बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

बुद्धजन्मस्थल लुम्बिनी पुग्ने नमुना सडकको काम तीव्रगतिमा

आइतबार, २३ माघ २०७३, १६ : १५
आइतबार, २३ माघ २०७३

बुटवल - अन्तर्राष्ट्रिय महत्वका प्रमुख पर्यटकीय क्षेत्रका रुपमा रहेका बुद्धजन्मस्थल लुम्बिनी पुग्न पूर्व– पश्चिम राजमार्गबाट नमुना सडकको परिकल्पना गरी निर्माण कार्यले गति लिएको छ ।

बुटवल– बेथरी सडकअन्तर्गत बुटवलको नहरपुरदेखि बेथरीसम्म नहरको दुबैतिर दुई–दुई लेनको सडक र नहरको छेउछाउमा हरियालीसहितको उद्यान बनाउने योजनासहितको नेपालमै सम्भवत नमुना र महत्वकांक्षी योजनाको रुपमा यसलाई अगाडि सारिएको छ ।

यो सडकलाई भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र बुद्धजन्मस्थल लुम्बिनीसँग जोड्ने महत्वपूर्ण आयोजनाको रुपमा लिइएको छ । पूर्व–पश्चिम राजमार्ग हुँदै विमानस्थल र बुद्धजन्मस्थल लुम्बिनी पुग्ने वा पूर्व–पश्चिम राजमार्ग निस्कने यात्रुुका लागि आवश्यक पर्ने वैकल्पिक सुन्दर सडकको रुपमा यसलाई अगाडि बढाइएको हो ।

अन्तर्राष्ट्रिय विमानस्थल र लुम्बिनी आवतजावतको प्रमुख मार्गको रुपमा अगाडि सारिएको यो सडक भविष्यमा पर्यटकीय सडकको रुपमा विकास गर्ने लक्ष छ । लुम्बिनी आउने पर्यटक लुम्बिनी बाहिरका पर्यटकीय क्षेत्रमा जाँदा यही सडकको उपयोग गर्नेछन् । यो सडक नमुना हुने भएकाले पर्यटकका लागि आकर्षणको केन्द्र बन्नेछ ।

रुपन्देहीको बेलवास–बेथरी चार लेन सडकको निर्माण कार्यले गति लिएको छ । अलग–अलग ठेक्का पाएका दुबै ठेकेदारले सडक निर्माणको गति तीव्र पारेका हुन् । सडक निर्माण अन्तर्गत बुटवलको नहरपुरदेखि मोतिपुरसम्म नहर सफा गरेर नहरको दुबैतर्फ पक्की पर्खाल उठाउने काम करिब सकिएको छ ।

त्यस्तै अमवादेखि बेथरीसम्म नहर सफा गर्ने, अतिक्रमित संरचना हटाउने र पक्की पर्खाल निर्माण गर्ने कामलाई तीव्र पारिएको छ । पहिलो चरणमा नरहको काम सकेर दुवैतर्फको बाटो पक्की गर्ने योजना छ ।

सडक डिभिजन कार्यालय बुटवलका प्रमुख मेघराज मरासिनीका अनुसार यो सडक मुलुककै नमुनायोग्य हुनेछ । बुटवलको बेलवास झोलुुङ्गेपुल चोकदेखि भैरहवा–लुम्बिनी सडकको बेथरीसम्म २१ किलोमिटर लामो यो सडकको बीचमा नहर छ । अधिकांश स्थानमा स्वतः ट्र्याक खुलिसकेकाले दुई वर्षभित्रै काम सम्पन्न हुने अनुमान कार्यालयको छ ।

नहरपुर–मोतिपुर–अमुवा हुँदै बेथरी पुगेर भैरहवा–लुम्बिनी खण्डमा जोडिने अहिलेको अव्यवस्थित नहरलाई व्यवस्थित गरेर १० फिटमा सीमित गरिने छ । दुबैतिर सात–सात मिटर फराकिलो सडक र त्यस बाहिर पौने दुई मिटरको साइकल लेन समेत बन्नेछ ।

यो सडकलाई गौतमबुद्ध विमानस्थल र बुद्धजन्मस्थल लुम्बिनीसँग जोड्ने महत्वपूर्ण पूर्वाधारमध्येको नमुना सडक हुने उनी बताउँछन् । गतवर्ष निर्माण सम्पन्न भएको बेलवास झोलुङ्गेपुलस्थित पक्की पुल र निर्माणाधिन बुद्धनगरस्थित पक्की पुलले यो सडकलाई बुटवलसँग पनि जोड्नेछन् ।

यो सडक निर्माणमा करिब रु दुई अर्ब खर्च लाग्ने अनुमान गरिएको छ । सरकारले सन् २०१८ को जनवरीदेखि सञ्चालन गर्न लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सम्पन्न हुनुअघि यसका लागि आवश्यक पूर्वाधारको निर्माणलाई तीव्रता दिइरहको छ ।

बेलवास–बेथरीसँगै यसै वर्षदेखि भैरहवा लुम्बिनी– ६ लेन र बुटवल–पाल्पा– ४ लेन सडकको निर्माणका लागि समेत तयारी थालिएको छ । विमानस्थल सञ्चालन हुनुअघि बुटवल– भैरहवा– ६ लेन र आन्तरिक बुद्धिष्ट सर्किट र लुम्बिनी परिक्रमा पथको निर्माण सक्ने लक्ष्य छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप