बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

भक्तपुरमा भूकम्पपीडितलाई अनुदान वितरण, थप बीस करोड निकासा

मङ्गलबार, २५ माघ २०७३, १५ : ५६
मङ्गलबार, २५ माघ २०७३

भक्तपुर - भक्तपुरका छवटा नगरपालिकाका भूकम्पपीडित (लाभग्राही) लाई पहिलो किस्ताको अनुदान रकम रु ५० हजार वितरण सुरु भएपछि नपुग रकममध्ये थप रु २० करोड निकासा भएको छ ।

जिल्लाका १८ हजार लाभग्राहीका लागि सरकारले पठाएको रु ९० करोड रकम तोकिएको बैंक मार्फत वितरण भइरहेको र नपुगमध्येको रकम माग भएअनुसार रु २० करोड थप निकासा भएर आएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिका प्रमुख मुरारी वस्तीले जानकारी दिए ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भक्तपुरमा प्रमाणित गरी पठाएका २६ हजार १६ लाभग्राहीमध्ये हालसम्म २० हजार १५० लाभग्राहीसँग यहाँका नगरपालिकाले पहिलो किस्ताको अनुदान रकमका लागि सम्झौता गरेको छ ।

तीमध्ये जिविसले १८ हजार २८ लाभग्राहीको थप प्रमाणीकरण गरी कोष तथा लेखानियन्त्रण कार्यालय ९कोलेनिका० पठाएअनुसार आएको ९० करोड रुपैयाँ बजेट वितरण भइरहेको र नपुग रकम माग भएअनुसार रु २० करोड थप भएर आएको उनले जानकारी दिए ।

लाभग्राहीको सूचीमा सूचीकृत भएका सबै लाभग्राहीलाई पहिलो किस्ताको रकम वितरण गर्न अझै रु २० करोड ८ लाख अपुग रहेको छ । अनुदान रकम वितरण गर्दा पहिला अनुदान सम्झौता गरेका लाभग्राहीलाई क्रमैसँग वितरण गरिएको छ । सुरुसुरुमा अनुदान सम्झौता भएका लाभग्राहीको सूची अनुसार क्रमैसँग वितरण गरिएको हो ।

भक्तपुर नगरपालिकाको चार हजार ३४९, मध्यपुरथिमीको ९३८, नगरकोटको तीन हजार ४१२, चाँगुनारायण नगरपालिकाको तीन हजार ३२९, अनन्तलिङ्गेश्वरको दुई हजार ६१२ र सूर्यविनायकको तीन हजार ३६० लाभग्राहीले पहिलो किस्ताको अनुदान रकम पाउने भएका छन् ।

अनुदान सम्झौता भएका लाभग्राहीहरुले खाता खोलेका तोकिएको बैंकबाटै अनुदान रकम पाउने व्यवस्था गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप