बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

नयाँ शक्तिको २ नम्बर प्रदेश भेला : मधेशको परिभाषा गर्न नसक्ने मान्छे प्रधानमन्त्री बन्नु दुर्भाग्य

शनिबार, २२ माघ २०७३, १८ : १२
शनिबार, २२ माघ २०७३

काठमाडौं – नयाँ शक्ति पार्टीका संगठन विभाग प्रमुख देवेन्द्र पौडेलले नयाँ शक्तिले तराई, मधेश, पहाड र हिमाल जोडेर मुलुकको राष्ट्रियता बलियो बनाउने बताएका छन् । काठमाडौंमा शनिबार प्रस्तावित २ नं. प्रदेशको काठमाडौं सम्पर्क संयन्त्रको प्रथम भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

‘अब मधेश, तराई, पहाड, हिमालको एकतालाई कसैले तोड्न सक्दैन’ उनले भने, –‘किनकि यो देशमा नयाँ शक्ति जन्मिइसकेको छ । यदि कसैले त्यो एकता ताड्न खोज्छ भने त्यो अब संभव छैन ।’

उनले अब समग्र राजनीतिक मुद्दाहरु हल गरेर देशलाई समृद्धिको बाटोमा हिंडाउनुपर्ने भएकोले सबै आदिवासी, जनजाति, मधेशी, थारुलगायत सबै उत्पीडित समुदायहरुको हक, अधिकार सुनिश्चित हुनेगरी चुनावको मिति घोषणा गरेर देशलाई राजनीतिक निकास दिनुपर्ने बताए । नयाँ शक्ति हरेक चुनावको लागि तयार रहेको बताउँदै उनले पार्टी घोषणाको ७ महिनामा नै ७५ वटै जिल्लाहरुमा संगठन विस्तार गर्न नयाँ शक्ति सफल भएको पनि दाबी गरे ।

नयाँ शक्ति पार्टीका प्रदेश नं. २ का सहसंयोजक रामरिझन यादवले मधेशी समुदायलाई चकलेट र आइसक्रिम खुवाए जस्तो गरी व्यवहार नगर्न पुराना दलहरुलाई चेतावनी दिंदै मधेश र तराईको परिभाषा गर्न नसक्ने मान्छे देशको सरकारी हाकिम, मन्त्री, प्रधानमन्त्री बन्ने दुर्भाग्यको अन्त्य हुनुपर्ने बताए ।

त्यस्तै २ नं. प्रदेशकै संयोजक महेन्द्र पासवानले उत्पीडित समुदायको हक, अधिकारका लागि १० वर्ष जनयुद्ध लड्दासमेत धोका पाएको बताउँदै मधेशको मुक्तिका लागि स्वशासन र स्वायत्तता अनिवार्य रहेको बताए । उनले यो देश बन्नुमा मधेशको पनि उत्तिकै योगदान रहेको बताउँदै सबै जाति, वर्ग र समुदायको प्रतिनिधित्वका लागि नयाँ शक्तिले अवलम्बन गरेको तीन क्लस्टरको धारणा नै सबैभन्दा उत्तम भएको जिकीर गरे ।

नयाँ शक्ति पार्टीका ३ नम्बर प्रदेशका संयोजक गंगा नारायण श्रेष्ठले नयाँ शक्ति वर्तमानमा एउटा पार्टी मात्र नभएकोले यो समग्र देशको अवस्था परिवर्तनका लागि निर्माण भएको वैकल्पिक राजनीतिक शक्ति भएको बताए । उनले नयाँ शक्तिले अरु पार्टी र नेताहरुलाई गाली र आलोचना गरेर कसैको विज्ञापन नगर्ने भन्दै सिर्जनात्मक र सकारात्मक काम गरेर आफूलाई स्थापित गर्ने अभियानमा नयाँ शक्ति लागेको बताए ।

कार्यक्रममा नयाँ शक्तिका कार्यकारी समिति सदस्य विरेन्द्र पोखरेल, बाल्मिकी ठाकुर, कृष्ण कुमार गुप्तालगायतले बोल्दै नयाँ शक्तिले नै मुलुकलाई समृद्ध बनाउने बताउनुभयो । २ नम्बर प्रदेश काठमाडौं सम्पर्क संयन्त्रको प्रथम भेलाले कृष्ण कुमार गुप्ताको संयोजकत्वमा १ सय ५१ सदस्यीय अन्तरिम प्रादेशिक परिषद् गठन गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप