बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

मोर्चालाई देउवाले भने, ‘संशोधन हुनुपर्छ मात्र नभन्नुहोस्, दुई तिहाई जुटाउन सहयोग पनि गर्नुहोस्’

आइतबार, २३ माघ २०७३, १८ : ३९
आइतबार, २३ माघ २०७३

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेसी मोर्चाका नेताहरुलाई संविधान संशोधन चाँडोभन्दा चाँडो परित गर्नका लागि सकारात्मक भूमिका खेल्न आग्रह गरेका छन् ।

आइतबार मधेसी मोर्चाका नेताहरुसँग भएको छलफलमा सभापति देउवाले संविधान संशोधन गरेर चाँडो चुनावमा जानुपर्नेमा जोड दिएका हुन् ।

सरकारले चुनाव घोषणाको तयारी शुरु गरेपछि रुष्ट देखिएको मोर्चाका नेताहरुलाई फकाउन सभापति देउवाले आज मोर्चाका नेताहरुलाई आफ्नो निवासमा छलफलका लागि बोलाएका थिए ।

बैठकमा सभापति देउवाले कांग्रेस, माओवादी र मोर्चा मिलेर संविधान संशोधन प्रस्ताव पारित गराउन संसद्मा दुई तिहाईको लागि पहल गर्नुपर्ने कुरा राखेका थिए । चाँडोभन्दा चाँडो संशोधन गराएर चुनावतिर जानुपर्ने देउवाको जिकिर थियो ।

‘तपाईंहरु प्रस्ताव पारित नगरी चुनावमा जान्नौँ मात्र भन्नुहुन्छ । अब चुनावमा जान्न भनेर मात्र हुँदैन । संविधान संशोधनलाई पारित गराउन सकारात्मक भूमिका खेल्नुपर्छ,’ देउवाको भनाई उद्धृत गर्दै मोर्चाका एक नेताले रातोपाटीलाई बताए ।

‘हामीले पनि विभिन्न दलहरुसँग छलफल गरिरहेका छौँ । तपाईंहरु पनि छलफल शुरु गर्नुहोस्,’ उनले भने, ‘अब नियमित छलफल गरेर यो विषयलाई तुरुन्त टुंग्याऔँ ।’

जवाफमा मोर्चाका नेताहरुले आफूहरुले यसैका लागि सरकारलाई समर्थन गरेको बताउँदै कहाँ र कसरी सहयोग गर्नुपर्ने आफूहरुलाई भन्न देउवालाई आग्रह गरेका थिए ।

‘कहाँ सहयोग गर्नुपर्ने हो भन्नुहोला । को सँग कुरा गर्न पर्ने हो पनि भन्नुहोला, हामी तयार नै छौँ’ मोर्चाका नेताहरुले भनेका थिए ।

बैठकबाट बाहिरिँदै संविधान संशोधन प्रस्ताव पारित गराउन दुवै पक्ष लागि पर्ने सहमति भएको काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले जानकारी दिए ।

त्यस्तै, संविधान संशोधन प्रस्ताव पारित गराउन काँग्रेसले प्रतिवद्धता जनाएको सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मण लालकर्णले जानकारी दिए । उनले संविधान संशोधन प्रस्ताव पारित नभई निर्वाचनमा जान नसकिने अडान पनि दोहो¥याए ।

मोर्चाले माग्यो नियुक्तिमा हिस्सेदारी

संविधान संशोधन पछि आजको बैठकमा सरकारले गरेको नियुक्तिहरुको विषयमा छलफल भएको थियो । मोर्चाका नेताहरुले सरकारलाई समर्थन गरेको हुँदा नियुक्तिमा आफूहरुको पनि हिस्सेदारी हुनुपर्ने माग गरेका थिए । ‘हामी त खाली सरकारलाई समर्थन गर्ने मात्र भयौँ,’ मोर्चाका नेताहरुले गुनासो गरेका थिए ।

न्यायाधीस नियुक्ति गर्दा समावेशी नभएको गुनासो गर्दै राजदूत नियुक्तिलाई समावेशी बनाउन मोर्चाका नेताहरुले आग्रह गरेका थिए ।

जवाफमा शेरबाहादुर देउवाले छलफल गरेर यस विषयलाई टुंग्याउने आश्वासन दिएका थिए । ‘पहिले अरु कुराभन्दा संशोधन विधेयमा नै ध्यान दिऔँ । यी विषय फेरि छलफल गरेर टुंग्याउँला,’ देउवाले भने ।

आजको बैठकमा सभापति देउवासहित उपप्रधानमन्त्री विमलेन्द्र निधि, महेन्द्र राय यावद, केशव झा, महन्थ ठकुर, मनिस सुमन लगायतका नेताहरुको सहभागिता थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप