मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

कुपोषणका कारण एक बालिकाको मृत्यु

बुधबार, २६ माघ २०७३, ११ : १८
बुधबार, २६ माघ २०७३

डडेल्धुरा - कुपोषणले पीडित रहेकी बालिकाको उपचार हुन नसक्दा मृत्यु भएको छ ।

कुपोषणको उपचार नहुँदा चौखाम–९ की मुना धामीकी पाँच वर्षीया छोरी बिनाको मृत्यु भएको होे ।

पाँच किलोमात्रै तौल भएकी बिनाको समयमै उपचार नहुँदा गत सोमबार राति १० बजे मृत्यु भएको स्थानीय जनकसिंह धामीले बताए । जन्मँदै सुकेनासले सताइएकी बिनालाई उपचारका लागि गत महिना उपक्षेत्रीय अस्पताल डडेल्धुरा लगिएको थियो । डडेल्धुराले धनगढी रिफर गरेपनि आर्थिक अभावले लैजान नसक्दा घरमै मृत्यु भएको हो ।

मैले आफ्नै खर्चमा आमाछोरीलार्ई डडेल्धुरा लगेको थिए, धनगढी लगेर उपचार गराउन खर्च जुटाउन नसक्दा बच्चीको मृत्यु भएको मुनाका आफन्त पर्ने धामीले जानकारी गराए ।

चिकित्सकले धनगढीमा रहेको पोषण पुनःस्थापना गृहमा उपचारका लागि जान सल्लाह दिएपनि खर्च नहँुदा जान नसकेको उनको भनाइ रहेको छ ।

४० वर्षीया मुनाका अरु दुई छोरी र एक छोरा भने स्वस्थ छन् । कान्छी छोरीमा जन्मँदै कुपोषण भएको धेरै पछि थाहा भएको हो । कुपोषण भएको थाहा पाएपछि पनि समयमै उपचार हुन नसक्दा ज्यान गुमाउनुपरेको हो ।

पोषणयुक्त खानेकुरा समयमा नख्वाएकै कारण बच्चामा कुपोषण भएको तीन महिनाअघि मात्रै स्वास्थ्य चौकीबाट थाहा पाएको मुनाले बताइन् । मुनाका पति क्षयरोगका बिरामी छन् र पनि उनी मजदुरीका लागि भारतको दिल्लीमा छन् ।

घरको आर्थिक अवस्था कमजोर भएपछि उपचार गराउन नसक्दा छोरीको ज्यान गएको मुनाले बताइन् । सरकारी गैरसरकारी संस्थाले स्वास्थ्यकोे क्षेत्रमा काम गरिरहेका भए पनि १३ प्रतिशत बच्चामा कुपोषण रहेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप