बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

सरकारको चुनावी हतारले देश गम्भिर संकटतिर धकेलिदैछ : गच्छदार

शुक्रबार, २१ माघ २०७३, १७ : ४६
शुक्रबार, २१ माघ २०७३

राजविराज - मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजय गच्छदारले संघीयताको विवादले देश गम्भिर संकटमा गईरहेको भन्दै यसलाई समाधान गर्नुको सट्टा सरकार चुनावी हतारमा लागेको आरोप लगाएका छन् ।

राजविराजमा शुक्रवार आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । ‘संविधान संशोधन प्रस्तावलाई परिमार्जनसहित पास नगरेसम्म देशमा निर्वाचन सम्भव हुदैन’ नेता गच्छेदारले भने–‘सरकारको पहिलो प्राथमिकता भनेकै संशोधन प्रस्ताव पास गराउनु हो, तर सरकार आफ्नो दायित्व विर्सेर चुनावी तयारीमा लागेको छ ।’

संघीयता विवाद कायमै रहेको बेला चुनावी तयारीमा लाग्नु देशलाई थप गम्भिर संकटमा धकेल्नु सरह नै रहेको बताउदै उनले सरकारको यस्तो रबैयाले देशमा राजनितिक अस्थिरता कायमै रहने स्पष्ट पारे ।

‘कांग्रेस, एमाले र माओवादी केन्द्रका नेताहरु नै सत्ता नेतृत्वको केन्द्र विन्दु रहँदै आएका छन्’ नेता गच्छदारले भने–‘कुनै बेला अन्न निर्यात गर्ने देश अहिले बाहिरवाट सडेको चामल आयात गर्ने अवस्थामा पुगेपछि नेताहरुको नेतृत्व कसरी सफल भएको मान्ने ?’

६५ वर्षदेखि संविधान सभा मार्फत संविधान वनाउने जनताको चाहना अझै पनि पुरा हुन नसकेको भन्दै उनले संविधान त वनेको छ तर, कार्यान्वयन प्रति ठूला तीन दलका नेता अझै गम्भिर हुन नसकेको बताए ।

नेता गच्छेदारले ठूला दलहरुकै अगुवाईमा भएका आन्दोलनहरुवाट देशमा महत्वपूर्ण परिवर्तन आएको भएपनि त्यसलाई संस्थागत गर्न नसकेका कारण ठूला दल नेतृत्वमा असफल भएको जिकिर गरे ।

सप्तरी जिल्ला अध्यक्ष शैलेश कुमार चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा केन्द्रिय उपाध्यक्ष जितेन्द्रनारायण देव, महिला नेतृ गितादेवी चौधरी, युवा फोरमका केन्द्रिय अध्यक्ष वेदनारायण गच्छेदार लगायतले सम्वोधन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप