मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

आहा! होमस्टे : मायाको अनुभूति गराउने घरबास

शनिबार, १४ फागुन २०७३, ०९ : ४७
शनिबार, १४ फागुन २०७३
पोखरा - आरोहणको इतिहासमा पहिलो हिमाल अन्नपूर्ण एवम् कुमारी हिमाल माछापुच्छेलाई खाली आँखाले नजिकै दृष्यावलोकन र गाउँलेको आत्मीय मायाको अनुभूति गराउने कास्कीको कास्कीकोटमा सञ्चालित भुजेल गाउँ होमस्टे(घरबास) यतिखेर पर्यटकका लागि नयाँ गन्तव्यका रुपमा विकास भएको छ । प्राकृतिक सौंदर्यता, स्वच्छ र रमणीय वातावरणमा स्वदेशी तथा विदेशी पाहुनालाई स्थानीय उत्पादनसहितको सामूहिक भोजन र घरघरमा आवासको व्यवस्था गरेर गत पुसदेखि सिङ्गो गाउँलाई समेटेर होमस्टे सुरु गरिएको हो । कास्कीकोट युवा सञ्जाल र ओम शान्ति महिला समूहको सक्रियतामा गाउँका २७ घरलाई समेटेर सञ्चालन गरिएको सो होमस्टेमा दैनिक ७० जनालाई सामूहिक खाना र घरघरमा आवासको व्यवस्था रहेको कास्कीकोट भुजेल गाउँ सामुदायिक होमस्टे व्यवस्थापन समितिका उपाध्यक्ष लालबहादुर भुजेलले बताए । उनका अनुसार ऐतिहासिक एवम् धार्मिक महत्व बोकेको सो क्षेत्रमा अवस्थित भुजेल गाउँ होमस्टे सञ्चालन भएको एक महिनाको अवधिमा लगभग १५० जना स्वदेशी तथा विदेशी पाहुना आइसकेका छन् । आगन्तुक पाहुनाको लागि एक दिनको प्रतिव्यक्ति ७०० लिने गरिएको छ । “अर्गानिक तरकारी, दूधजन्य पदार्थ, लोकल कुखुरा एवम् खसीको मासुसहित कोदोको ढिडो, सेलरोटी तथा पुवा र कोदोबाटै बनेको घरेलु मदिरालगायत विभिन्न स्वादिष्ट परिकार र ग्रामीण परिवेशको आवासको व्यवस्था गरेर होमस्टेमा नयाँपन दिन प्रयास गरिएको छ,” उनले भने, “होमस्टेमा दैनिक ७० जनासम्मको क्षमता रहेको छ ।” समुद्री सतहबाट लगभग एक हजार ७०० मिटरको उचाइमा अवस्थित गाउँको आसपासका जङ्गलमा पाइने पखनवेद, फुलेको सुप, कमरु जस्ता आयुर्वेदिक महत्वका जडीबुटीको समेत पाहुनालाई पहिचान र स्वाद चखाउने योजना छ । गाउँमा आउने प्रत्येक पाहुनालाई फूलमालाले स्वागत गर्दै साझ मालश्री, भजन चुडका, रत्यौउलीलगायतका विभिन्न मौलिक संस्कृति झल्किने कार्यक्रम प्रस्तुत गरेर आगन्तुक पाहुनालाई भरपुर मनोरञ्जन प्रदान गर्दै आएको ओमशान्ति महिला समूहका सदस्य हरिमाया भुजेलले बताइन । गाउँको उत्पादनले छ महिना पनि खान नपुग्ने भएपछि युवा विदेशीन बाध्य भएको बताउँदै उनले होमस्टे सञ्चालन गरेपछि पाहुनालाई आतिथ्यता प्रदान गरेर थप आम्दानी गर्ने अवसर मिलेको बताए । पोखराको विन्ध्यवासिनीदेखि रमणीय गाउँ सराङकोट हुँदै १३ किलोमिटरको दूरीमा यातायात सुविधा रहेको धौलागिरिदेखि अन्नपूर्ण, माछापुच्छे र मनास्लुसम्मका मनोरम हिमशृङ्खला स्पष्ट देख्न सकिने सो गाउँको होमस्टेको प्रवद्र्धनका लागि राज्य र सम्बन्धित निकायको ध्यान पुग्नुपर्ने सम्बन्धित क्षेत्रका विज्ञको धारणा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप