बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

पत्रकारलाई गाउँबस्ती पुग्न सञ्चार मन्त्रीको सुझाव

मङ्गलबार, २५ माघ २०७३, ०८ : ५४
मङ्गलबार, २५ माघ २०७३

काठमाडौं– सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कार्कीले नेपालमा आमसञ्चार विश्वविद्यालयको खाँचो रहेको बताएका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालमा कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशनले आमसञ्चार विश्वविद्यालयको पहलको लागि आयोजना गरेको बृहत्त अन्तरक्रिया कार्यक्रममा मन्त्री कार्कीले यस्तो बताएका हुन् । मन्त्री कार्कीले नेपालको पत्रकारिता चर्चामैत्री भएको भन्दै यस्तो पत्रकारिताले समाजलाई सहि बाटोमा डोर्याउन नसक्ने जिकिर पनि गरे ।

उनले दुर–दराजका बिषयलाई स्थान नदिएर केन्द्रमैत्रि समाचार बनाउन पत्रकार उद्दत रहेको पनि बताए । भने,‘एउटा कुनै घटना घट्छ, त्यसको बारेमा पाँचवटा पत्रिकामा फरक–फरक समाचारहरू आउँछन्, कुन समाचार सत्य मान्ने ? अर्कोतर्फ पत्रकारहरू नयाँ बानेश्वर, रत्नपार्क, सिंहदरबार वरिपरि भेटिने गर्छन्, गाउँबस्तिमा पत्रकारहरू पुग्दैनन्, दुःखका साथ भन्छु, नेपालको सूचना क्षेत्र स्वतन्त्र रुपमा चल्न सकेन ।’

’कार्यक्रममा प्रमुख सूचना आयूक्त कृष्णहरी बाँस्कोटाले कुनैपनि विश्वविद्यालय स्थापना गर्नुपूर्व अभ्यास गर्नु पर्ने बताए । उनले भने, ‘सही सूचना नपुगेको कारण जनताको अधिकार जनताकोबीचमा पुगेका छैनन्, तर सिंहरबारभित्र मात्रै शालिक बनाएर गर्व गरेका छौँ ।’

शिक्षाविद् डा. विद्यानाथ कोईरालाले मानित विश्वविद्यालयको स्थापना गर्ने या त खुला विश्वविद्यालयको आवश्यकता हो त्यो छुट्याउनुपर्ने बताए ।

कार्यक्रममा काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति डा. सुरेश शर्माले विश्वविद्यालय स्वायत्त हुनपर्नेमा जोड दिए । शर्माले समयको माग अनुसार विश्वविद्यालयको खाँचो रहेको भन्दै हरेक क्षेत्रमा दक्ष जनशक्ति नभएसम्म कुनै पनि कामको गुणस्तर खोज्नु सान्दर्भिक नहुने बताए । त्रिभुवन विश्वविद्यालयका पूर्व–उपकुलपति केदारभक्त माथेमाले हरेक क्षेत्रमा केन्द्रिकृत प्रक्रिया रहेको र यसलाई तत्काल सबैमा क्षेत्रमा विस्तार गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशनकी संस्थापक प्रिन्सिपल डा. मञ्जु मिश्रले नेपालमा स्वतन्त्र पत्रकारिताको लागि पनि आमसञ्चार पत्रकारिता विश्वविद्यालय स्थापना गर्नुपर्नेमा जोड दिईन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप