बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

हलोजुवा र ढिकीजाँतो संरक्षणमा सामुदायिक वन

आइतबार, २३ माघ २०७३, ०८ : ५७
आइतबार, २३ माघ २०७३

म्याग्दी - म्याग्दीको एक सामुदायिक वन उपभोक्ता समूहले वन पैदावरको प्रयोग गरी स्वावलम्बी हुने उद्देश्यले हलोजुवा र ढिकीजाँतो संरक्षण अभियान सुरु गरेको छ ।

जिल्लाको बेनी नगरपालिका–१० तोरीपानीमा अवस्थित घोर्लास सामुदायिक वन उपभोक्ता समूहले वनमा खेरजाने काठको उपयोग गरी हलोजुवा र ढिकीजाँतो बनाई बिक्री गर्नुका साथै हलोजुवा र ढिकीजाँतो बनाउनेलाई आवश्यक सहयोगसमेत गर्दै आएको छ ।

एक सय ५८ घरधुरी उपभोक्ता रहेको सो सामुदायिक वनमा ६ जनाको संलग्नता रहने गरी विभिन्न २५ वटा समूह गठन गरी टिमुरखेती गरिएको घोर्लास सामुदायिक वनका सचिव इब गिरीले जानकारी दिए ।

गिरीका अनुसार तीन हेक्टर क्षेत्रफलमा टिमुरको बगैँचा स्थापना गरिएको छ भने उत्पादित बिरुवा जिल्लाका विभिन्न गाउँका साथै छिमेकी जिल्ला बागलुङ, पर्वत, स्याङ्जा र कास्की जिल्लामा समेत निर्यात गर्दै आएका छन् । प्रतिविरुवा रु २० मा बिक्री हुँदै आएको छ ।

त्यसैगरी सोही वन समूहले हलोजुवा उद्योग पनि सञ्चालन गरेका छन् । सो उद्योगमा हलो, जुवा, मोही र अनौ निर्माण गरी बिक्री–वितरण गर्दै आएको सचिव गिरीले बताए । एउटा हलोको रु ६ सय र सेटको (हलो, जुवा, मोही र अनौ) को रु एक हजार मूल्य निर्धारण गरिएको छ ।

त्यस्तै लोप हुन लागेका ढिकीजाँतोको संरक्षण गर्ने उद्देश्यले वन समूहले गाउँमा स्थानीयवासीले प्रयोग गर्नका लागि ढिकीजाँतो पनि स्थापना गरिदिएको छ । अहिले स्थानीयवासीले प्रयोग गर्नका लागि मात्र बनाइएको र बिस्तारै व्यावसायिक रुपमा नै ढिकीजाँतो उद्योग सञ्चालन गर्ने तयारी रहेको सचिव गिरीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप