मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

म्याग्दीको टिमुर अस्ट्रेलिया निकासी

बिहीबार, २७ माघ २०७३, ०८ : ५४
बिहीबार, २७ माघ २०७३

म्याग्दी - यहाँ उत्पादन भएको टिमुर अस्ट्रेलिया निकासी को अन्तर्राष्ट्रिय बजार खोज्न थालिएको छ ।

बेनी नगरपालिका–१० तोरीपानीका कृषकले उत्पादन गरेको टिमुर यस वर्ष अस्टे«लिया निकासी भएको हो । काठमाडौँको फरेस्ट फर हेल्थ संस्थासँग समन्वय गरेर बजार परीक्षणका लागि अस्ट्रेलियामा १८० किलो टिमुर पठाइएको भुमेसिद्ध टिमुर सञ्जाल तोरीपानीका अध्यक्ष सागर बानियाँले जानकारी दिए ।

“यहाँबाट पठाएको टिमुरको गुणस्तर राम्रो भएको प्रतिक्रिया आएको छ,” बानियाँले भने “यसै वर्ष थप २० किलोग्राम टिमुर पठाउने तयारीमा छौँ ।” आगामी वर्षदेखि गाउँमै प्रशोधन र प्याकेजिङ गरी निकासी गर्न पहल गरिएको उनको भनाइ छ ।

यसअघि विस २०७१ मा जर्मनीमा बजार परीक्षणका लागि ८० किलो टिमुर पठाइएको थियो । टिमुर अचार, दाल र चटनीमा तथा शरीरलाई न्यानो बनाउन, हाडजोर्नी, पेट दुख्दा र लेक लाग्दा आयुर्वेदिक औषधिका रुपमा प्रयोग गरिन्छ । न्यूनतम प्रतिकिलो रु एक हजार ४०० का दरले टिमुर बिक्री भइरहेको छ ।

यस वर्ष तोरीपानीबाट रु ३० लाख दुई हजारको दुई हजार १६४ किलो टिमुर निकासी भएको छ । अस्ट्रेलियामा १८० किलो, मुस्ताङमा २०८, बेनीमा ४९६, पोखरा र काठमाडौँमा एक हजार २८० किलो टिमुर निकासी भएको छ । टिमुर बेचेर एउटा परिवारले वर्षमा रु ६० हजारसम्म आम्दानी गर्ने गरेका भुमेसिद्ध टिमुर सञ्जाल घतानका आनन्द रिजालले बताए ।

सञ्जालअन्तर्गत १९ वटा समूहमा आबद्ध करिब १०० घरधुरीले व्यावसायिक टिमुरखेती गर्दैआएका छन् । तोरीपानीमा टिमुरको नर्सरी समेत छ । यस वर्ष ५० हजार टिमुरका बिरुवाको माग आएको नर्सरी सञ्चालक सागर बानियाँलले बताए । लमजुङ र पाल्पाबाट ४५ हजार तथा म्याग्दीबाट पाँच हजार बिरुवाको माग आएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप