बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

२२ महिनापछि भूकम्पले जोखिम बढाएका बस्ती स्थानान्तरण गर्न समिति

शुक्रबार, २१ माघ २०७३, १८ : ०४
शुक्रबार, २१ माघ २०७३

काठमाडौँ - भूकम्पले जोखिम बढाएका बस्ती स्थानान्तरणका लागि २२ महिनापछि प्रक्रिया सुरु भएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने सम्बन्धमा प्रतिवेदन तयार पार्न कार्यकारी सदस्य ध्रुवप्रसाद शर्माको संयोजकत्वमा समिति गठन गरेपछि बस्ती स्थानान्तरणको प्रक्रिया सुरु भएको हो ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा डा गोविन्दराज पोखरेलको अध्यक्षतामा आज बसेको कार्यकारी समितिको ४२ औँ बैठकले शर्माको संयोजकत्वमा प्राधिकरणका विभागीय प्रमुख, सहरी विकास–भूमिसुधार तथा व्यवस्था र सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधि सदस्य रहने गरी नौ सदस्यीय समिति गठन गरेको प्रवक्ता यामलाल भुसालले जानकारी दिए ।

“समितिलाई एक साताभित्र बस्ती स्थानान्तरणसम्बन्धी प्रतिवेदन पेस गर्ने समय तोकिएको छ, पुरातात्विक सम्पदाको प्राचीनता नबिग्रने गरी पुनःनिर्माण अघि बढाउन र परम्परागत निर्माण सामग्रीको व्यवस्थापनका लागि कार्यकारी सदस्य हरिराम पराजुलीको संयोजकत्वमा अर्को समिति पनि गठन भएको छ”– उनले भने ।

समितिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालय, पुरातत्व विभाग, काठमाडौँ महानगरपालिका र प्राधिकरणका आर्थिक प्रशासन शाखा प्रमुख सदस्य रहेका छन्। सो समितिले पनि सात दिनभित्र प्रतिवेदन पेस गर्ने प्राधिकरणले जनाएको छ ।

भूकम्पपछिको पुनःनिर्माणमा वनजन्य निर्माण सामग्रीको अभाव भएको गुनासो बढेपछि वन तथा भूसंरक्षण मन्त्रालय, टिम्बर कर्पोरेसन नेपाल, सामुदायिक वन उपभोक्ता महासङ्घ र निजी क्षेत्रलाई सहज रुपमा उपलब्ध हुने व्यवस्था मिलाउन अनुरोध गर्ने निर्णय पनि गरिएको प्रवक्ता भुसालले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप