मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

एउटै बस्तीमा २२ लाख रुपैयाको अकबरे खुर्सानी उत्पादन

सोमबार, ०२ फागुन २०७३, १३ : ५७
सोमबार, ०२ फागुन २०७३

तेह्रथुम–जिल्लाको सुदाप–२ र ओख्रे–८ स्थित जोडीसल्लाका महिला कृषकले यसवर्ष अकबरे खुर्सानीबाट मात्रै रु २२ लाखभन्दा बढी रकम आम्दानी गरेका छन् ।

तीन वर्षयता अकबरे खुर्सानीको व्यावसायिक खेती गर्दै आएका यहाँका ४० घर किसान परिवारले यो वर्ष अकबरेबाट राम्रो आम्दानी गरेको स्थानीय नवसिर्जना महिला समूहकी अध्यक्ष शिवमाया खड्काले बताए।

गतवर्ष गाउँका प्रत्येक परिवारले कम्तीमा एक हजारदेखि पाँच हजार वटा अकबरे खुर्सानीका बिरुवा रोपेका थिए, अध्यक्ष खड्काले भने, ‘विगतका पुराना बोटसहित गरेर यो वर्ष धेरै परिवारले कम्तीमा रु ३० देखि डेढ लाखसम्मको खुर्सानी बेचेका छन् ।’

छोटो समयमा कम मेहनत र सजिलो तरिकाबाटै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने थाहा पाएपछि उनीहरु व्यावसायिक खेतीतर्फ आकर्षित भएका हुन् । उनीहरुलाई अकबरे खुर्सानीको खेतीबारे तालिम, बीउ अनुदान र व्यावसायिक बन्ने प्रेरणा दलित सचेतना समाज नेपाल नामक गैरसरकारी संस्थाले दिएको हो ।

पहिल्यैदेखि कृषि पेसा अङ्गाल्दै आएका उनीहरु यहाँ खासै अन्नबालीको उत्पादन नभएपनि तरकारी, फलफूल र नगदेबालीबाटै घर खर्च चलाउँदै आएका छन् । यो वर्ष पनि बस्तीका धेरै किसानले गरेको अकबरे खेतीबाटै गुजारा चलाइरहेको अध्यक्ष खड्काले बताए ।

आफूले चार रोपनी जमिनमा लगाएको चार हजार बिरुवाबाट यो वर्ष रु एक लाख २० हजार आम्दानी भएको स्थानीय सीता खड्काले बताए। गाउँमा सबैले गरेको देखेर मैले पनि यसवर्षबाट थालेकी थिएँ, उनले भने, ‘तर पहिलो वर्ष नै राम्रो उत्पादन भयो र आम्दानी पनि भएकाले सन्तुष्ट छु । गाउँका महिलाले घर खर्च, नानीहरुको पढाइ र चाडपर्वसमेत अकबरेकै आम्दानीबाट धान्न थालेको उनले बताए ।

गाउँमा भएको उत्पादनलाई बजारसम्म पु¥याउन पनि खासै समस्या नभएकाले करेसासम्मै पुगेका सडक भएर शुक्रबारे बजार हुँदै धनकुटाको सिधुवामा पु¥याएर बिक्री गर्ने गरेको कृषक यानादेवी खड्काले बताउनुभयो । यसवर्ष आफूले रु एक लाख ५० हजारको अकबरे खुर्सानी बेचेको उनले बताए।

जिल्लामा अलैँची अदुवा र अम्लिसोपछि सबैभन्दा धेरै खेती र आम्दानी हुने नगदेबाली अकबरे खुर्सानी हो । अकबरेबाट बर्सेनि रु सात करोडभन्दा बढी आम्दानी हुने गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप