बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

चौथो रमपम उदयपुर गोल्डकपको खेल तालिका सार्वजनिक

शनिबार, २२ माघ २०७३, १८ : ०२
शनिबार, २२ माघ २०७३

उदयपुर  - फुटवलको माध्यमबाट उदयपुरको पहिचानलाई देश विदेशमा स्थापित गर्ने उद्देश्यले सुरु गरिएको चौथो उदयपुर गोल्डकपको खेल तालिका सार्वजनिक गरिएको छ ।

गोल्डकप मुल आयोजक समितिले आज थारुहट उदयपुर रंगशालामा गाईघाटमा पत्रकार सम्मेलन गरि खेल तालिका सार्वजनिक गरेको हो ।

यही माघ २७ देखि सुरु हुने उदयपुर गोल्डकपको चौथो संस्करणको प्रयोजन रमपम चाउचाउले गर्ने सम्झौता भएको मुल आयोजक समितिका संयोजक किरण राईले बताए ।

‘गोल्डकपमा ए डिभिजनका ४ वटा क्लब र क्षेत्रीय स्तरका ३ टिम र आयोजक उदयपुर ११ ले प्रतिस्पर्धा गर्ने छ ।’ संयोजक राईले भने ‘संकटा क्लब काठमाण्डौ, धरान फुटवल क्लब सुनसरी, एपीएफ क्लब काठमाण्डौ, मोरङ ११, हिमालयन शेर्पा काठमाडौ, झापा फुटवल क्लब झापा, रुपन्देही ११ र घरेलु टिम उदयपुर ११ ले प्रतिस्पर्धा गर्ने छ ।’

संयोजक राईका अनुसार उद्घाटन खेल संकटा क्लब काठमाण्डौ र धरान फुटवल क्लब सुनसरी विच हुने छ । भने दोस्रो खेल हिमालयन शेर्पा क्लब र आयोजक उदयपुर ११ विच माघ २८ गते हुने तय भएको छ ।

त्यसैगरि तेस्रो खेल शसस्त्र प्रहरी क्लब काठमाण्डौ र मोरङ ११ विच माघ २९ गते खेल हुने छ भने फागुन १ गते झापा फुटवल क्लब झापा र रुपन्देही ११ विच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । गोल्ड कप फुटवलको स्वास्थ्य, अनुशासन र राष्ट्रिय एकता र सदभावका लागि उदयपुर गोल्डकप भन्ने नाराका साथ फुटवल प्रतियोगिता फागुन ५ गते सम्म संचालन हुने फुटवल नक आउटको आधारमा खेलाईने छ ।

गोल्डकप विजेतालाई नगद २ लाख, शिल्ड र प्रमाणपत्र र उपविजेतालाई एकलाख नगद राशी र शिल्ड प्रदान गरिने छ । २०६८ सालमा सुरु गरिएको गोल्डकप यस बर्ष आफ्नै थारुहट उदयपुर रंगशालामा संचालन हुने छ । रंगशालामा ४ वटा आधुनिक प्याराफिट निर्माण गरिएको छ ।

जिल्ला विकास समिति उदयपुर, त्रियुगा नगरपालिकाको सहयोग तथा जिल्ला फुटवल संघ संघ उदयपुरको आयोजनामा गोल्ड कप फुटवल प्रतियोगिता हुन लागेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप