मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

अहिलेसम्म कानून नै छैनन्, कसरी निर्वाचन गर्ने ? : प्रमुख निर्वाचन आयुक्त

बिहीबार, २७ माघ २०७३, १६ : १९
बिहीबार, २७ माघ २०७३

काठमाडौं– प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले आयोगमा अहिलेसम्म सरकारले निर्वाचनसम्बन्धी कुनैपनि ऐन/कानूनहरु नदिएको बताएका छन् ।

बिहीबार काठमाडौमा भएको साक्षात्कारमा प्रुमख निर्वाचन आयुक्त डा. यादवले सरकारले दिनुपर्ने निर्वाचनसम्बन्धी ऐन तथा कानूनहरु आयोगलाई नदिएको गुनासो गरेका हुन् । यादवले भने,‘निर्वाचन आयोगसम्बन्धी ऐन र मतदाता नामावली ऐन राष्ट्रपतिबाट प्रमाणिकरण भैसकेको छ, तर आयोगले अहिलेसम्म पाएको छैन, अनि कसरी हामीले काम गर्ने ?’

साक्षात्कारमा यादवले सरकारले निर्वाचनको मिति समेत अहिलेसम्म नतोकेको गुनासो पनि पोखे । उनले भने,‘सरकारले हामीलाई निर्वाचनको लागि तयारी गर्नुहोस् भनेर पत्राचार गर्यो, हामीले त्यही पत्रको आधारमा काम गरिरहेका छौं, हामीले त्यो पत्रको जवाफ पनि कार्यविधि सहित सरकारलाई दिईसकेका छौं, तर सरकारले निर्वाचनको मिति नै तोकेको छैन् ।’

उनले निर्वाचनको मिति र स्थानीय तह पूर्नसंरचना आयोगको प्रतिवेदन चाँडो भन्दा चाँडो उपलब्ध गराउनुपर्ने माँग गर्दै त्यसो भएमात्रै आफूहरुले जेठभित्र चुनाव गराउन सक्ने स्पष्ट पारे । यादवले भने,‘२०६३ सालमा जेठमा चुनाव गराउने भनेर मिति घोषणा गर्दा आयोगले त्यतिवेला चैत्र २९ गते चुनाव गराउन सक्दैनौं भनेर हामीले सरकारलाई भनेका थियौं, त्यस्तो स्थिति अहिले नआओस्, संघीय लोकतान्त्रिक गणतन्त्र र संघीयता धरापमा पर्न सक्छ भनेर हामी निर्वाचनको लागि तयारी अवस्थामा जुटेका छौं ।’ उनले आगामी २०७४ माघ ७ गतेभित्रै तीनै तहको निर्वाचन गराउनुपर्ने संवैधानिक बाध्यतालाई आत्मसात गर्दै सरकारसँग आफूहरुले माँग गरेको अनुसारको सबै कुरा छिटो पाउनुपर्ने बताए ।

यादवले थपे,‘ऐन, कानून, मिति पाएनौं भने चुनाव हुँदैन भनेर भन्ने स्थिति नआओस् ।’ उनले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको लागि निर्वाचन क्षेत्र निर्धारण आयोग समेत चाँडो गठन गर्नुपर्ने माँग गरे । उनले निर्वाचन सफल बनाउनको लागि मिडियाको ठूलो हात हुने भएकोले सकारात्मक सहयोग गर्नुपर्ने धारणा राखे ।

त्यस्तै उनले निर्वाचनलाई स्वच्छ, पारदर्शी, विश्वसनीय र मत वदर हुन नदिनको लागि आधुनिक भोटिङ् मेशिन उपयोग गर्ने भन्नेबारेमा समेत बहस भैरहेको जनाए ।

विद्युतीय भोटिङ् मेशिन प्रयोग गर्नेबारे निर्वाचन आयोगमा हालै भएको अन्तरक्रियालाई लिएर निर्वाचन आयोगले विदेशी मेशिन किनिसकेको भनेर गलत प्रचार गरेको बताउँदै आपत्ति जनाए ।

उनले भने,‘नेपालमा हामीले एनआईडी र एमआरपीको बारेमा राम्रोसँग थाहा छ, हामी सम्पूर्ण प्रोकुरमेन्ट पूरा गरेर मात्रै यसबारेमा अघि बढ्छौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप