मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

यसरी अस्तव्यस्त बन्दैछ शे—फोक्सुन्डो राष्ट्रिय निकुञ्ज

सोमबार, ०९ फागुन २०७३, १५ : ०२
सोमबार, ०९ फागुन २०७३

रामचन्द्र न्यौपाने डोल्पा–डोल्पाको शे—फोक्सुन्डो राष्ट्रिय निकुञ्ज समस्यै समस्यामा जेलिएको छ । दिन प्रतिदिन बढेको चोरी तस्करीका कारण निकुञ्जको अस्तित्व समेत गुम्न सक्ने खतरा बढेको सरोकारवालाहरुले बताएका छन् । बढ्दै चोरी तस्करी पछिल्लो समयमा शे—फोक्सुन्डो राष्ट्रिय निकुञ्ज चोरी तस्करीको ‘हव’ बन्न थालेको छ । दिनप्रतिदिन दुर्लभ जडिबुटी तस्करी तथा वन्यजन्तुहरु चोरी शिकारी बढ्दो क्रममा रहेको विभिन्न अनुसन्धानहरुबाट पुष्टि भएको छ । एकवर्षको अवधिमा मात्रै विश्वकै दुर्लभ वन्यजन्तु हिँउ चितुवा,कस्तुरी मृग , नावर,घोरल लगाएतका वन्यजन्तुहरु पासोमा परेर मरेको निकुञ्ज कार्यालयको भनाई छ । समुद्र सतहबाट २२५० देखि ६८८३ मिटर उचाईमा पर्ने उक्त निकुञ्ज विश्वमै हिँउ चितुवा धेरै घनत्व भएको निकुञ्ज मानिन्छ । निकुञ्जका संरक्षण अधिकृत रामदेब चौधरीका अनुसार आजभोली तस्करहरु समेत आधुनिक बन्न थालेका छन् । उनले भने ‘पहिला पहिला नाईलनका पासो थाप्ने तस्करहरु अहिले अत्याधुनिक प्रकृतिका फलामे पासोहरु थाप्न थालेका छन् । यसले गर्दा दुर्लभ वन्यजन्तुहरु दिनप्रति दिन धरापमा परेर शिकार भईरहेका छन् । हिँउदमा धेरै तस्करी दुर्लभ वन्यजन्तुहरुको चोरी तस्करी हिँउदको समयमा धेरैहुने गरेको पाईएको छ । हिँउदे मौसमसंगै कार्तिक महिनादेखि ब्ढ्ने अत्याधिक चिसोले छ महिना उत्तरी क्षेत्र निर्जन हुन्छ । सम्पुर्ण स्थानीयहरु जाडो कटाउन पशु चौपायसहित बेशी झर्दछन् । निकुञ्ज सुरक्षार्थ बसेको सुम्दो,तोईजुम पोष्ट समेत मुख्य कार्यालय सुलिगाडमा गाभिन्छन । त्यसोत त्यो समयमा मान्छेहरुको चहलपहल समेत शुन्य हुने भएकाले पनि चोरी तस्करीको क्रम बढ्ने स्थानियको भनाई छ । बढ्दो अपराधिक क्रियाकलाप कम गर्दै जैविक विबिधताको संरक्षण गर्न जाडो समयमा पनि आलोपालो गरेर भएपनि निकुञ्जले सेना खटाउनुपर्नेमा स्थानियको माग छ । उक्त समयमा पनि सेनाको आवागमन भईरहे तस्करहरु चहलखेल गर्न नपाउने भएकाले चोरी शिकारी समेत घट्ने उनिहरुको विश्वास छ । ‘यहाँ ताल अवलोकन गर्ने भन्दै निकुञ्जको अनुमति विनानै सिधै हेलिकोप्टरहरु निकुञ्जको मुख्य भु–भागमा बसाल्ने गर्दछन् । यस्तो कार्यले वन्यजन्तु तथा जडिबुटी समेत तस्करी हुन सक्ने खतरा बढेको छ,’ फोक्सुन्धो गाविसका स्थानिय तेन्जीन लामाले भने ‘हाम्रो त धर्मको सारनै हत्या हिंसा नगर्नु हो,घर वरिपरी नावर ,घोरल कस्तुरीको बथान आँउछ तर हामी उनिहरुको कुभलो गर्दैनौ,विशेषत तल्लो डोल्पाका मान्छेहरुबाट यस्ता घटना हुने गरेका छन् ।’ अत्याधुनिक पासोको प्रयोग यहाँका दुर्लभ वन्यजन्तु शिकारका लागि तस्करहरुले अत्याधुनिक पासोको प्रयोग गर्ने गरेको पाईएको छ । यसरी वन्यजन्तुहरुलाई थापिने धरापहरुमा मोटरसाईकल तथा साईकलको ब्रेकमा प्रयोग गरिईएको फलामे तारहरु प्रयोग गरेको पाईएको निकुञ्ज संरक्षण अधिकृत चौधरीले बताए । कोर एरिया बाहिर निकुञ्ज कार्यालय शे–फोक्सुडो राष्ट्रिय निकुञ्जकोे मुख्य कार्यालय कोर एरिया बाहिर छन् । सेनाको गुल्म कोर एरियामा स्थापित छ । तरपनि निकुञ्जको तल्लो दक्षिणी सिमानामा यी कार्यालयहरु रहेका छन् । संरक्षित वन्यजन्तु,जडिबुटी तथा प्राकृतिक,ऐतिहाँसिक तथा धार्मिक सम्पदाहरु दुरीको हिसाबमा निकुञ्ज र सेनादेखि टाढा पर्दछन् । यस्तो बाध्यताले पनि विबिधताको संरक्षण सोचेअनुरुप गर्न नसकिएको निकुञ्ज कार्यालयको भनाई छ । द्धन्दकालमा निकुञ्जको मुख्य कार्यालय फोक्सुन्डो गाविसको ‘पलम’मा थियो । कार्यालय संञ्चालका लागि चारवटा आधुनिक भवन बनाईएका थिए । निकुञ्जको मुख्य कार्यालय नै मध्य विन्दुमा पर्ने भएपछि निकुञ्जको सुरक्षा व्यबस्था कडाई गर्न सहज भएको थियो । हत्तपत्त तस्करहरुको निशाना पनि पर्ने सक्दैनथ्यो ।जैविक विबिधता संरक्षणमा प्रभावकारी कामकाज भएको थियो ।तर द्धन्दकालमा मावोबादीले कार्यालय भत्काईदिएपछि ३ बर्ष विस्थापित अवस्थामा निकुञ्जको कामकाज भयो ।त्यसपछि मुख्य कार्यालयनै सुलिगाडमा स¥यो संरक्षण अधिकृत चौधरीले स्मरण गर्नुभयो ।सुलिगाडमा निकुञ्जको मुख्य कार्यालय तथा सेनाको गुल्म छ । ‘निकुञ्जको सबै भु–भाग उत्तरीक्षेत्रमा पर्ने र मुख्य कार्यालय नै कोर एरियावाहिर पर्ने भएकाले सुरक्षा व्यबस्थामा चुनौति खडा भएको छ’ चौधरीले भने ‘निकुञ्जको सुरक्षार्थ खटिएको मुख्य कार्यालयनै संरक्षण क्षेत्र वाहिरहुनु राम्रो कुरा होईन ।’ ठुलो भुगोल जनशक्ति अभाव ३५५५ वर्गकिमि क्षेत्रफल रहेको निकुन्जको भुगोल ठुलो छ । यो नेपालकै ठुलो निकुञ्ज मानिन्छ, क्षेत्रफल ठुलो कर्मचारीको पदपुर्ती दरवन्दी अनुसार हुन नसक्दापनि संरक्षणमा चुनौति देखिएको निकुञ्जको भनाई छ । निकुञ्जमा जम्मा ६७ जनाको दरवन्दी छ । जसमा १८ जनाको मात्र पदपुर्ती भएको छ । बाँकी अधिकृत ३ मा १ जना,रेन्जर ६ मा १ जना,सरीदार दुईमा १ जना तथा गेमस्काउट २९ जनाको पद रिक्त रहेकाले कर्मचारीको अभाव भएकोे छ । जनशक्ति अभावमा निकुञ्जलाई लक्ष्य अनुरुप कामगर्न नसकिएको निकुञ्जको भनाई छ । अस्तित्व गुम्ने खतरा प्रत्येक बर्ष हजारौँको सङ्ख्यामा निकुञ्ज क्षेत्रमा प्रवेशगर्ने भएकाले पनि पछिल्लो समयमा अपराधिक क्रियाकलापहरु बढदै मदत गरेको निकुञ्ज कार्यालयले जनाएको छ ।डोल्पालीको आर्यआर्जनसँग जोडिएको यार्सागुम्बा संकलनकर्ताहरुका विभिन्न क्रियाकलापले अस्तित्व खतरामा परेको कार्यालय बताउँछ । जबसम्म यार्सागुम्बा संकलन कम हुँदैन तबसम्म अपराधिक चहलखेल बढ्ने निकुञ्जको दाबी छ । निकुञ्ज भित्रको मानव आवासका कारणपनि संरक्षण संबद्धनमा कठिनाई भएको कार्यालयको ठहर छ । सुचना पार्टी नहुँदा अन्योलमा पर्यटक निकुञ्जसम्म पुग्ने बाटो तथा पुलहरु जीर्ण छन् । जसले पर्यटकलाई सास्ती हुने गरेको छ ।प्रत्येक बर्ष निकुञ्जमा करोडौँ बजेट आउने गरेपनि संरचना भने जेनतेन छन् । बाटोमा विभिन्न स्थानको सुचना दिने सुचनापार्टीहरु नहुँदा पर्यटकहरु समेत अन्योलमा पर्ने गरेको फोक्सुन्डो पुगेका मावन अधिकारबादी टंक खनाल बताउँछन् । बारम्बार ठाँउ ठाँउमा सुचनापार्टीहरु राख्ने गरेपनि यार्सागुम्बा संकलन गर्न गएकाहरुले काटेर दाउराको रुपमा प्रयोग गर्ने गरेको निकुञ्जको भनाई छ । शे–फोक्सुन्डो ताल,सुलिगाड झरना,शे गुम्बा,त्रिपुरा सुन्दरी मन्दिर यहाँको मुख्य आकर्षण छन् भने हिँउ चितुवा,हिमाली भालु,कस्तुरी,नावर दुर्लभ संरक्षित वन्यजन्तुहरु हुन ।यार्सागुम्बा,जटामसी,पाँचऔँले यहाँका वहुमुल्य जडिबुटी हुन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप