मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

कालिपुल बसपार्कको अस्तव्यस्तताले बेनीलाई गिज्याँउँदै

बिहीबार, २७ माघ २०७३, ०६ : ४३
बिहीबार, २७ माघ २०७३

म्याग्दी– म्याग्दीकी अग्रज गायिका मन छन्त्यालले गाएको ‘‘बेनीको बजार जता माया उतै छ नजर’’ बोलको गितले बेनीको सुन्दरतालाई विश्वरभर चर्चित बनाएको छ । म्याग्दी र कालिगण्डकी नदीको दोभानमा प्राकृतिक भूबनोटले सु–सज्जीत ठाउँमा गुजुमुजुक्क मिलेर बनेको बेनी बजार निकै सुन्दर र आकर्षक बजारभित्र पर्छ ।

तर बेनीबजारको सुन्दरतालाई कालिपुल क्षेत्रमा पछिल्लो समय बढेको अस्तब्यस्तताले भने गिज्याईरहेको छ । म्याग्दी प्रवेशद्धारको रुपमा रहेकोे कालिपुल क्षेत्रको अव्यवस्थित बसपार्क, धुलाम्मे सडक र जथाभावि फालिने फोहोरले कालिपुल बसपार्क क्षेत्र अस्तव्यस्त बन्दै गएको हो ।

सडक कालोपत्रे नहुँदा सडकका खाल्टाहरुमा लामो समयदेखि थुप्रिने हिलो र फोहोरले दुर्गन्ध समेत फैलने गरेको छ । मुक्तिनाथ प्रवेशद्धारको रुपमा रहेको बेनी बजार हुँदै दैनिक सयौ तिर्थयात्री र आन्तरिक तथा बाह्य पर्यटकहरु ओहोर दोहोर गर्दै आएपनि यहाँको अस्तव्यस्ताले भने म्याग्दीको नकारात्मक सन्देश प्रवाह गर्ने स्थानीयबासी बताउँछन् ।

कालिपुल क्षेत्रको व्यवस्थापनमा लामो समयदेखि स्थानीयबासीले पहल गर्दै आएपनि अहिलेसम्म सम्बन्धित निकायले ध्यान दिन नसकेको कालिपुल आमा समुहकी अध्यक्ष समेत रहेकी बेनी नगरपालिका–७ की वडा नागरिक मञ्चकी अध्यक्ष भुलमायाँ तिलीजाले बताइन् ।

‘‘ कालिपुल बसपार्क स्थापना भएसंगै यो क्षेत्र अस्तव्यस्त बन्दै आएको छ, आमा समुहले सरसफाईमा सक्रियता देखाएपनि ढल व्यवस्थापन र बसपार्क क्षेत्र कालोपत्रे नहुँदा समस्या देखिएको छ’’–अध्यक्ष तिलिजाले भनिन् । सदरमुकाम बेनी बजारको अधिकाँश भाग कालोपत्र भईसक्दा समेत अहिलेसम्म कालिपुल क्षेत्रमा सडक र बसपार्क क्षेत्र कालोपत्रे हुन सकेको छैन् । हिउँदमा धुलो र बर्षातको धुलोले स्थानीयबासी संगै यात्रु, बसपार्कमा खटिने ट्राफिक प्रहरी र सवारी चालकहरुले समेत सास्ती खेप्दै आएका छन् । म्याग्दी र मुस्ताङका विभिन्न ठाउँको भम्रणमा आउने पर्यटकहरु माझ कालिपुल क्षेत्रको फोहोर र अस्तव्यस्तताले नकारात्मक सन्देश प्रवाह गर्ने गरेको सरोकारवाला बताउँछन् ।

मुस्ताङको भम्रणका लागि कालिपुल बसपार्कमा भेटिएका राम गुरुङले हावाहुरीले उडाउने धुलोले बसपार्क क्षेत्रमा थोरै समय पनि बेथित गर्न गाह्रो हुने गरेको अनुभव सुनाए । कालिपुल क्षेत्रमा यात्रुहरु संगै स्थानीयले समेत जथाभावि फोहोर फाल्ने प्रचलनले थप फोहोरको समस्या बढेको छ । अर्कोतर्फ बसपार्कमा रहेका अव्यवस्थित फुटकर ब्यापारीहरुको उचित व्यवस्थापन नहुदाँ फोहोरको समस्या बढीरहेको स्थानीयबासीको गुनासो छ ।

बसपार्क क्षेत्र साँघुरो र अव्यवस्थित तवरले सवारी साधन पार्किङ गर्ने समस्याले ट्राफिक व्यवस्थापनमा समेत चुनौती थपिएको जिल्ला ट्राफिक कार्यालय प्रमुख तिर्जराज पौडेलले बताए । यता सवारी धनीहरुले बसपार्क व्यवस्थित नहुँदा आफ्ना सवारी साधन पार्किङमा समस्या व्यहोरेको बताउँछन् ।

बसपार्क क्षेत्रको उचित ब्यवस्थापनको लागि समस्याहरु सम्वन्धित निकायमा पटक–पटक राखेपनि यसको स्तरोन्नतीमा ध्यान नपुगेको कालिपुलमा ब्यवसाय गर्दै आएका तप्तबहादुर भण्डारीले बताए । “ यहाँका समस्याबारे जिविस र नगरपालिकामा पटक पटक पुगेका छौँ, जिल्लाकै प्रवेशद्धारको रुपमा रहेको बसपार्कको ब्यवस्थापनको लागि अहिलेसम्म आश्वासन बाहेक अरु केही उपलब्धी हुन सकेको छैन, ’’–उनले भने ।

जिल्लाको प्रवेशद्धारलाई चिटिक्क र सफा राख्न सके ‘‘बेनीको बजार जता माया उतै छ नजर’’ भन्ने गितको मर्म सान्र्दभिक हुने थियो । म्याग्दीको पर्यटकिय स्थलमा घुम्न आउने पर्यटक र यात्रुहरु माझ बसपार्कको ब्यवस्थापनले सकारात्मक सन्देश प्रवाह गर्न सकिने जानकारहरु बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप