बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

स्थानीय निकायका कर्मचारी कालोपट्टी बाँधेर विरोधमा

मङ्गलबार, २५ माघ २०७३, १३ : २९
मङ्गलबार, २५ माघ २०७३

कञ्चनपुर - जिल्लानस्थित स्थानीय निकायका कर्मचारी मङ्गलबारदेखि कालोपट्टी बाँधेर विरोधमा उत्रिएका छन् ।

स्थानीय निकायमा अस्थायी तथा करारमा रही जीवनको ऊर्जाशील समय खर्च गरेका छ हजार कर्मचारीलाई स्थायी गर्नुपर्नेलगायत पाँच सूत्रीय माग अघि सार्दै कर्मचारी विरोधमा उत्रिएका हुन् ।

नयाँ बन्ने संरचनामा आफ्ना सेवा, सुविधा, वृत्ति विकास सुनिश्चित हुनुपर्ने माग गरेका कर्मचारीले स्थानीय तहका संरचनामा कर्मचारीको व्यवस्थापन र समायोजन गर्दा जिविस, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाविसमा कार्यरत स्थायी, अस्थायी र करार कर्मचारीलाई पहिलो प्राथमिकतामा राखी व्यवस्थापन र समायोजन गरिनु पर्ने, स्थानीय निकाय कर्मचारी सङ्घ कञ्चनपुरका अध्यक्ष प्रेम बोगटीले बताए ।

उनले कर्मचारी व्यवस्थापन गर्दा ज्येष्ठता, योग्यता तथा कार्यसम्पादन मूल्याङ्कनका आधारमा श्रेणी मिलान गरिनु पर्ने, समायोजनमा जान नचाहने कर्मचारीलाई विशेष सुविधा दिई अवकाशको सुविधा दिनुपर्ने, स्थानीय तहका दरबन्दीलाई प्रदेशस्तरमा एकीकृत गरी निश्चित प्रणालीका आधारमा पदस्थापन र सरुवाको व्यवस्था गरिनु पर्ने माग अघि सारिएको बताए ।

“माग पूरा नभए सशक्त आन्दोलनका कार्यक्रम गर्छौं” – अध्यक्ष बोगटीले भने ।

आन्दोलनमा स्थानीय कर्मचारी सङ्घ, नेपाल नगरपालिका कर्मचारी एसोसिएसन भीमदत्तनगरपालिका, नेपाल नगरपालिका कर्मचारी एसोसिएसन दोधारा चाँदनी नगरपालिका, नेपाल नगरपालिका कर्मचारी एसोसिएसन पुनर्वास नगरपालिका र गाविस कर्मचारी सङ्घले एक्यबद्धता जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप