बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

एयरपोर्टका ‘शिकार’ : एसएसपी रविराजदेखि श्याम खत्रीसम्म

सोमबार, २४ माघ २०७३, १० : ४८
सोमबार, २४ माघ २०७३

काठमाडौं– प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) श्यामबहादुर खत्रीले नेपाल प्रहरीभित्र ‘सोझो अफिसर’को पहिचान बनाएका थिए । २०४५ सालमा इन्सपेक्टरबाट नेपाल प्रहरीमा प्रवेश गरेका खत्री कहिल्यै विवादमा आएनन् ।

सबैसँग हाई–हेल्लोमै रमाउने खत्री आफ्नो मातहतका सिपाहीहरुसँग अँगालो हाल्दै हिँडेको दृश्य अनौठो हुन छाडेको थियो । ‘अपराध महाशाखाको एसपी हुँदा हामीसँग अँगाले हाल्दै हिँड्नुहुन्थ्यो’, उनको मातहत रहेर काम गरेको एक जवान भन्छन्, ‘सिनियर अफिसर भए पनि उहाँमा बडप्पनको व्यवहार थिएन् ।’

एसएसपीको बर्दी भिरेर प्रहरी प्रधान कार्यालयमा बसिरहेका तिनै ‘सोझा अफिसर’को बर्दी बुधबार फुकालिएको छ । उनी अहिले चोर, डाँका र तस्करको अभियोगमा पक्राउ परेकाहरुलाई थुन्नका लागि बनाइएको केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा छन् ।

त्रिभुवन विमानस्थलमा डीआईजी गोविन्द निरौलाको ट्वाइसी अर्थात् सेकेन्ड म्यानका रुपमा काम गर्दै आएका खत्रीलाई गत माघ ३ गते ‘केही कुरा बुझ्नका लागि’ भन्दै प्रहरी प्रधान कार्यालयले फिर्ता बोलाएको थियो । केही समय प्रहरी हेडक्वाटरको प्रशासन शाखामा हाजिर भएका खत्री माघको दोस्रो साता जगेडापुलमा सरुवा भए ।

२०७३ पुस २१ गते दुबईबाट आएको साढे ३३ किलो सुन त्रिभुवन विमानस्थल भन्सारबाट पास गराउन सहयोग गरेको आरोप लागेका खत्रीमाथि केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिहेको थियो । ‘सुन तस्करीमा संलग्न तथ्यहरु पुष्टि भएपछि उहाँलाई हामीले नियन्त्रणमा लिएका हौँ’ सीआईबीका एक प्रहरी अधिकृतले भने, ‘खत्रीले विमानस्थलबाट सुन पास गराउन सहयोग गरेको खुल्न आएको छ ।’

त्यस दिन बिदामा थिए खत्री, अब अरुलाई के हुन्छ ?

पुस २१ गते प्रहरी उपरीक्षक (एसपी) मिरा चौधरीको कमाण्डमा खटिएको टोलीले विमानस्थल क्रस गरेर तिलगङ्गा आँखा अस्पताल पुगेको साढे ३३ किलो सुन नियन्त्रणमा लिँदा एयरपोर्टका एसएसपी श्याम खत्री बिदामा थिए ।

त्यसभन्दा एक दिनअघिसम्म बिदामा बसेका एयरपोर्ट प्रहरी प्रमुख डीआईजी गोविन्द निरौला पुस २० गते हाजिर भएपछि खत्रीले उनलाई भनेका थिए, ‘धेरै थाकेको छु, दुई दिन बिदा बस्छु ।’

एयरपोर्टमा कार्यरत एक प्रहरी अधिकारी भन्छन्, ‘दुई दिनसम्म डीआईजी साबको अनुपस्थितिमा ड्युटी गर्दा थाकेको भन्दै उहाँ २० गते मध्यान्ह १२ बजेतिर हिँड्नुभएको थियो, त्यस दिन अफिस आउनुभएन् ।’

बिदा बसेका एसएसपीलाई सीआईबीले हिरासतमै राखेर बयान लिन सुरु गरेको छ । तर त्यस दिन ड्युटीमा रहेका राष्ट्रिय अनुसन्धान, विशेष ब्युरो, लागू औषध नियन्त्रण ब्युरो, महानगरीय अपराध महाशाखा र सशस्त्र प्रहरी बलका अधिकारी भने अनुसन्धानको दायरमा आएका छैनन् ।

विमानस्थलमा कार्यरत प्रहरी अधिकारीका अनुसार राष्ट्रिय अनुसन्धान विभागका प्रहरी एएसपीको कमान्डमा एक्सरे मेसिनसँगै वायरलेस सेट बोकेर बस्छन् । उनीहरुलाई शङ्का लागेमा जुनसुकै सामान चेकजाँच गर्न सक्छन् । त्यस्तै महानगरीय अपराध महाशाखा, लागू औषध नियन्त्रण ब्युरो र प्रहरी प्रधान कार्यालय मातहतकै विशेष ब्युरोका प्रहरीले शङ्कास्पद लगेज चेकजाँच गर्ने अथोरिटी पाएका छन् ।

३३ किलो सुनकाण्ड : पक्राउ परेका एसएसपी श्यामबहादुर खत्री भुरा कि माछा ?

‘तथ्यका आधारमा संलग्न सबै अनुसन्धानको दायरामा आउँछन्’ केन्द्रीय अनुसन्धान ब्युरोका डीआईजी नवराज सिलवालले भने, ‘यसमा ठूलो–सानो भन्ने छैन ।’

सीआईबीले एसएसपी खत्रीलाई पदबाट निलम्बनको लागि प्रहरी प्रधान कार्यालयमा लेखेर पठाउने तयारी गरेको छ भने त्यस दिन ड्युटीमा खटिएका अन्य सुरक्षा अधिकारीबारे पनि अनुसन्धान गरिरहेको छ । ब्युरो स्रोतका अनुसार अन्य सुरक्षा अधिकारी पनि संलग्न देखिएमा पक्राउ पर्नेछन् ।

साढे ३३ किलो सुनकाण्डमा त्रिभुवन विमानस्थल भन्सारको तथ्याङ्क अधिकृत श्रीनारायण यादव र एक्सरे मेसिन टेक्निसियन राजकुमार ढकाल पक्राउ परेसँगै तस्करीमा खत्रीको समेत संलग्नता रहेको खुल्न आएको बताइएको छ ।

प्रहरी स्रोतका अनुसार श्रीनारायण यादवले एसएसपी खत्रीलाई एक लाख दिएर सुन पास गराएको बयान दिएका छन् । यादवको बयानपछि सीआईबीले खत्रीको कल डिटेल मगाएर हेरेको थियो । कल डिटेल हेर्दा यादवसँग लगातार सम्पर्क भएको देखिएपछि ब्युरोकै आग्रहमा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले उनलाई हेड्क्वार्टर फिर्ता बोलाएका थिए । ‘मेरो सबैसँग राम्रो सम्बन्ध थियो, विभिन्न कामका लागि यादवले फोन गर्थे’ केही दिनअघि खत्रीले भनेका थिए, ‘यादवसँग मात्र हैन, एयरपोर्टमा कार्यरत धेरै कर्मचारीसँग मेरो राम्रै सम्बन्ध थियो ।’

एयरपोर्टका शिकार, रविराजदेखि श्याम खत्रीसम्म

२०६९ असोजमा एसएसपी रविराज श्रेष्ठ एयरपोर्टको पहिलो शिकार भएका थिए । एयर दुबईमार्फत १ करोड २४ लाख मूल्य बराबरको विदेशी मुद्रा आफ्नै गाडीमा राखेर विमानसम्म पुर्याउन लगाएको पुष्टि भएपछि उनलाई गृह मन्त्रालयले सेवाबाट बर्खास्त गर्ने निर्णय गरेको थियो ।

तत्कालीन डीआईजी गोपाल भण्डारीका लागि पनि त्रिभुवन विमानस्थल अफाप सिद्ध भयो । ९ लाख भारतीय रुपियाँसहित विभिन्न इलेक्ट्रोनिक सामग्री घुस लिएको आरोपमा २०७१ साउनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनमा उनी निलम्बनमा परे । उनको मुद्दा अझै पनि विशेष अदालतमा विचाराधीन छ । विमानस्थलको शिकार हुने अर्का उच्च प्रहरी अधिकारी हुन् एसएसपी श्यामबहादुर खत्री । हालसम्म आकर्षक स्थानमा फस्ट म्यान भएर काम गर्ने अवसर नपाए पनि प्रहरी सेवाको लामो अवधिमा यसअघि उनी कहिल्यै विवादमा तानिएका थिएनन् । एसपी हुँदा महानगरीय अपराध महाशाखामा काम गरेका खत्रीले नवलपरासीको प्रहरी प्रमुख, सगरमाथा अञ्चल प्रमुख तथा नेपालगञ्ज तालिम केन्द्रमा बसेर काम गरेका छन् । गुल्मीको तम्घास गाविस–४ स्थायी घर भएका खत्री एक वर्षे एरपोर्ट बसाइका क्रममा सुन तस्करसँग मिलेको आरोपमा सङ्गठित अपराध मुद्दा खेप्न बाध्य भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप