बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

अमेरिकाको भिसा नपाएका कुनाल जसले आज अमेरिकी कम्पनीलाई दिँदैछन् चुनौती

आइतबार, २३ माघ २०७३, १७ : २५
आइतबार, २३ माघ २०७३

नयाँ दिल्ली – अमेरिकाका नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पले एच–१बी भिसामा कडाई गर्ने प्रस्ताव अघि सारेपछि यतिबेला भारतको सूचना–प्रविधि क्षेत्रमा ठूलो हलचल मच्चिरहेको छ । सो प्रस्ताव पारित भए भारतका धेरै आइटी इन्जिनियरहरु बेरोजगार हुने र यो क्षेत्र नै धरासयी हुने जानकारहरु बताइरहेका छन् ।

तर, त्यहीँ एक युवा छन् । जसले यो समस्या पहिले नै भोगिसकेका छन् । र, आज उनी भारतमा नै सफल व्यवसायी बनेर अमेरिकाकै कम्पनीलाई चुनौती दिएर बसेका छन् । उनी हुन्, युवा उद्यमी कुनाल बाहल ।

बाहलले अमेरिकाको युनिभर्सिटी अफ पेन्सिलभेनियाबाट डिग्री पास गरेका थिए र, सियाटलमा रहेको माइक्रोसफ्ट कम्पनीमा काम पनि पाए । अब उनको सपना भनेको सिलिकन भ्यालीमा आफ्नै नयाँ कम्पनी खोल्नु थियो । यो कुरा सन् २००७ तिरको हो ।

तर, अमेरिकी अध्यागमनका अधिकारीहरुले उनलाई त्यहाँ जागिर खानका लागि चाहिने एच–१बी भिसा दिन अस्वीकार गरे । योसँगै उनको सपना तुहिन पुग्यो ।

स्न्यापडिलका अहिले ५ करोडभन्दा बढी प्रयोगकर्ता रहेका छन् । यहाँ ३ लाखभन्दा बढी उत्पादकहरुले आफ्नो समानहरु बेच्ने गरेका छन् । यसमा जुत्तादेखि टिभीसम्म बिक्रीमा रहेका छन् र भारतका ७ हजार सहरमा उपलब्ध छ ।

अमेरिकाको भिसा नपाउन धेरैका लागि यो ठूलो अभिसाप बन्ने गरेको थियो । यद्यपि, बाहललाई भने अमेरिकाको भिसा नपाउनु बरदान साबित भयो । माइक्रोसफ्टमा करियर बनाउने उनको सपना टुटेपछि उनी भारत फर्किए । र, सन् २०१० मा साथी रोहित बंसलसँग मिलेर स्न्यापडिल नामक कम्पनी खोले ।

स्न्यापडिल अहिले भारतको ठूलो अनलाइन रिटेलर बनेको छ । यसको मूल्य ७ बिलियन डलर रहेको बताइन्छ । यसलाई चीनको अलिबाबा, जापानको सफट बैंकले साथ दिएको छ भने अहिले अमेरिकी कम्पनी एमाजन र स्थानीय फ्लीपकार्टसँग प्रतिस्पर्धा गरिरहेको छ ।

‘हामीले कम्पनी शुरुवात गर्दा एक दिनमा १ सय अर्डर लिन सक्यौँ भने यो ठूलो कुरा हुनेछ भन्ने ठानेका थियौँ,’ सिएनएनसँग कुरा गर्दै उनले भने, ‘तर, एक दुई महिनाको अन्तरालमा नै हामी प्रत्येक मिनेट १ सय अर्डर लिन थालिसकेका थियौँ ।’

स्न्यापडिलका अहिले ५ करोडभन्दा बढी प्रयोगकर्ता रहेका छन् । यहाँ ३ लाखभन्दा बढी उत्पादकहरुले आफ्नो समानहरु बेच्ने गरेका छन् । यसमा जुत्तादेखि टिभीसम्म बिक्रीमा रहेका छन् र भारतका ७ हजार सहरमा उपलब्ध छ ।

दुई वर्ष अघि फ्रिचार्ज नामक कम्पनी किनेर यसले डिजिटल पेमेन्टको पनि शुरुवात गरेको छ । गत नोभेम्बरमा भारत सरकारले आकस्मिकरुमा देशको ८६ प्रतिशत मुद्रामा नोटबन्दी गरेपछि यसका प्रयोगकर्ता ह्वातै बढेको छ ।

‘हामी भारतका साना सहरहरुमा निकै सशक्त छौँ, त्यहीँबाट धेरै माग र आपूर्ती हुने गरेका छन्,’ बाहलले भने ।

ठूला प्रतिस्पर्धीहरु पनि उनको यो विचारसँग सहमत छन् । फेसबुक र गुगलका लागि दक्षिण एसियाका ग्रामिण क्षेत्रमा रहेका ९० करोड जनतामा इन्टरनेटको पहुँच पुर्याउन ठूलो चुनौती रहेको छ । भारत सरकारले पनि त्यसैको लागि योजना तर्जुमा गरिरहेको छ । भारतमा अब चाँडै नै अमेरिकाभन्दा धेरै स्मार्टफोन प्रयोगकर्ता हुँदैछ । र इकमर्स त्यहाँको सबैभन्दा चाँडो बढ्दै गरेको व्यवसायको रुपमा रहेको छ । एमजनले भारतमा मात्रै सन् २०१३ यता ५ बिलियन डलर लगानी गरेको छ ।

‘आज १५ बिलियन डलरको बजार आगामी १० वर्षमा २ सय बिलियन डलरको हुनेछ,’ बहालको अनुमान छ ‘अझै धेरै बृद्धि हुन बाँकी नै छ ।’

३३ वर्षीय सिइओ अब युवा भारतीयहरुका लागि करिब १० वर्षअघि आफू फर्केको देशमा नै अवसहरु सृजना हुनेमा आशावादी छन् । ‘हामीसँग विश्वकै उत्कृष्ट इन्जिनियरहरु रहेका छन् । हामीसँग अंग्रेजी जान्ने ठूलो जनसंख्या छ र डिजिटलरुपमा जोडिएका ठूलो जनसंख्या छ,’ उनले भने ।

‘भविष्यमा हाम्रो कम्पनीमा काम गर्ने धेरैले आफ्नै कम्पनी शुरु गर्नेछन् र त्यसपछि त्यहाँ काम गर्नेहरुले पनि त्यसै गर्नेछन्,’ उनले भने, ‘अब हाम्रो देशलाई धेरै उद्यमीहरु चाहिएको छ । धेरै नीति होइन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप