मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

नाङ्गो खुकुरी नचाउन थालेपछि प्रधानमन्त्री कार्यालयले यसरी बन्द गरायो म्यानपावर कम्पनी

शुक्रबार, २८ माघ २०७३, १३ : १८
शुक्रबार, २८ माघ २०७३

काठमाडौं – सरकारले फ्यासिलिटी म्यानपावर सर्भिस प्रा.लिको सम्पूर्ण कारोबार रोक्का गरेको छ । साउदी अरेबियामा राम्रो काम लगाइदिन्छु भन्दै ललितपुर लुभुका अमित केसी सहित ३ जनालाई अलपत्र पारेर उद्धार नगरेको भन्दै सो कम्पनीको सम्पूर्ण कारोबार रोक्का गरिएको हो । प्रधानमन्त्री कार्यालयको निर्देशनपछि बैदेशिक रोजगार विभागले उनीहरुको उद्धार तथा ब्यवस्थापन नगरेसम्मका लागि सम्पूर्ण कारोबार रोक्का गर्ने निर्णय गरेको हो ।

यसरी फसायो म्यानपावर कम्पनीले

भूकम्पले घर भत्काएपछि बनाँउन आर्थिक अभाव थियो । बालबच्च स्कलमा पढ्दै थिए । २ बर्ष बिदेशमा दुख गरेर घर पनि बनाँउछु र बालबाच्चालाई राम्रोसँग पढाउने सपना देखेर ललितपुर लुभुका अमित केसीले बैदेशिक रोजगारीमा जाने योजना बनाए ।

सात महिना अघि भारतीय भिषामा महिनाको १८ सय साउदी रियाल तलब हुनेगरी ड्राइभिङ पदका लागि फ्यासिलिटी मेनपावर कम्पनीले केसी सहितका ३ जना नेपाली कामदारलाई जनही १ लाख रुपैयाँ लिएर साउदी अरब पु¥याएको थियो ।

कम्पनीले दैनिक १ सय २५ किलोमिटर गाडि गुडेमा थप दैनिक थप ५० रियाल तलब हुने, कम्पनी राम्रो रहेको प्रलोभन दिएको थियो । तर साउदी अरेबिया पुगेपछि कम्पनीले झुक्याएको थाहा भयो । एउटा काम भनेर कम्पनीले ढुङ्गाखानीको कामका लागि पु¥याएको थियो ।

साउदी अरबको जेद्धा भन्ने ठाँउबाट सयौं कोष पर ढुङ्गाखानीमा काममा लगाएपछि अमितले म्यानपावर कम्पनीले आफूलाई फसाएको भन्दै ९ दिनपछि उद्धारका लागि घरमा फोन गरेका थिए ।

अमितले आफूले खाना खान समेत नपाएको भनेपछि परिवारले उनको उद्धारको लागि म्यानपावर कम्पनी धाउन थाल्यो ।

१ महिनासम्म धाएपछि अमितलाई फर्काइदिने तर उनलाई बिदेश पठाउन लिएको एक लाख रुपैयाँ फिर्ता नदिने भन्दै कागज गर्न लगाएको अमितकी दिदी रिता कार्कीले बताइन् । कागज गरेपछि १ महिना पर्खन भन्दै भन्दै ६ महिना लगाएपछि पीडित परिवार प्रधानमन्त्री कार्यालयमा उनको उद्धारको पहलका लागि पुगेको थियो ।

प्रधानमन्त्री कार्यालयले बैदेशिक रोजगार विभागलाई अलपत्र पारिएका कामदारको उद्धार गर्न निर्देशन दिएपछि विभागले म्यानपावर कम्पनी सञ्चालक कृष्ण मगरलाई बोलाएर छलफल गरेको थियो । उनलाई १५ दिनभित्र साउदीमा अलपत्र परेका कामदारलाई नेपाल फर्काउन कागज गराएको थियो ।

कागज गराएपनि १५ दिनभित्र म्यानपावर कम्पनीले अलपत्र परेका अमित केसी सहित ३ जनालाई नेपाल फर्काएन । १५ दिन बितेपछि कम्पनीका संञ्चालक मगर सहितका अरु कर्मचारीलाई भेट्न खोज्दा अमित केसीका ७० बर्ष माथिमा बुवा आमालाई म्यानपावर कम्पनीमा छिर्न नदिने, मान्छे छैन भनेर फर्काउने गर्न थाले ।

कहिले बिराटनगर गएको छ भन्ने, कहिले बिदेश गएको छ, पछि आएपछि कुरा गर्नु भन्दै झुलाउन थाले ।

खानाका लागि काठमाडौंबाट परिवारको ५ सय रियाल

भूकम्पले भत्काएको घर बनाँउने र परिवारलाई सुख दिने सपना बोकेर गएका केसीलाई म्यानपावर कम्पनीले झुक्याँउदा उल्टै परिवारले यताबाट पैसा पठाँउनुपरेको छ । ढुङ्गाखानीमा काम लगाउने र काम गरेको पैसा पनि नदिएपछि परिवारले ऋण गरेर हरेक महिना ५ सय रियाल पठाउने गरेको छ । साउदी अरबको जेद्धामा रहेका चिनजानका एक नेपाली मार्फत परिवारले उनलाई खाना खानका लागि यताबाट पैसा पठाउने गरेका छ ।

केसीका आफन्त रिता कार्कीले रुँदै भनिन्–“ज्वरो आएको बेला पनि काममा लगाँउछ, खुट्टा पाकेर टेक्न नहुने भएको छ भन्दै फोटो पठाउने गरेको छ । फोनमा सधै रुवाबासी हुन्छ ।”

मगरको छोराले जे पनि गर्छ भन्दै खुकुरी नचाए

छोराको उद्धारका लागि अमितका ७० बर्ष माथिका बृद्ध बाआमा सधै रुँदै म्यानपावर कम्पनी पुग्थे । उद्धारका लागि हात जोड्थे । म्यानपावर कम्पनी सञ्चालक र कर्मचारी उनीहरुलाई सधै दुब्र्यवहार गरेर पठाँउथे । पछिल्लो पटक दुब्र्यवहार मात्र हैन कार्यालयमा खुकुरी नचाएर आतंकित समेत पार्न थाले । म्यानपावरका सञ्चालक कृष्ण मगर खुकुरी नचाँउदै भन्थे–“म त मगरको छोरो हुँ, तिमीहरुलाई जे पनि गर्न सक्छु ।”

पछिल्लो समय खुकुरी आंतक मच्चाउन थालेपछि पीडित परिवार फेरी बैदेशिक रोजगार विभागमा गए । विभागले फेरी म्यानपावर कम्पनी सञ्चालक मगरलाई बोलाएर ३ दिन भित्र उद्धार गर्न निर्देशन दियो । तर उनले ३ दिन भित्र पनि उद्धार गरेनन् ।

उनले आफुले कसैको ज्यान नमारेको भन्दै कसैले केही गर्न नसक्ने भन्दै उल्टै विभागका महानिर्देशकलाई थर्काउने गरेको पीडिका आफन्तले रातोपाटीलाई बताए ।

म्यानपावर कम्पनीले अलपत्र परेका अमित केसीको उद्धार नहुने देखेपछि उनका आफन्तहरु फेरी प्रधानमन्त्री कार्यालय पुगेर गुनासो गरे । प्रधानमन्त्री कार्यालयले बैदेशिक रोजगार विभागलाई उक्त म्यानपावर कम्पनी बन्द गरी कारबाही गर्न निर्देशन दिएपछि विभागले केसी सहित अलपत्र परेका थप ३ जना कामदारको उद्धार तथा व्यवस्था नभएसम्मका लागि उक्त म्यानपावर कम्पनीको सम्पूर्ण कारोबार रोक्का गरेको छ ।

केसी यसरी अलपत्र परेको ७ महिना भइसकेको भइसक्दा पनि उद्धार हुन सकेको छैन् । प्रधानमन्त्री कार्यालयका परराष्ट्र सल्लाहाकार डा.ऋषीराज अधिकारीले साउदी अरबमा अलपत्र परेका नेपालीहरुको उद्धारका लागि कुटनीतिक पहल भइरहेको जानकारी दिए ।

बैदेशिक रोजगारीका क्रममा परेको समस्याको छिटो समाधान गर्न प्रधानमन्त्री कार्यालयले डा.अधिकारीको संयोजनमा एउटा यूनिट बनाएको छ । सो यूनिटले गुनासा÷समस्या लिने र समस्या समाधानका लागि पहल गर्ने गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप