मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीद्वारा सुकुम्बासीलाई जग्गाधनी पुर्जा वितरण

बुधबार, २६ माघ २०७३, १४ : ४७
बुधबार, २६ माघ २०७३

चितवन - प्रधानमन्त्री पुष्पकमल दाहालले सुकुम्बासीको समस्या दिगो र स्थायी हुने गरी छिट्टै समाधान गरिने बताएका छन् ।

नेकपा (माओवादी केन्द्र) चितवनले आज भरतपुर उपमहानगरपालिका– १७ को माडेचौरमा आयोजना गरेको लालपुर्जा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै सुकुम्बासी व्यवस्थापनका लागि नीति र कार्यक्रम मन्त्रिपरिषद्बाट छिट्टै पारित गरिने बताए ।

आफू पहिलोपटक प्रधानमन्त्री हुँदा वैकल्पिक व्यवस्था नभएसम्म सुकुम्बासीलाई बसिरहेको ठाउँबाट नहटाउने निर्णय गरेअनुरुप अहिले आ–आफ्नो ठाउँमा बसिरहेको बताए ।

नेपालमा सुकुम्बासी समस्या प्रमुख र संवेदनशील रुपमा रहेको भन्दै उनले बस्ने ठाउँ सबै नेपालीले पाउनुपर्ने बताए ।

शिक्षा, स्वास्थ्य र रोजगारी संविधानमा आधारभूत अधिकारभित्र राखिएको भन्दै प्रधानमन्त्री दाहालले त्यसलाई व्यावहारिक रुपमा अगाडि बढाउन नीति नियम बन्दै गरेको बताए ।

सो अवसरमा उनले देशको राजनीतिक परिस्थिति निकै जटिल अवस्थामा रहेको भन्दै निकट भविष्यमा हुनलागेको तीन तहको निर्वाचन सफल बनाउन सबैसँग आग्रह गरे । निर्वाचनको तयारीमा सरकार जुटिसकेको भन्दै उनले निर्वाचनसँगै संविधान कार्यान्वयन भएर जाने बताए ।

उक्त स्थानमा भगवती फार्म प्रालिको नाममा रहेको ११ बिगाहा जग्गा विसं २०५८ मा तत्कालीन नेकपा ९माओवादी०ले कब्जा गरेको थियो । सो जग्गालाई गतवर्षको जेठमा माओवादी निकट व्यवसायी कृष्णप्रसाद अधिकारीसहितको समूहले भगवती फार्म प्रालिबाट कब्जापछि बसेका सुकुम्बासीलाई जग्गा दिने सहमतिमा खरिद गरेको थियो । सोही जग्गामा बसेका १५६ घरधुरीलाई प्रतिपरिवार ६ धुरका दरले जग्गाको लालपुर्जा आज वितरण गरिएको हो ।

सोही अवसरमा स्थानीय विद्यालय र बाटिका निर्माणका लागि पाँच कठ्ठा जग्गासमेत हस्तान्तरण गरिएको छ । सुकुम्बासी र विद्यालय एवम् बाटिकालाई जग्गा प्रदान गरेपछि बाँकी रहेको सबै जग्गा बिक्री गरिसकिएको जग्गाधनी कृष्णप्रसाद अधिकारीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप