सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

झलनाथका दुःख

बुधबार, २४ माघ २०७४, १४ : ०७
बुधबार, २४ माघ २०७४

काठमाडौँ– एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच शक्ति बाँडफाँडको कुरा हुँदा भावि राष्ट्रपतिको नाममाथि पनि छलफल हुन्छ ।

केही दिन अगाडि ओलीसँगको भेटमा प्रचण्डले भावि राष्ट्रपतिका लागि माधव नेपाल र झलनाथ खनालको विकल्प अगाडि सारे ।

ओलीले भने, ‘हुन्न ।’

एमालेका शक्तिशाली अध्यक्ष ओलीको यही शब्द झलनाथ खनालको शीतल निवास पस्ने चाहनामा ठूलै ब्रेकर बन्ने सम्भावना छ ।

तर, झलनाथ खनालले अहिलेसम्म हार खाएका छैनन् ।

सार्वजनिक रूपमै उनले आफू राष्ट्रपतिका लागि इच्छुक रहेको बताएका छन् ।

झलनाथले जसरी इच्छा व्यक्त गरेका छन् । त्यसभन्दा बढी कोसिस राष्ट्रपति विद्यादेवी भण्डारीले गरिरहेकी छिन् । उनी फेरि राष्ट्रपति बन्न चाहेकी छिन् ।

नयाँ संविधान अनुसार तीनै तहको निर्वाचन भयो ।

प्रतिनिधि र प्रदेशसभाका सांसद आए ।

राष्ट्रियसभाका लागि निर्वाचन पनि भयो ।

वाम गठबन्धनबीच प्रदेश प्रमुख र सभामुखको बाँडफाँड पनि सकियो ।

अब राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसभामुखको बाँडफाँड हुन बाँकी छ ।

प्रधानमन्त्रीमा ओली एक्ला दाबेदार भए पनि अन्य पदका लागि लडाइँ जारी छ ।

राष्ट्रपतिका लागि झलनाथ खनालको दौड पनि जारी छ ।

प्रमुख राजनीतिक दलहरूको ध्यान प्रदेश सरकार र केन्द्र सरकारमा गए पनि केही विशिष्ट व्यक्तिहरूले भने राष्ट्रपति र उपराष्ट्रपतिका लागि चासोे देखाएर ‘पावर एक्सरसाइज’ तीव्र बनाएका छन् ।

आफ्नै निरन्तरताका लागि वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र नन्दबहादुर पुनको प्रमुख दलका नेतासँगको बाक्लो भेटघाट जारी छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका झलनाथ खनालको राष्ट्रपतिबारे आएको शृङ्खलाबद्ध अभिव्यक्तिले उनको चाहना कति छ भन्ने देखाउँछ ।

राष्ट्रपतिका लागि नेता खनालले मङ्सिर २१ यता लगातार बोल्दै आएका केही उदाहरण हेरौँ 

घटना नम्बर –१, मङ्सिर २१ इलाम
यसका लागि एमाले नेतासमेत रहेका खनालले गत मङ्सिर २१ गते नै मुख खोलेका हुन् । दोस्रो चरणमा भएको प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा गृहजिल्ला इलामको सूर्योदय नगरपालिका १० स्थित राष्ट्रिय आधारभूत विद्यालय रम्फोकबाट मतदान गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै खनालले भनेका थिए– ‘मलाई पार्टीले जस्तोसुकै जिम्मेवारी दिए पनि पूरा गर्न तयार छ्ु, मलाई राष्ट्रपति बनाए पनि ठीक छ, प्रधानमन्त्री बनाए पनि ठीक छ, यी दुवै नभए पनि ठीक छ ।’
 
खनालले त्यसबेला नै आफू राष्ट्रपतिका रूपमा दाबेदार रहेको सङ्केत गरेका थिए । त्यसयता अरू कुनै पार्टीका नेताहरूले राष्ट्रपतिका लागि मुख खोलेका थिएनन् र अझै पनि छैनन् । तर, खनाललले भने पछिल्लो पटक पनि राष्ट्रपति बन्ने आकाङ्क्षा लगातार व्यक्त गर्दै आएका छन् ।

घटना नम्बर–२ पुस २०
मङ्सिर २१ पछि त्यसको ठीक एक महिना अर्थात पुस २० मा पूर्व प्रधानमन्त्री समेत रहेका खनालले अर्को पटक राष्ट्रपतिका लागि मुख खोले ।

पुस २० गते खनालले झापामा कार्यकर्ता भेटघाटका क्रममा पार्टीले प्रस्ताव गरे आफू राष्ट्रपति भएर बस्न चाहेको बताएका थिए ।

त्यस क्रममा उनले भनेका थिए– ‘राष्ट्रपति पद चाहियो भनेर लबिङ गर्दिनँ, राष्ट्रपति बनाइदेऊ भनेर नमस्कार र बिन्ती गर्दै म हिँड्दिन, मेरो भूमिका, योगदान सबै कुरा हेरेर जिम्मेवारी दिएमा कुशलतापूर्वक पूरा गर्छु ।’

सोही दिन साँझ बीबीसी नेपाली सेवासँग कुरा गर्दै खनालले भनेका थिए–विद्यादेवी भण्डारीलाई राष्ट्रपतिमा दोहोर्याउने विषयमा पार्टीभित्र कुनै छलफल भएको छैन । देशको आवश्यकताअनुसार कुनै पदमा बसेर काम गर् भनेर पार्टीले भन्छ भने तयार छु । सम्मानजनक ढङ्गले आइलाग्यो भने त्यसमा पछि हट्नेवाला छैन । तर यो पद नै चाहिन्छ भन्ने पदाकाङ्क्षी भने होइन ।’
 
घटना नम्बर –३ पुस २२
पुस २० पछि खनालले आफ्नै गृहजिल्लामा फेरि राष्ट्रपतिका लागि मुख खोले । पुस २२ गते पिता पुंगनाथ खनालको शतवार्षिकीमा आयोजित वृक्षरोपण कार्यक्रमपछि उनले पुरानै शब्द दोहोर्याए । भने, ‘म पदका लागि मरिहत्ते गर्दिनँ, जिम्मेवारी दिए पछि हट्दिनँ ।’ त्यसबेला उनले आफू राष्ट्रपति भए सक्रिय रहनेसमेत बताएका थिए ।  
 
घटना नम्बर–४ माघ २३, त्रिवि विमानस्थल
संयोग नै मान्नुपर्छ, खनालले महिना दिनको फरकमा राष्ट्रपतिबारे अभिव्यक्ति दिएका छन् । मङ्सिर २१, पुस २०–२२ र माघ २३ मा उनले तीन महिनाका बीचमा तीन पटक मुख खोलेका छन् । पूर्वप्रधानमन्त्री खनालले पछिल्लो पटक माघ २३ मा राष्ट्रपति जस्ता ठूल्ठूला जिम्मेवारी दोहोर्याएर दिन नहुने धारणा राखे । राष्ट्रपति विद्या भण्डारीलाई नै दोहोर्याउँने चर्चा भइरहँदा खनालले त्यसको प्रतिपाद गर्दै खनाल विपक्षमा उत्रिएका हुन् ।

इरानमा आयोजित आइक्यापको २९औँ बैठकमा भाग लिएर माघ २३ मा स्वदेश फर्किएका खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीमाझ सङ्क्षिप्त प्रतिक्रिया दिँदै आफू पदका लागि मरिहत्ते गर्ने पक्षमा भने नरहेको पनि स्पष्ट पारे । तर, वरिष्ठ नेता खनालले पार्टीले मूल्याङ्कन गरेर दिएको जुनसुकै जिम्मेवारी पूरा गर्न आफू प्रतिबद्ध रहेको पनि दोहोर्याए ।
 
तर सजिलो छैन
चाहना राखे पनि झलनाथ खनाललाई राष्ट्रपति बन्न त्यति सजिलो छैन ।
उनको पार्टी सङ्गठनमा बलियो गुट छैन । ओली उनका पक्षमा छैनन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप