बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

निर्वाचनमा कार्यसूचीलाई विशेष ख्याल गर्न जापानका विज्ञको आग्रह

सोमबार, २४ माघ २०७३, १५ : २२
सोमबार, २४ माघ २०७३

काठमाडौँ - सरकारले स्थानीय निकायको निर्वाचनको मिति घोषणाको तयारी गरिरहेको बेला जापानका विज्ञ तथा वरिष्ठ सञ्चारकर्मीले दल विशेषभन्दा पनि कार्यसूचीका आधारमा मात्रै सञ्चार सामग्री प्रकाशन तथा प्रसारण गर्नुपर्नेमा जोड दिएका छन् ।

जापानको प्रमुख प्रसारण संस्था एनएचकेले कुनै पनि दल विशेषलाई प्राथमिकता नदिने बरु एजेन्डा र कार्यक्रम आम जनताकोबीचमा लैजाने र निर्वाचनको स्वतन्त्रता र निष्पक्षतालाई विशेष ख्याल गर्ने गरेको तथ्य औल्याउँदै उनीहरुले निर्वाचन मुलुक र जनताको लागि हो भन्ने विषयलाई प्रमुख प्राथमिकतामा राख्ने गरेको बताए ।

दलले पाएको मतको आधारमा प्रसारण संस्थामा उनीहरुको विचार तथा घोषणा पत्रमा समावेश गरिएका विषयवस्तु राख्ने समय प्रदान गरिने र निर्वाचन आयोगले बनाएको आचारसंहितालाई अक्षरशः पालना गरिने तथा समान रुपमा दल र तीनका गतिविधिलाई स्थान दिने जापानको परम्परा रहेको भन्दै उनीहरुले एनएचकेको सम्पादनमा स्वतन्त्रतापूर्वक निर्वाचन कानुनमा आधारित रहेको सामग्री प्रसारण गरिने समेत जानकारी दिए ।

त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आम सञ्चार केन्द्रीय विभाग र जापानी अन्तर्राष्ट्रिय सहयोग नियोगले आयोजना गरेको निर्वाचनलाई कसरी बढी प्रजातान्त्रिक बनाउन सकिन्छ र त्यसमा आम सञ्चारमाध्यमको भूमिका कस्तो हुनुपर्छ भन्ने विषय कार्यशालामा सहभागी वक्ताले निर्वाचन सम्बन्धी समाचार प्रसारण गर्ने क्रममा प्रसारण संस्थाले संक्षिप्त र स्वच्छ आंकलन गर्दै स्वतन्त्र रुपमा समाचार प्रसारण गर्ने गरेको उल्लेख गरे ।

जनतालाई राजनीतिक र चुनावप्रति रुचि र राजनीतिक सचेतना अभिवृद्धि गर्ने, निर्वाचन कानुन, प्रसारण कानुन र संस्थाको कार्यक्रम सम्बन्धी मापदण्डलाई शिरोपर गर्दै वास्तविक घटनामा आधारित रहेर आलेख तथा रिपोर्ट बनाउने गरेको सन्दर्भ समेत जानकारी गराए ।

निर्वाचनसम्बन्धी सामग्री बनाउँदा राजनीतिक दल, औद्योगिक समूह, कृषक समूह, मजदुर सङ्घ तथा संस्था, धार्मिक संस्था र स्थानीय गर्भनरका भनाइलाई पनि प्रमुख प्राथमिकतामा साथ स्थान दिने गरिएको तथ्य पेस गर्दै जापानी विज्ञ एवम् सञ्चारकर्मीले निर्वाचनको कार्यसूची के छन् र त्यसले पार्ने प्रभाव कस्तो रहन्छ भन्ने बारेमा समेत समाचार बनाउने गरेको तथ्य पेस गरे ।

विशेष गरी एनएचकेले सफल उम्मेदवार, विजयी एवम् पराजित उम्मेदवार, प्रत्येक दलले प्राप्त गरेको स्थान, प्रत्येक दलका नेताको धारणा, जनताको अभिकत, आमजनताको धारणा, निर्वाचन परिणामको विश्लेषणलाई पनि उत्तिकै प्राथमिकता दिने गरेको र कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा गरिने एसएमएस, सामाजिक सञ्जालमा आाएका आधारहिन सामग्रीलाई प्रकाशन, प्रसारण वा वितरण नगर्ने नीति लिएको बताए ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका मानविकी तथा समाज विज्ञान सङ्कायका डिन, डा शिवलाल भुषाल, पत्रकारिता तथा आमसञ्चार विभागका प्रमुख चिरञ्जीवी खनाल, जाइकाका वरिष्ठ सल्लाहकार केनिची हासिमोतो, जाइकाका प्रमुख प्रतिनिधि जुन साकुमा, एनएचके टिभिका कार्यक्रम उत्पादक ताकाओ कोवायासी, एनएचकेका पत्रकार मासाहारु एन्डोले निर्वाचनलाई कसरी स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन सकिन्छ भन्ने बारेमा आफ्नो कार्यपत्र एवम् धारणा रादेका थिए थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप