रानिएरीलाई हटाएपछि लेस्टरको उत्कृष्ट प्रदर्शन, लिभरपुल पराजित
लण्डन – प्रशिक्षक क्लाउडियो रानिएरीलाई बर्खास्त गरेपछिको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन लेस्टर सिटीले उत्कृष्ट खेल प्रदर्शन गर्दै लिभरपुललाई पराजित गरेको छ ।
३–१ को जीत हासिल गर्दै फक्सेस रेलिगेसन क्षेत्रबाट माथि उक्लिएको छ ।
कार्यवाहक प्रशिक्षक क्रेग सेक्सिपिएरको नेतृत्वमा लेस्टरले उत्कृष्ट प्रदर्शन गरेको थियो ।
गोल गर्न असफल बनिरहेका स्ट्राइकर जेमी भार्डीले खेलको २८ औँ मिनेटमा गोल गर्दै लेस्टरलाई अग्रता दिलाए ।
त्यसलगतै ड्यानी ड्रिंकवाटरले उत्कष्ट गोल गर्दै अग्रता दोब्बर बनाए । खेलको दोस्रो हाफमा भार्डीले अर्को गोल थपे ।
भार्डीले गत ३१ डिसेम्बरपछि पहिलो पटक गोल गरेका हुन् ।
लिभरपुलका लागि फिलिपे काउन्टिन्होले एक गोल गरे ।
सन् २०१७ मा लेस्टरले प्रिमियर लिगमा गरेको यो पहिलो गोल थियो । जीतसँगै टोलीले लगातार ५ खेलको पराजयको यात्रा अन्त्य गरेको छ ।
उता, जीतसँगै तेस्रो स्थानमा उक्लने आशमा रहेको लिभरपुलले सबै प्रतियोगितामा खेलिएका ७ खेलमा ५ मा पराजय भोग्न पुग्यो ।