बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

बँदेलको अतिक्रमणबाट विस्थापित हुँदै स्थानीयवासी

सोमबार, २४ माघ २०७३, १३ : १०
सोमबार, २४ माघ २०७३

काभ्रे - बालुुवापाटी गाविसका नेत्रप्रसाद ढकाल विगत केही वर्षदेखि बँदेलको अतिक्रमणका कारण ज्यादै नै पीडित हुन् । बँदेलले बालीनाली सबै नष्ट गरिदिएपछि उनी निकै चिन्तित छन् ।

परिवारको प्रमुख आयस्रोत नै खेतीपाती भएकाले बँदेलले बाली नोकसानी गर्दा लगाउन भोकमरीको समस्या आएको उनी बताउँछन् ।

ढकाल जस्तै उक्त क्षेत्रका अन्य स्थानीय बासिन्दा पनि बँदेलको कारण पीडित छन् । अर्का स्थानीयवासी दोमबहादुर घोरसाइने बँदेलले दुःख दिन थालेपछि आफ्नो सबै जग्गा बाँझै राख्नुपर्ने अवस्था आएर विगत पाँच वर्षदेखि खेतीपाती गर्न बन्द गर्नुपरेको बताउँछन् ।

बँदेलले खेती गर्न नदिएपछि गाउँमा भैंँसी पाल्न थालेको बताउने उनी बँदेलले बाली आउन नदिएपछि पशुपालनमा समेत समस्या भएको दुःखेसो गर्छन् ।

उक्त गाविसका स्थानीय एकातिर भूकम्पका कारण पीडित छन् भने अर्कातिर बँदेलको अतिक्रमणका कारण झनै ठूलो समस्यामा छन् ।

भूकम्पका कारण घर भत्किएर बस्ने ठाउँ नभएको र अर्कातिर बँदेलले सम्पूर्ण बालीनाली नष्ट गरिदिएका कारण गाउँबाट वसाइ सर्ने सोचाइ बनाएको बालुवापाटी– ९ का सुब्बा गुरुङ बताउँछन् । बँदेलले सबै बालीनाली नष्ट गरिदिएपछि ज्याला गरेर परिवार चलाउन बाध्य भएको उनलाई बाध्यता भएको छ ।

बालुवापाटी गाविसका नौवटा वडाका स्थानीय बँदेलको अतिक्रमणका कारण ठूलो समस्यामा छन् । बँदेलले दुःख दिन थालेपछि बालुवापाटी गाविसका थुप्रै घरधुरी विस्थापित भइसकेको अवस्था छ । साथै बँदेलकै अतिक्रमणका कारण उक्त गाविसका सयौं रोपनी जमिन बाँझै छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप