बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय संगीत क्षेत्रमा पाइला टेक्दै नेपाली ‘माइकल ज्याक्सन’

मङ्गलबार, २५ माघ २०७३, १० : ५६
मङ्गलबार, २५ माघ २०७३

पछिल्लो समय गायक धिरज राई साङ्गीतिक क्षेत्रमा त्यति क्रियाशील छैनन् । धिरज गायनबाट हराए भन्ने पनि धेरै देखिएका छन् । तर उनी भने नेपाली गीत सङ्गीतलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउने एक्सरसाइजमा लागेका छन् । आफ्नो पछिल्लो एल्बम ‘बुद्धज् बोर्न इन नेपाल’ मार्फत उनी विश्व बजारमा पुग्न लागेका हुन् । अन्तर्राष्ट्रिय बजारका लागि उनले ब्लुज, रफ फेबर र नयाँ खालका अङ्ग्रेजी गीतसमेत बनाएका छन् । जुन गीतले विश्व बजारमा तहल्का पिट्ने उनको विश्वास छ । एक समय नेपालका माइकल ज्याक्सन भनेर पनि चिनिन्थे उनी । नेपाली साङ्गीतिक फाँटमा पपसङ्गीत भित्र्याउने श्रेय पनि उनलाई नै जान्छ । नेपाली गीत सङ्गीतमा आफ्नो २५औँ वसन्त समर्पित गरेका उनै गायक धिरज राईसँग सङ्गीतिक यात्राका उतरचढावका विषयमा गरिएको सङा्गीतिक संवाद उनकै शब्दमा ।

पपगीत पहिलो पाइला

वि.सं ०४२/०४३ तिरको कुरो हो । त्यति बेला म कक्षा ८ मा पढ्दै थिएँ । सो समय रेडियो नेपालमा प्रायः एकै खालका गीत सङ्गीत गुन्जन्थे । त्यस्ता गीत सङ्गीतमा युवाका भावना पटक्कै हुँदैनथे । गीतहरु बुबा आमाले मन पराउने आलका थिए । सायद जेनेरेस ग्यापले पनि होला । ती गीतमा मेरो पिँढीको प्रतिनिधित्व थिएन ।

गीत सङ्गीत गम्भीर त थिएँ र तर युवालाई आफ्नो फिल गराउने खालको थिएनन् । म भने आफ्नो उमेर मिल्ने, आफ्नो प्रेम भेटिने गीत सङ्गीतको खोजीमा थिएँ । यसका लागि मलाई नयाँ सङ्गीतको आवश्यकता देखियो । म नयाँ सङ्गीत खोज्न थालेँ । यो नै मेरो पप सङ्गीतको पहिलो पाइला भन्दा हुन्छ ।

त्यतिबेला मलाई पप सङ्गीत के हो, कस्तो हुन्छ भन्ने थाहा थिएन । चलेका सङ्गीत हिन्दुस्थान म्युजिकबाट प्रभावित थिए । मलाई त्योभन्दा वेस्टर्न म्युजिक मन पथ्र्याे । उक्त म्युजिक गाउन इजी थियो । हाम्रा बुबाआमाले जङ्गलमा प्रेम गर्नुहुथ्यो रे । तर हामीले पोस्टकार्ड र कापीका पाना माया प्रेमका कुरा साट्यौँ । मैले मेरो किसिमको माया खोई त गीतमा भनेर खोज्न थालेँ । यसैले मलाई पप सङ्गीतमा डोर्यायो ।

रेडियोमा एकतन्त्रीय शैली

०४४ तिरको कुरो हो । त्यतिबेला रेडियो नेपालमा गाउने मात्र गायकमा गनिन्थे । बाहिर गाउने जति नै प्रतिभाशाली भए पनि गायकमा पर्दैनथे । रेडियोमा गुन्जिने गीत सङ्गीतमा उचनीचको भावना नजानिदो किसिमले प्रशस्तै थियो । भन्नैपर्दा गायक बन्नका लागि रेडियो नेपालको आशीर्वाद अनिवार्य थियो । नत्र गायक बन्न सकिँदैनथ्यो । रेडियो नेपालको एकतन्त्रीय शैली थियो ।

रेडियोमा गुन्जिने गीतका तुलनामा पप सङ्गीतमा अलि खुल्लापन थियो । स्वतन्त्र थियो, उचनीचको भावन थिएन । मैले यही गीत सङ्गीत बोकेर जोसका साथ रेडियो नेपाल त छिरेँ । तर मलाई कुनै स्थान दिइएन । एक वर्ष धाएँ । अवसर पाइन । मेरो गीतलाई रेडियो नेपालले गीत नै सम्झिएन । त्यहाँका अग्रजहरुले ठट्टामा उडाए । त्यसपछि मैले मजस्तै साथीहरुको सानो झुन्ड बनाएर पपगीत गाउन थालेँ । यो नै मेरो रियल जीवनको पपसङ्गीत यात्राको सुरुवात थियो । गाउँदै जाँदा यो नै पपसङ्गीत भन्ने थाहा पाएँ ।

लगाएको जुत्ता बेचेँ

जतिबेला म पपगीत गाउन थालेँ, सो समयमा माइकल ज्याक्सन विश्वमै चर्चित थिए । म्याडोना पनि चलेका थिए । मलाई पनि उनीहरुको जस्तै वेस्टर्न सङ्गीत सजिलो लाग्यो । यसको हुनुको कारण पनि छ । देशमा चलेको सङ्गीतमा धेरै बाजा चाहिन्थ्यो । शब्दमा पनि साहित्य बढी भएको चाहिन्थे । यसको तुलनामा पपसङ्गीत सरल थियो । थोरै बाजाले पुग्थ्यो ।

मैले पप सङ्गीत त रोजेँ तर गीत रेकर्ड गर्न मसँग पैसा थिएन । काठमाडौँको महँगो बसाइ, बुबाआमाले भर्खर जागिर पाएको अवस्था । घरबाट दिने बाटो थिएन । मसँग एउटा मूल्यवान जुत्ता थियो । त्यो जुत्ता मेरी आमाले कक्षा ८ मा फस्ट भएपछि पुरस्कार दिनुभएको थियो । ममीसँग सर्त नै थियो यो पढाइको । उक्त जुत्ता लगाउँदा म टोलभरीको हिरो थिएँ । तर गीत रेकर्ड गर्ने पैसा नहुँदा बेच्नुपर्यो । जुत्ता बेच्दा टोलभरी नै मेरो मोरल डाउन भयो । जुत्ता बेचेर मैले ‘लुकी लुकी’ बोलको गीत रेकर्ड गराएँ । भाग्य नै भनौँ, मेरो यो गीत हिट भयो । गीतले म जस्तै युथ दर्शकलाई आकर्षित गर्यो ।

मैले ब्रेक गरेँ

जब मेरो लुकी लुकी गीत हिट भयो । सो समयमा म जस्तै गीत गाउने केही व्यक्ति पनि देखिएका थिए । सबैभन्दा अलग म थिएँ । गायन र नृत्य मिसाएर एकसाथ प्रयोग गर्न सकिन्छ भन्ने मान्यता मेरो थियो । त्यतिबेला गायकले बसेर गाउने र हिरो देखिने हो भन्ने मान्यताले जरो गाडेको थियो । त्यो मान्यतालाई मैले ब्रेक गरेँ । गायकले हिरो जस्तै गाउन र नाच्न पनि सक्छ भन्ने मैले प्रमाणित गरेर देखाएँ । यसको प्रयोग मैले रेडियो नेपालको वार्षिक उत्सवमा गरेको थिएँ ।

थुप्रै गायक गायिका र मिडियाका व्याक्ति उपस्थित उक्त कार्यक्रमा मैले मिश्रित प्रतिक्रिया पाएँ । केहीले यास्तो प्रस्तुति कसैले दिएका छैन भने । केहीले धिरज तिमीले नौटङ्की गर्यौ भने । कतिले त कि नाच कि गाऊ मात्र भनेर हकारे । तीमध्ये धेरैले गीत सङ्गीत यसरी पनि प्रस्तुत गर्न सकिने रहेछ भनेर पोजेटिभ रूपमा लिए । गीतसङ्गीतमा नयाँ प्रयोग भयो भनेर चर्चा गरे । मिडियामा पनि यस्तैयस्तै आउन थाल्यो । मिडियाका साथीहरु जो परिवर्तन र यर्थातवादीलाई तोड्न चाहँदैन थिए । उनले मेरो विरोध गरे । यस समय सङ्गीतमा दुई धार देखापर्यो । म चाहिँ नयाँ धारको प्रतिनिधि थिएँ । यही धार समाएर अगाडि बढेँ ।

कफन बाँधेर लडाइँमा

नयाँ धार लिएर अगाडि बढ्दैजाँदा म रेडियो नेपालका लागि भिलेन भएँ । रेडियोका गायकहरुमा मैले विस्थापित गराउँछु भन्ने डर देखियो । म पनि कफन बाँधेर लडाइँमा हिँडेको मान्छे जस्तो अगाडि बढ्दै गए । जे गरेर भए पनि धार स्थापित गर्न लागिपरे । त्यति बेला मलाई मजस्तै भर्खर स्कुल छाडेका, कलेज पढ्ने विद्यार्थीले च्याप्पै समाए । एक कलेजबाट अर्काे कलेज हुँदै कलेज कलेजमा मेरो डिमान्ड हुन थाल्यो । सबै कलेजका कार्यक्रममा धिरज राई चाहिन थाल्यो । विभिन्न मिडियाले पनि नयाँ विचार लिएर आएका गायक भनेर प्रचार गरिदिए । त्यतिबेला कालो पत्रिका निस्किन्थ्यो । चारैतिर म छाउन थालेँ । कलेजको प्लेटर्फम मेरो चिनिने माध्यम बन्यो ।

केलेज कलेजका कार्यक्रम जारी नै थिए । एक कलेजको कार्यक्रमबाट मलाई दुई हजार रुपियाँ दिइयो । यो मेरो गायनको पहिलो कमाइ थियो । गीत गाएर पैसा आउँछ भन्ने मेरो मनमा कहिलै थिएन । पैसा हातमा आएपछि झन् मनमा उत्साह थपियो ।

म गाउँदै गएँ । मेरो गीत सङ्गीतको माहोल बढ्दै काठमाडौँका नेवार समुदायसम्म पुग्यो । सो समय मेरो हातमा धेरै पैसा आयो । पैसा पनि आउने आफ्नो कला पनि बढ्ने भनेर प्रोत्साहित हुँदै म लाग्दै गएँ । नाच्ने गाउने गायक मेरो इमेज बन्यो । ‘तिम्रा नयन, तिम्रा अधर’ गीत मेरो यही समय हिट भयो ।

पैसा चाख्ने मौका

‘तिम्रा नयन, तिम्रा अधर’ बोलको मेरो गीत हिट भएको समय नेपालमा क्यासेट चक्काको भर्खर विकास भएको थियो । पप सङ्गीत त्यो गीत हो जसले हिन्दी गीतको मार्केट काट्न सक्छ भन्ने भनाइ समेत सङ्गीतकार रमन घिमिरेले राखेका थिए ।

यही समय मेरो गीत क्यासेट चक्कामा आयो । एक चक्काको बिक्रिबाट ६ रुपियाँ रोएल्टी आउँथ्यो । मेरो पहिलो क्यासेटबाट तीन लाख हात पर्यो । सोही समय मैले पैसाको मज्जा चाख्ने मौका पाएँ । दुई लाख क्यासेटको बिक्रीबाट मेरो हातमा एकैपटक १० लाख रुपियाँ पर्यो । मभन्दा अगाडिको गीत सङ्गीतले व्यावसायिक गति लिएको थिएन । मसँगै आएको गीत सङ्गीतले भने व्यावसायिक गति लियो ।

ममीले शङ्का गर्नुभयो

२०४८ सालमा मेरो पहिलो एल्बम प्रियसी आयो । त्यसपछि ०५१ देखि ०६२ सम्म मेरो साङ्गीतिक यात्राले निकै रफ्तार लियो । मसँग धेरै पैसा हुनथाल्यो । दिनदिननै गायनबाट आएको एक लाख ममीलाई दिनथाले । यो देखेर ममीले ममाथि शङ्का गर्नुभयो, दिनदिनै यति धेरै पैसा कहाँबाट आउँछ भनेर । छोराले गल्ती गरेर पैसा ल्याइरहेको त छैन भन्ने बुझ्न थाल्नुभयो । यही समय मैले जग्गा किने, घर बनाएँ । म सुरक्षित भएँ । गायनमा लागेदेखि नै मलाई घर बनाउनुथियो । गायन क्षेत्र सकिए पनि बस्ने घर भयो भन्ने बाँच्ने आधार हुन्छ भन्ने मेरो सोच थियो । त्यसपछि इन्जिनियरिङ पढेँ र अङ्ग्रेजीमा मास्टर सकाएँ । यो समयलाई पप सङ्गीतको स्वर्णिम युग भन्छु म । किनभने यो समय गायन लाग्नेसँग पैसा पनि भयो । गीत गाउनुभन्दा अगाडि एड्भान्स आउन थाल्यो । तर ०६३ पछि गीत सङ्गीत ओरालोतिर लाग्यो ।

त्यो दिन सुत्न सकिन

गायनमा लागेर हिट हुँदा पनि मेरो विदेश गर्ने कार्यक्रमको अवसर सन् १९९७ मा हङ्कङको जुर्यो । उक्त समय भर्खर हङ्कङ चाइनालाई हस्तान्तरण गरिएको थियो । ब्रिटिस गोर्खालीले पनि बस्ने अवसर पाएका थिए । मलाई कार्यक्रका लागि बोलावट आयो । म छक्क परेँ । म देशको डिमान्डमा त थिएँ । तर विदेशमा कसैले चिन्दैनन् भन्ने लाग्थ्यो । कार्यक्रमका लागि चालिस हजारको अफर आयो । त्यति बेला यो पैसाले काठमाडौँमा चारआन जग्गा आउँथ्यो । गाएर विदेश घुम्न पाउँछु भन्ने मैले सोचेको पनि थिइनँ । त्यसैले हङ्कङ उड्ने दिन रातभर सुत्न सकिन । कस्तो होला देश, कस्ता होलान् मेरा गीत सुन्ने मानिस लगायतका अनेक कुरा मनमा खेल्थे । हङ्कङबाट सुरु भएको मेरो विदेश यात्रा अहिले पनि जारी छ । अहिलेसम्म करिब ३६ देश घुमिसके ।

म हराएको होइन

मलाई लाग्छ सबैभन्दा बढी विदेश घुम्ने नेपाली गायक नै म हुँ । आर्थिक पनि लाभ लिएको छु । म मात्र होइन । धेरै कलाकार आर्थिक सम्पन्न हुने मौका विदेशी कार्यक्रमले दिलाएको छ । कसैलाई अन्दाज नै छैन कि गीत सङ्गीतबाट धेरै पैसा आउँछ भन्ने । गीतको पछाडि कुदेको मलाई पैसा नाम, इज्जत सबै हात लाग्यो । ०६३ पछि सङ्गीत क्षेत्र ओरालो लाग्यो । देशको राजनीतिक अस्थिरताले जनमानसमा दैनिक गुजार गर्न धौ–धौ हुन थाल्यो । मनोरन्जनमा कम देखिन थाले । यो क्रम ०७० रह्यो । स्वदेशको कमाइ घटेको समयमा पनि मैले १८ वटा देश घुमे । विदेशी कार्यक्रममा व्यस्त भएकाले यो समयमा मलाई स्वदेशी दर्शकले हरायो भने ।

ठूलो माछा ताक्दै छु

करिब एक वर्ष अगाडि मैले गौतम बुद्ध नेपालमा जन्मिएको अभियान चलाएँ । यही समय मैले निकालेको बुद्धका विषयको गीत धेरै चल्यो । यो मेरो पाँच वर्षपछि निस्केको नयाँ गीत थियो । अब अर्काे एल्बमको तयारीमा छु । करिब सात वर्षपछि एल्बम ल्याउन लागेको हो । एल्बममा ब्लुज, रफ फेवरका र नयाँ खालका गीत छन् । यस एल्बमका लागि म ठूलै रकम हेर्दैछु । अर्थात् एल्बम विश्व सङ्गीत बजारमा लन्च गर्ने तयारी मेरो छ । यो मेरो पूरै अङ्ग्रेजी गीतको एल्बम हो । नेपाली कलाकार विदेशी मार्केटमा जानुपर्छ भनेर यो प्रयास थालेको हो । मलाई बेल्जियमको बिजिबियो ओम रेकर्डको साथ दिएको छ । एल्बमको नाम पनि ‘बुद्धज् बोर्न इन नेपाल’ राखेको छु । हामीले हाम्रो सामान सस्तोमा बेचेका रहेछौँ भनेर मलाई अहिले फिल भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप