बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

मेलाको मौका छोपेर साँखु चल्ने बसले २४ रुपैयाँको भाडामा ५ सयसम्म उठाउँदै

शनिबार, २२ माघ २०७३, १८ : ०२
शनिबार, २२ माघ २०७३
काठमाडौँ - साँखुस्थित सालीनदीमा लाग्ने माधवनारायण मेलाको मौका छोपेर उपत्यकाका विभिन्न भागबाट साँखु चल्ने सार्वजनिक सवारी साधनले तोकिए भन्दा बढी भाडा उठाएका छन् । मेलाको अवसरमा सालीनदी आउने भक्तजनसँग यातायात व्यवस्था विभागले तोकेभन्दा बढी भाडा उठाएको यात्रुको गुनासो छ । विभागले उपत्यकाको सहरी क्षेत्रमा १९ किमी भन्दा माथिको दुरीमा रु २४ भाडा तोके पनि साँखु बस व्यवसायी सङ्घले सञ्चालन गरेका सवारीमा रत्नपार्कदेखि साँखुसम्मको भाडा रु ३४ टाँसिएको छ । पछिल्लोपटक विभागले गतवर्ष माघ २४ गते सार्वजनिक यातायातको भाडा समायोजन गरेको थियो । विभागले भाडा समायोजन गरे पनि अनुगमन नगर्दा सवारीका परिचालकले मनलागे जति भाडा उठाउने गरेको सालीनदीमा स्नान एवम् दर्शन गर्न आउनुभएकी पार्वती रेग्मीले बताइन् । “केही सवारीमा देखिने गरी भाडा सूची टाँसिएको छ, केहीमा भने सूची छैन, सूची नभएका सवारीका परिचालकले सङ्घले तोकेको रु ३४ भाडाको वास्ता गरेका छैनन्, यो रुटमा पहिलोपटक हिँड्ने यात्रुको अनुहार हेरेर रु ५०० सम्म भाडा उठाइएको छ”–उनले भनिन् । सङ्घका अध्यक्ष गोविन्दबहादुर श्रेष्ठ तोकिए भन्दा बढी भाडा असुल्ने आठवटा माइक्रो र छवटा ठूला बसलाई समाती महानगरीय ट्राफिक प्रहरी वृत्त बौद्धमा बुझाइएको बताउँछन् । “बिचबाट चढ्ने यात्रुसँग समेत रु २०० भाडा उठाएको प्रमाण हामीले फेला पारेका छौँ, बढी भाडा लिने बा २ ख ७२७२ नम्बरको बस लगायतलाई समातेर बुझाइएको छ, कारबाहीमा परेका सबै सवारीलाई रु पाँच हजार जरिवाना तिराइन्छ, नतिर्नेलाई सात दिनसम्म चल्न दिइन्न”–उनले भने । साँखुबाट रत्नपार्क, नयाँ बानेश्वर र सातदोबाटो रुटमा सवारी सञ्चालन हुने गरेको छ । यो वर्षको माधवनारायण मेलाको आज अन्तिम शनिबार भएकाले सबैभन्दा बढी दर्शनार्थी सालीनदी आएको मेला व्यवस्थापन समितिका अध्यक्ष राजभाइ मानन्धरले जानकारी दिए । प्रत्येक वर्ष पुस शुक्लपूर्णिमादेखि माघ शुक्लपूर्णिमासम्म साँखुस्थित सालीनदीमा माधवनारायणको मेला लाग्ने गर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप