मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

बौद्धनाथ चैत्यको प्राणप्रतिष्ठा

मङ्गलबार, २४ फागुन २०७३, १६ : १९
मङ्गलबार, २४ फागुन २०७३

काठमाडौँ - नेपाल बौद्ध ञिङ्मा सङ्घले बौद्धनाथ चैत्यको आज प्राणप्रतिष्ठा गरेको छ ।

सङ्घले चैत्यमा हवन गरी विधि विधानानुसार प्राण प्रतिष्ठा गरेको हो । पूजापछि चैत्यमा देवताको बास हुने विश्वास छ । बौद्धनाथ क्षेत्र विकास समिति तथा अन्य सङ्घसंस्थाका प्रतिनिधिले पनि उक्त कार्यक्रममा आवश्यक सहयोग उपलब्ध गराएका थिए ।

सङ्घमा आबद्ध धर्मगुरुहरुले चैत्यको चारैदिशामा बसेर पूजा गरेका थिए । त्यस क्षेत्रमा भएका खराब शक्तिको न्यूनीकरणका लागि यस किसिमको पूजा गरिने सिप्लामा गुरुङले जानकारी दिए।

सर्वसाधारणले सम्पूर्ण जीवकल्याणका लागि सकारात्मक दृष्टिको विकास गर्नका लागि शाक्यमुनि बुद्धले प्रतिहार्य शक्ति प्राप्त गरेको तिथिको स्मरणमा ‘गणचक्र पूजा’ समेत गरिएको छ । विभिन्न खानेकुरा चढाइएको उक्त पूजामा सहभागी धर्मावलम्बीले मन, वचन र कर्मलाई शुद्धीकरण गरी समाजसेवामा लाग्ने प्रतिवद्धता समेत गरेका थिए ।

महायानी सम्प्रदायअन्तर्गत प्राचीन मानिने ञिङ्मा सङ्घले देशका विभिन्न स्थानमा बौद्ध धर्म तथा उपदेशको प्रचार गर्दै आएको छ । देशभर करिब दुई हजार गुम्बा सो सङ्घअन्तर्गत छन् ।

विश्व सम्पदा सूचीमा सूचीकृत उक्त चैत्यमा गत वर्ष गएको भूकम्पले क्षति पु¥याएको थियो । समिति तथा अन्य दातृ सङ्घसंस्थाको सहयोगमा करिब रू २३ करोडको लागतमा चैत्य जीर्णोद्धार गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप