मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

‘मानिस ठूलो ज्ञानले हुन्छ, ज्यानले हुँदैन’(भिडियो)

शुक्रबार, २८ माघ २०७३, १४ : ००
शुक्रबार, २८ माघ २०७३

आफ्नो भेटघाटबारे फोनमा जानकारी दिइरहनुभएको यी व्यक्ति हुनुहुन्छ, कृष्णप्रसाद पौडेल । जीवनको उत्तरार्धमा एउटा सपना बोकेर उहाँ काठमाडौँ आउनुभएको छ । पुस १० गते उहाँ काठमाडौं आउनुभएको हो । उहाँ किन काठमाडौं आउनुभएको हो, यो कुरा बताउनुपूर्व म यहाँहरुलाई कृष्णप्रसाद पौडेललाई चिनाउने कोसिस गर्छु । उहाँको उमेर ६३ वर्षको भयो । उचाइ साढे दुई फुट छ र तौल चाहिँ मात्र १२ केजी । उहाँको घर अर्घाखाँचीको ठूलापोखराको वडा नम्बर–२, रोटेपानीमा पर्छ ।

यतिमा मात्र उहाँको परिचय सकिँदैन । उहाँको विगत लोभलाग्दो छ । उहाँले ४० वर्ष शिक्षक भएर गाउँमा धेरै विद्यार्थीको भविष्य बनाइदिनुभयो । उहाँले २०३१ देखि २०४१ सम्म चौरमा राखेर विद्यार्थी पढाउनुभयो । पछि गाउँमै आफ्नै पहलमा भगवती प्रावि स्थापना गर्नुभयो र २०४२ देखि त्यही प्राविमा शिक्षक भएर विताउनुभयो ।

२०७० चैतमा ६० वर्ष उमेर पुगेपछि उहाँले अवकास लिनुभयो । ब्राह्मण परिवारका कृष्णप्रसाद पौडेललाई गाउँमा सबैले ‘गुरु’ भनेर सम्बोध गर्थे । विद्यार्थीहरुले बोकेर स्कुल लैजान्थे । दिनभर पढाउनुहुन्थ्यो र साँझ विद्यार्थीले नै काँधमा राखेर गुरुलाई घरमा ल्याउँथे । यसै गरेर उहाँले शिक्षक पेसामा ४२ वर्ष विताउनुभयो । गाउँमा पण्डितको काम पनि गर्नुभयो ।

२०६७ जेठमा उहाँलाई शिक्षामा योगदान गरेबापत सरकारले जनसेवाश्री मानपदवीबाट सम्मान गर्ने घोषणा गर्यो । तर, कृष्णप्रसादले सम्मान चाहिँ पाउनुभएन । घोषणा भएको सम्मान नपाएकाले उहाँ दुखी हुनुहुन्छ ।

जतिबेलासम्म उहाँले स्कुल पढाउनुहुन्थ्यो, उहाँलाई भुल्ने मेसो पनि भएको थियो । तर, पढाउन छाडेपछि उहाँले आफ्नो जीवनबारे सोच्न थाल्नुभयो । केही अपुग भएजस्तो महसुस गर्नुभयो ।

खानपिन, उठबस र हिँडडुल गर्न उहाँलाई एक सहयोगीको खाँचो छ । यो भूमिका भतिजले निभाएका छन् । तर, आफ्नो हेरचार गरिरहेका भतिजको भविष्य विग्रन्छ कि भन्ने उहाँलाई चिन्ता छ । भतिजलाई कसैले रोजगारी दिए हुन्थ्यो भन्ने कृष्णप्रसादको चाहना छ ।

काठमाडौं आएपछि कृष्णप्रसादलाई वीर अस्पतालकी नर्स सकिला श्रेष्ठले सहयोग गर्ने मन बनाइन् । आफ्नै स्कुटीमा राखेर अस्पताल लगिन् । डाक्टरहरुलाई देखाइन् । घरमा लगेर आफन्तजनसँग पनि भेट गराइन् । मीठो–मीठो भोजन पनि गराइन् ।

डाक्टरले कृष्णप्रसादको भोजननलीमा समस्या रहेको र उपचारका लागि ८० हजार लाग्ने बताएका छन् । तर, कृष्णप्रसादले आफूसँग ८० हजार नभएको र सहयोगको अपेक्षा गर्नुभयो । कृष्णप्रसादले एक पटक स्वास्थ्य मन्त्री गगन थापासँग भेट्ने मन गर्नुभएको छ ।

उहाँको शरीर कसरी यस्तो भयो ? हामीसँगको कुराकानीमा उहाँले सुनाउनुभयो । उहाँ जतिबेला ११ वर्षको हुनुहुन्थ्यो । पाँच कक्षाको वार्षिक परीक्षा चलेको थियो । राति अचानक ज्वरो आयो । खुट्टा दुख्न थाल्यो । घर परिवारले धामी–झाँक्री, कुल–देवता सबै गराए । तर, निको भएन । त्यहीँबाट उहाँको हात खुट्टामा समस्या आयो र शरीर यस्तो बन्यो ।

उहाँका विषयमा एकजना पत्रकारले ‘१२ खरी लौरी’ नामक वृत्तचित्र पनि बनाएका रहेछन् । तर, फिल्म देखाएर के भयो ? कृष्णप्रसादले थाहा नपाएको बताउनुभयो । अनुमतिविना फिल्म प्रदर्शन गराउन खोजेको भन्दै कृष्णप्रसादका भतिज दिलीपले दुखेसो गर्नुभयो ।

अब म तपाईंलाई कृष्णप्रसाद किन काठमाडौं आउनुभयो भन्ने बताउँछु । उहाँ गिनिज बुकमा नाम लेखाउन काठमाडौं आउनुभएको हो । काठमाडौं आएर कृष्णप्रसादले विभिन्न ठाउँमा घुमफिर पनि गर्नुभयो ।

काठमाडौं आएर उहाँले शिक्षा मन्त्री धनिराम पौडेल, काङ्ग्रेस नेता प्रकाशमान सिंह र पूर्वमन्त्री टोपबहादुर रायमाझीसँग भेट गर्नुभयो । गिजिनबुकमा नाम लेखाउने वातवरण बनाइदिन सहयोग माग्नुभयो । नेताहरुले आश्वसन दिनुभएको छ । भतिज पनि बुबाको मिसनमा साथ छन् ।

सबैभन्दा सानो र कम तौल भएको शिक्षकका रुपमा कृष्णप्रसाद पौडेलले गिनिजबुकमा नाम लेखाउने चाहना राख्नुभएको छ ।

लक्ष्मीप्रसाद देवकोटा भन्नुहुन्थ्यो, मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन, कृष्णप्रसाद आफ्नो अनुभवका आधारमा भन्नुहुन्छ, मानिस ठूलो ज्ञानले हुन्छ, ज्यानले हुँदैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप