बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

नेप्सेमा ‘अड लट’ कारोबार हुने

शनिबार, २२ माघ २०७३, १५ : ४१
शनिबार, २२ माघ २०७३
काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज लिमिटेडले आइतबारदेखि नियमित समयमा हुने ‘अड लट’ कारोबारले बजारको मूल्य सीमा तथा परिसूचकमा असर नगर्ने व्यवस्था मिलाउने भएको छ । नेप्सेका अनुसार दोस्रो बजार कारोबार थप सहज बनाउन नियमित कारोबार समयमै १० कित्ता भन्दा कम(अड लट) धितोपत्र किनबेच हुनसक्ने व्यवस्था गर्ने भएको हो । यसअघि नियमित कारोबार समय (आइतबारदेखि बिहीबारसम्म बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म) ‘अल अर नन’(एओएन) बाहेकका अन्य अर्डरमा १० र १० ले गुणा जाने सङ्ख्याका धितोपत्र कारोबार हुँदै आएको थियो । यसरी अन्य किसिमका मागमा १० ले गुणा जाने कित्ता नभएको अवस्थामा माग खारेज हुने समस्या थियो । नेप्सेले गरेको नयाँ व्यवस्थापछि उक्त समस्याको निराकरण भई लगानीकर्ता थप लाभान्वित हुने विश्वास गरेको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताए । साताको नेप्सेमा ७६ अङ्कको वृद्धि केही सातादेखि निरन्तर ओरालो लागेको नेप्सेमा यो साता ७६ अङ्कले बढेको देखिएको छ । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ७२ दशमलव ७५ अङ्कले बढेर अन्तिम दिन एक हजार ३८२ दशमलव ४५ अङ्कमा पुगेको छ । यससाता स्टक एक्सचेन्जमा १५६ कम्पनीको कारोबार भएको छ । जस अनुसार २० हजार ६६० कारोबारबाट रु दुई अर्ब २१ करोड ५३ लाख ७० हजार बराबरका ५९ लाख पाँच हजार पाँच सय ८० कित्ता सेयर खरिदबिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा शुन्य दशमलव ६४ प्रतिशत कम हो । गत साता १५५ कम्पनीको कारोबार भएको थियो । जसअनुसार १९ हजार ३६० कारोबारबाट रु दुई अर्ब २२ करोड ९७ लाख पाँच हजार बराबरका ६६ लाख ६७ हजार एक सय ३० कित्ता सेयर खरिदबिक्री भएका थिए । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा १६ दशमलव २८ अङ्कले बढेर ३०० दशमलव ३५ अङ्कमा आइपुगेको छ । यस साता कारोबार रकम (रु १४ करोड ५५ लाख ९० हजार) को आधारमा सिद्धार्थ बैंक लिमिटेड अग्रस्थानमा छ । त्यसैगरी कारोबार भएको सेयर सङ्ख्या –आठ लाख ३१ हजार कित्ता) को आधारमा एनएमबी सुलभ इन्भेस्टमेन्ट फन्ड अग्रस्थानमा छ । त्यसैगरी कारोबार सङ्ख्या (एक हजार ३१४) को आधारमा प्रभु बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । यससाता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन । यो साता लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड ११ लाख, सूर्य लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १२ लाख ५० हजार, सिन्धु विकास बैैंक लिमिटेडको १२ लाख र प्राइम कमर्सीयल बैंक लिमिटेडको एक करोड २३ लाख ५० हजार कित्ता हकप्रद सेयर सूचीकृत भएका छन् । त्यसैगरी तिनाउ विकास बैंक लिमिटेड र सिन्धु विकास बैैंक लिमिटेडको क्रमशः ६ लाख ८२ हजार र दुई लाख तीन हजार बोनस सेयर सूचीकृत भएको नेप्सेले उल्लेख गरको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप