फ्यान अफ द डे घोषणा गर्दै नगद ५ हजार प्रदान ग¥यो ।

प्रतियोगिताअन्तर्गत शनिबार हुने दोस्रो सेमिफाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र मनाङ मस्र्याङदी क्लबबीच भिडन्त हुने आयोजक समितिका अध्यक्ष महेन्द्रकुमार गिरीले जानकारी दिए । आर्मीले मङ्गलबार रुपन्देही–११ लाई पाखा लगाउँदै अन्तिम चारमा आफ्नो स्थान पक्का गरेको थियो । मनाङले भने बिहीबार काठमाडौँको एनआरटीलाई हराउँदै सेमिफाइनल यात्रा तय गरेको हो । फाइनल प्रवेशका लागि हुने यी दुई टोलीबीचको भिडन्त रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

दुबै टोलीमा चर्चित राष्ट्रिय खेलाडी छन् । आर्मीका लागि कप्तान भरत खवाससँगै चर्चित स्ट्राइकर नवयुग श्रेष्ठ, लगायतका खेलाडी मैदानमा देखिनेछन् । मनाङमा निराजन मल्ल, सुशील लामा, विदेशी खेलाडी ओलावाले, विशाल राईलगायतका खेलाडी हेर्न लायकका हुनेछन् । बिहीबार सम्पन्न एनआरटीविरुद्धको खेलमा मनाङले ६ जना राष्ट्रिय खेलाडी मैदान उतारेको थियो ।

एक विदेशीसहित १० टिमको सहभागिता रहेको प्रतियोगिताको बिजेताले नगद सात लाख रुपैयाँ र ट्रफी तथा उपविजेताले नगद तीन लाख ५० हजार रुपैयाँसहित ट्रफी पाउनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप